हाइभोल्टेजले मानवीय क्षति बढ्दो

हेटौंडा, १६ जेठ । मकवानपुरको आमभन्ज्याङमा लगातार हाइभोल्टेजको समस्या देखिएपछि स्थानीय आक्रोशित भएका छन् । सातामा दुईपटक भन्दा बढी हाइभोल्टेज भएर मानवीय क्षति हुन थालेपछि स्थानीय नेपाल विद्युत् प्राधिकरणसँग आक्रोशित भएका हुन् ।

हाइभोल्टेजका कारण आइतबार एकको ज्यान गएको छ भने पाँच घाइते भएका छन् ।
आमभन्ज्याङ–७ का ३९ वर्षीय कृष्णबहादुर स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको हो । त्यस्तै, वडा नम्बर ८ का अनिषा गौतम, संगीता लामा, विमला दाहाल, विनिता लो र जयमणि गौतम करेन्ट लागेर घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
एकाएक हाइभोल्टेज भएपछि मोबाइल चार्ज गर्ने क्रममा अनिषाको हात तथा खुट्टाको केही भाग जलेको छ । संगीताको हात र छातीको भाग जलेको छ । एक साताअघि मात्रै करेन्ट लागेर गाउँमा एकजना गम्भीर घाइते भएका थिए ।
नेपाल विद्युत् प्राधिकरणले आइतबार मात्रै आमभन्ज्याङमा नयाँ ट्रान्समिटर जडान गरेपछि सोमबार प्रवाह भएको विद्युत्ले गाउँलेको ज्यान लिएको छ । स्थानीयले प्राधिकरणकै कारण पटकपटक आमभन्ज्याङमा हाइभोल्टेज भएर आधा दर्जनले ज्यान गुमाइसकेको बताएका छन् । उनीहरूले विद्युत् व्यवस्थित पार्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
स्थानीय मधुसूदन बञ्जाराले प्राधिकरणले जानाजान कम क्षमताका ट्रान्समिटर जडान गरेका कारण गाउँमा समस्या देखिएको बताए । यसअघि २५ भोल्ट क्षमताको ट्रान्सफर्मर जडान गरिएकामा आइतबार प्राधिकरणले स्थानीय बासिन्दाले विरोध गर्दागर्दै १५ भोल्ट क्षमताको ट्रान्समिटर जडान गरिदिएको बञ्जाराले बताए ।
‘हिजोमात्र कम क्षमताको ट्रान्समिटर जडान भयो,’ उनले भने, ‘आजै यस्तो क्षति बेहोर्नु पर्‍यो ।’ प्रत्येक वर्ष विद्युत् प्रसारण अनिमित भई आमभन्ज्याङमा मानवीय क्षति हुने गरेको तर प्राधिकरणले गम्भीर रूपमा नलिएको स्थानीय विदुर हुमागाईंले बताए ।
यसअघि ३ वैशाख ०६५ मा पनि आमभन्ज्याङमा हाइभोल्टेजले ६५ वर्षीया राममाया भ्लोनको ज्यान गएको थियो । घटनामा १० भन्दा बढी घाइते भएका थिए । आमभन्ज्याङमा हाइभोल्टेजको समस्या बढेर मानवीय क्षति हुन थालेपछि मकवानपुरका राजनीतिक दलले प्राधिकरणलाई पटकपटक सचेत गराएका थिए ।

प्रतिक्रिया