रन्थनिएको मन

झन्डै ४८ वर्ष पहिला जन्मिएकी राधा तिवारी बिरामीले थलापरेको लामै समय भयो । बिरामीले उनको शरीर जति थलिएको छ त्योभन्दा बढी उनको मन रन्थनिएको छ । ‘घरमा अड्कोपड्को आफैँ गर्थें,’ राधाले भनिन्, ‘आफैँ नभएपछि घर के भयो होला, बालबच्चा कस्ता भए होलान् ?’
आधा वर्षअघि राधाको जिउ दुख्यो । त्यसको केहीपछि हनहनी ज्वरो आयो । उनले भनिन्, ‘घाममा बस्यो पोल्ने, घरभित्र बस्यो मुटु नै कमाउने जाडो हुने ।’ यस्तैमा उनले घरधन्दा र आलीकान्ला गर्दागर्दै झन्डै पाँच महिना बिताइछन् । झन्डै डेढ महिनाअघि मात्र राधा चितवन अस्पतालमा उपचारका लागि पुगिछन् । ‘छलल्ल खुन बग्यो, अनि मात्रै अस्पताल आएँ,’ राधाले त्यो अवस्था सम्झँदै भनिन्, ‘गाउँघरमा यस्तै त हो, देखिने गरी बिरामी नभएसम्म कसले विश्वास गथ्र्यो र ।’
नवलपरासीको बेउरानी–४ तिवारीटोल घर भएकी राधा त्यस दिन थला परिन्, जुनदिन उनको यौनांगबाट हलहली रगत बग्न थाल्यो । दुई छोराछोरीकी आमा उनले त्यसैदिन घर छाडिन् । अहिले डेढ महिना भइसक्यो उनले घरको आँगन टेक्न सकेकी छैनन् । वीर अस्पतालको फिमेल मेडिकल वार्डको वेड नम्बर २२७ बाट उठेर आफ्नै घरको आँगन टेक्ने र आरीबारी गर्ने उत्कट चाहना छ यतिबेला राधालाई ।
वीर अस्पतालमा भर्ना भएयता उनी हरेक बिहान ‘आज घर जान पाइन्छ कि ?’ भन्ने आशा गर्छिन् । तर, ‘डाक्टरले जा भन्दैनन् बाबु † कसरी जाने ?’ राधाले उकुसमुकुस पोखिन् । श्रीमान्सँग मिलेर ज्यालामजदुरीबाहेक कमाएर खाने उनीहरूको पर्याप्त बारी पनि छैन । ‘घरबासका लागि जोडेको एक कठ्ठा जग्गाबाहेक अरू केही छैन,’ राधाले भनिन्, ‘खाने मेसो भनेको त्यही ज्याला मजदुरी हो ।’ आफू बिरामी भएयता त्यो पनि बन्द भएको बताउँदै उनले बर्रर आँसु झार्दै भनिन्, ‘केटाकेटी पनि छरछिमेकको भरोसामा छाडेर आएका छौँ । खान्छन् कि भोकै छन् ? त्यो पनि थाहा छैन ।’
डाक्टरहरूले उनको सम्भव भएजति उपचार गरिरहेका छन् रे । उनले भनिन्, ‘रिपोर्ट आउन दिनुस् अनि मात्रै भन्न सकिन्छ भन्छन् ।’ अहिले राधाको मिर्गाैलामा केही शंका देखिएकाले त्यसको लागि जाँच गर्न भारत पठाइएको छ । ‘खै कहिले आउँछ त्यो रिपोर्ट ? आउन पाए त घर जान्थेँ बरु उपचार नै गर्ने थिइनँ,’ राधाले दिक्दारी पोखिन् । विवाह गरेदेखि नै सौतेनी सासूका कारण अलग्गै बस्दै आएको राधाको परिवार दु:खमै भए पनि सन्तुष्ट भने थियो । उनले भनिन्, ‘दु:ख नगरी खान पुग्दैनथ्यो, तैपनि खुसी थियौँ ।’ अहिले ‘कुन दुष्टको आँखा लाग्यो’ भन्न रुचाउने राधा भन्छिन्, ‘योभन्दा बढी दु:ख नपाइयोस् ।’

प्रतिक्रिया