चिनियाँमाथि मुद्दा नचल्ने

काठमाडौं, १७ जेठ । अमेरिकी डलर तस्करीको आरोपमा पक्राउ परेका १० चिनियाँविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयले निर्णय गरेको छ । स्रोतका अनुसार उनीहरुको साथबाट बरामद सम्पूर्ण रकमका साथै धरौटीबापत बुझाइएको रकमसमेत फिर्ता गर्ने निर्णय महान्यायाधिवक्ताको कार्यालयले केही दिनअघि गरेको छ ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले ९७ हजार दुई सय २३ हजार अमेरिकी डलर र ११ लाख नेपाली रुपियाँसहित गत २३ पुसमा उनीहरुलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सात महिला हुन् । प्रहरीले उनीहरुको शरीर खनतलासी गर्दा गुप्ताङ्ग, स्तनलगायत शरीरका विभिन्न अंगमा डलर लुकाइराखेको भेटिएको थियो । उनीहरुले १०, २० र सय दरका अमेरिकी डलर लुकाई तातोपानी नाका हुँदै खासाबाट चीन लैजान  लागेका थिए ।
उनीहरु ७ च १४३८, ९१७८ र बा ८ च ६४२४ नम्बरको गाडीमा अवैध रुपमा डलर खासा लैजाने क्रममा थिए । केही दिनअघि भक्तपुर सरकारी वकिल कार्यालयमा उनीहरुविरुद्ध मुद्दा दर्ता गर्ने भनिए पनि चिनियाँ दूतावासको दबाबपछि मुद्दाको फाइल महान्यायाधिवक्ता कार्यालयमा पुगेको थियो । दबाबकै कारण महान्यायाधिवक्ताको कार्यालयबाट सो निर्णय भएको स्रोतको दाबी छ ।
सरकारी मुद्दासम्बन्धी ऐन २०४९ अनुसार अनुसन्धान नपुगेको खण्डमा मुद्दा चलाउन सकिने वा नसकिने अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयले गर्न सक्छ  तर रङ्गेहात डलरसहित पक्राउ परेका चिनियाँका हकमा प्रहरीले यथेष्ट प्रमाण जुटाई अदालतमा पेस गरेको थियो ।
महान्यायाधिवक्ताको कार्यलयबाट भएको सो निर्णयले कानुनी राजको खिल्ली उडाएको प्रहरीका अधिकारीले बताए । ‘प्रहरीले अपराधी पक्राउ गर्दै जाने, सरकारले छाड्दै जाने हो भने अपराध कसरी नियन्त्रण हुन्छ ?’ एक प्रहरी अधिकारीले सौर्यसँग गुनासो पोखे ।
पर्यटक भिसामा नेपाल आएका उनीहरु पुसमै ९७ लाख ७५ हजार रुपियाँ धरौटी बुझाएर अदालतबाट रिहा भएका थिए । उनीहरुसँगै पक्राउ परेका गाडीका चालकलाई भने अदालतले साधारण तारेखमा छाडेको थियो । पक्राउ गरिएको चौबिस घन्टाभित्रै म्याद थपका लागि भक्तपुर जिल्ला अदालतमा हाजिर गरिएका उनीहरुले अदालतमै बितन्डा मच्चाएका थिए । अदालत परिसरमा जम्मा भएका ३० जनाभन्दा धेरै चिनियाँले अदालतमै ढुङ्गामुढा गरेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा झडपसमेत भएको थियो । त्यसबेला पनि चिनियाँ राजदूतावासबाटै उनीहरुलाई छुटाउन दबाब आएको थियो । केही हप्ताअघि एक हजार अमेरिकी डलरसहित पक्राउ परेका चिनियाँ नागरिकको पनि मुद्दा नचलाउन राजदूतावासले दबाब दिएको खुलेको छ ।

प्रतिक्रिया