समयमा रकम पाउनबाट सेयर लगानीकर्ता वञ्चित

काठमाडौं, १६ जेठ । सेयर कारोबार भएको पाँच दिनभित्र बिक्री गरेको रकम लगानीकर्ताले पाउनुपर्ने नियम रहे पनि रकम समयमा पाउन नसकेको गुनासो सेयर लगानीकर्ताले गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जले सेयर लगानीकर्ताको गुनासोलाई ध्यानमा राखेर टी प्लस थ्रीभित्र खरिद गर्ने सेयर दलालले रकम जम्मा गर्नुपर्ने र लगानीकर्ताले अर्को दुई दिनभित्र पाउने प्रावधान लागु गरेको छ ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष सीताराम थपलियाले सेयर लगानीकर्ताले सेयर कारोबार भएको न्यूनतम १० देखि १५ दिनमा मात्र सेयर बेचेको रकम पाउन थालेको गुनासो गरेको बताए । नेप्सेले कारोबारको राफसाफ ढिलो गर्ने गरेको गुनासो बढेपछि अर्थ मन्त्रालयले दु्रत गतिमा कारोबारको राफसाफ गर्न नेप्सेलाई निर्देशन दिएको थियो । त्यसपछि नेप्सेले सेयर दलाल कम्पनीलाई कारोबार गरेको तीन दिनभित्र कारोबारको कागजातलगायत रकम नेप्सेमा दाखिला गर्न निर्देशन दिएका थिए ।
निर्देशन दिएको केही साता लगानीकर्ताले समयमै सेयर बिक्री बापतको रकम भुक्तानी पाए पनि अहिले भने भुक्तानी पाउन ढिलाइ हुन थालेको एक सेयर दलालले बताए । सेयर दलालका अनुसार नेप्सेले टी प्लस थ्रीभित्र कागजात नबुझाएमा दलाल कम्पनीलाई कारबाहीस्वरुप कारोबार नै गर्न नपाउने सजाय दिने गरेको छ तर नेप्सेले भने पाउनुपर्ने रकम समयमा दिन नसकेको ती दलालको भनाइ छ । नेप्सेले समयमा भुक्तानी नदिने गर्दा लगानीकर्तासँग आफूहरूको समय समयमा भुक्तानीको विषयमा विवाद हुने गरेको थपलियाले जानकारी दिए । सेयर लगानीकर्ताले जम्मा गरेको करोडाँैं रुपियाँ रकमबाट ब्याज आम्दानी गर्न नेप्सेले भुक्तानीमा ढिलाइ गर्ने गरेको आरोप उनको छ । ‘प्राय: नेप्सेले शुक्रबार भुक्तानी दिने गरेको छैन । शुक्रबार भुक्तानी नगर्दा शनिबारको ब्याज सिधै नेप्सेको नाफामा देखिन्छ ’ एक लगानीकर्ताले भने । नेप्सेले गर्दा नै दलाल कम्पनीले समयमा भुक्तानी गर्न नसकेको एक सेयर दलालले बताए ।
सेयर लगानीकर्तालाई छिटोछरितो तरिकाले भुक्तानी दिन केही समय अगाडि नेप्सेसँग कारोबार गरिरहेको बैंक अफ काठमाडौंले ‘नेट सेटलमेन्ट’को अवधारणा अगाडि सारेको थियो । ‘नेट सेटलमेन्ट’ भनेको कुनै दलाल कम्पनीले दिनुपर्ने र लिनुपर्ने रकमको कुल रकम आफँैले हिसाब गरेर बुझाउने कुल रकम मात्र बुझाउनु हो । अहिले कुनै एक दलाल कम्पनीले आफैँले किनेको सम्पूर्ण सेयरको रकम टी प्लस थ्री कारोबार दिनमा नेप्सेमा बुझाउनुपर्छ भने त्यसको भोलि वा पर्सिपल्टसम्म आफूले बेचेको सेयरको रकम पुन: नेप्सेबाट लिनुपर्छ । दलाल कम्पनीले सेयर किनबेचको राफसाफका लागि एक कर्मचारीलाई नेप्से परिसरमा नै खटाउने गरेका छन् ।
नेपाल धितोपत्र दलाल संघका अध्यक्ष अञ्जनराज पौडेलले पछिल्ला दिनमा कारोबारको आकार बढ्दै जाने एवम् सेयर दलाल कम्पनीको संख्या पनि बढ्दै गएकाले तुलनात्मक रूपमा काम बढेकाले भुक्तानीमा ढिलाइ हुन गएको हुन सक्ने बताए । उनका अनुसार दलाल कम्पनीले १० देखि १५ दिनमा मात्र सेयरको भुक्तानी पाउने गरेको बताए । ‘नेट सेटलमेन्टको अवधारणा धेरै अगाडि सारिएको भए पनि नेप्सेको सफ्टवेयरमा त्यस्तो व्यवस्था नभएका कारण लागू गर्न नसकिएको हो,’ उनले भने । स्टक एक्सचेन्जका सहायक प्रवक्ता मुराहरि पराजुलीले भने नेप्सेले समयमा नै सेयरको भुक्तानी दलाल कम्पनीलाई दिँदै आएको दाबी गरे । ‘नेप्सेमा हालसम्म कुनै पनि लगानीकर्ताले ढिलो भुक्तानी पाएको गुनासो गर्न आएको छैन’, उनले भने । नेप्सेमा ढिलो भुक्तानी पाएको गुनासो आएमा दलाल कम्पनीलाई सचेत गराइने उनले बताए ।

प्रतिक्रिया