प्रहरी चौकी तोडफोड

बारा : डुमरवानास्थित प्रहरी चौकीमा गाउँलेले ढुंगामुढा गर्दा तीन प्रहरी घाइते भएका छन् । गम्भीर घाइते दुईलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि काठमाडां ल्याइएको छ । डुमरवाना–८ रजघट्टामा रहेको अस्थायी प्रहरी चौकीमा स्थानीयले शनिबार राति ११ बजेतिर आक्रमण गरेका हुन् । आक्रमणमा परी प्रहरी हवल्दार टीकाजंग थापा, जवानद्वय पंकज महतो र विष्णु जिसी घाइते भएका हुन् । जिसी र महतोलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने थापाको वीरगन्जमा उपचार भइरहेको छ ।
रात्रिगस्तीमा रहेका प्रहरीले सडकमा होहल्ला गरेर बसेका दुई युवालाई नियन्त्रणमा लिएपछि आक्रोशित स्थानीयले चौकीमा ढुंगामुढा गर्दा प्रहरीले चार राउन्ड हवाईफायर गरेको थियो । प्रहरीले डुमरवाना–६ का गोपाल ठकुरी र डुमरवाना–४ का लालबहादुर घलेलाई पक्राउ गरेको छ । (सौस)

प्रतिक्रिया