४१ लाख दूरसञ्चार उपभोक्ता थपिए

काठमाडौं, १६ जेठ । एक वर्षको अवधिमा ४१ लाख २५ हजार दूरसञ्चार प्रयोगकर्ता थपिएका छन् । ०६८ सालमा यो संख्यामा उपभोक्ता बढेका हुन् ।
सरकारी र निजी कम्पनीबीचको तीव्र प्रतिस्पर्धा, घट्दो शुल्क तथा प्रविधिको विकासका कारण दूरसञ्चारका उपभोक्ता बर्सेनि बढिरहेका छन् । ०६८ सालमा विभिन्न दूरसञ्चार कम्पनीले ४१ लाख २५ हजार एक सय ८६ उपभोक्ता थपेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।
०६७ चैत मसान्तसम्मम मुलुकभर एक करोड २२ लाख २५ हजार सात सय ६० दूरसञ्चार उपभोक्ता रहेकामा ०६८ चैत मसान्तमा यो संख्या एक करोड ६३ लाख ५० हजार नौ सय ४६ पुगेको छ । एक वर्षमा टेलिघनत्व पनि १९ प्रतिशतले बढेको छ । ०६७ सालमा कुल जनसंख्याको ४२.७७ प्रतिशतमा दूरसञ्चारको पहँुच थियो । यो प्रतिशत ०६८ मा ६१.४२ पुगेको छ । अहिले हरेक एक सय नेपालीमध्ये ६३ जना दूरसञ्चार सेवाको पहँुचमा छन् ।
एक वर्षभित्र सबैभन्दा बढी मोबाइलबाट नेपालीहरू दूरसञ्चारको सञ्जालमा आबद्ध भएको तथ्यांक छ । वर्षभरिमा विभिन्न कम्पनीका ३७ लाख ८८ हजार चार सय सात मोबाइल प्रयोगकर्ता थपिएका छन् । यो संख्या अघिल्लो वर्षका तुलनामा १७ प्रतिशतले बढी हो । सो वर्ष मोबाइल प्रयोगकर्ता ३७.४७ प्रतिशत रहेकामा यो वर्ष बढेर ५४.४६ प्रतिशत पुगेका छन् । ६७ चैत मसान्तसम्म एक करोड सात लाख मोबाइल प्रयोगकर्ता रहेकामा ६८ चैतमा यो संख्या एक करोड ४४ लाख पुगेको छ ।
एक वर्षमा २१ लाख ७० हजार पाँच सय ३५ इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत वर्ष २४ लाख ९७ हजार इन्टरनेट प्रयोगकर्ता रहेकामा यो संख्या यस वर्ष ४६ लाख ६७ हजार पुगेको छ । इन्टरनेट प्रयोगकर्ताको प्रतिशत ८.७४ प्रतिशतबाट बढेर १७.५३ प्रतिशत पुगेको छ । इन्टरनेट प्रयोगकर्तामा सबैभन्दा बढी मोबाइलबाट चलाउन मिल्ने जिपिआरएसका छन् । अहिले ४३ लाख ३२ हजार जिपिआरएस प्रयोगकर्ता रहेको तथ्यांक छ । यो संख्या गत वर्ष २१ लाख ८१ हजार थियो ।
सेवा प्रदायक कम्पनीबीचको प्रतिस्पर्धा, सेवा शुल्कमा आएको गिरावट, मोबाइल सेटको मूल्यमा गिरावट, सेवा विस्तारलगायतका कारण ग्राहकको संख्यामा उच्च वृद्धि भएको प्राधिकरण अधिकारीहरू बताउँछन् । सेवा प्रदायक कम्पनीले बेलाबेलामा ल्याउने अफर तथा युवा पुस्तामा बढेको मोबाइल फेसनले पनि यसको वृद्धिमा सहयोग पुर्‍याएको छ ।
गत वर्ष आधारभूत टेलिफोन (ल्यान्डलाइन) विस्तार भने सुस्त देखिएको छ । एक वर्षमा ल्यान्डलाइनका पाँच हजार ६ सय मात्र ग्राहक थपिएका छन् । दूरसञ्चार क्षेत्रमा निजी कम्पनीको आगमनसँगै बढेको प्रतिस्पर्धाका कारण दूरसञ्चारमा नेपालीको पहुँच बढिरहेको छ । घट्दो शुल्क यसको अर्को कारण बनेको छ ।

प्रतिक्रिया