एक महिनापछि सुदूरपश्चिमको बन्द खुल्यो

कैलाली, १५ जेठ । अखण्ड सुदूरपश्चिमको माग राखी बिगत एक महिनादेखि जारी बन्द/हड्तालका कार्यक्रम आज बाट फिर्ता भएपछि जनजीवन सुचारु भएको छ ।
संविधानसभा स्वतः समाप्त भई नयाँ घटनाक्रम विकसित भएपछि आज बिहान धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधरहरुले कोणसभा गरेर बन्द, हड्ताल लगायतका सम्पूर्ण बिरोधका कार्यक्रम फिर्ता लिएको बताएका छन् ।
आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको अखण्ड सुदूरपश्चिम संयुक्त संघर्ष समितिका संयोजक गोपाल देउवाले बताए । उनले आन्दोलनका दौरानमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिदै अझै परि आए अखण्ड सुदूरपश्चिमको आन्दोलनका लागि तयार रहन आग्रह गरे ।
बन्द, हड्ताल फिर्ता लिएपछि धनगढी, अत्तरिया, महेन्द्रनगर लगायतका बजार, उद्योग, कलकारखाना, यातायात सेवा सुचारु भएका छन् ।
बन्द रहेका बजार खुलेपछि सर्वसाधरणहरुको दैनिक उपभोग्य सामान किन्न पसलमा चहलपहल बढेको छ ।
यसैबीच, नयाँ संविधान जारी नगरेको विरोधमा धनगढीमा प्रर्दशन भएको छ । प्रर्दशनकारीहरुले राजनीतिक दलका नेताहरु बिरुद्ध चर्को नाराबाजी गर्नुका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई प्रति आक्रोस पोखेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री भट्टराईको पुत्ला समेत जलाएका छन् ।

प्रतिक्रिया