संविधानसभामा अलपत्र सभासद्हरु

काठमाडौ,१५  जेठ । नयाँ संविधान जारी गर्ने आशा लिएर आइतबार बिहान संविधानसभा बैठकस्थल पुगेका सभासद््हरू अन्तत: निरास भएर फर्किए । शीर्ष नेताहरूबीच कुरा नमिल्दा सभासद्हरू अन्तिम बैठक बस्नसमेत सकेनन् ।
संविधानसभाको अन्तिम बैठक बिहान ११ बजे बोलाइएको थियो । साना–ठूला सबै दलका सभासद्हरू ११ बजेपछि नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा देखिन थालेका थिए । तर, बैठक सुरु नभएपछि सभासद्हरू अलपत्र परे । कुनै हाट–बजारमा गएजसरी उनीहरू संविधानसभा भवन परिसरको दक्षिणपट्टिको चौरमा छरपष्ट भएर बसेका थिए ।
सभासद््, सुरक्षाकर्मी, संसद् सचिवालयका कर्मचारी तथा पत्रकारले संविधानसभा भवनको क्यान्टिन, चौर भरिभराउ थियो । आपसी छलफलसँगै अधिकांश एफएम रेडियोको समाचारमा कान थापिरहेका देखिन्थे । समाचार सकिएलगत्तै उनीहरूको मुखबाट एउटै स्वर निस्कन्थ्यो, ‘अझै सहमति भएन, अब होलाजस्तो छैन ।’
खुला चौरमा चार/पाँचजनाको समूहमा गोलाकार घेरा बनाई बसेका उनीहरू दिनभरजसो नै शीर्ष नेताको कुरा काटिरहेका थिए । ‘पार्टी चलाउने धेरै नेता भएकाले यस्तो समस्या देखिएको हो,’ आपसी छलफलकै क्रममा माओवादीका एक सभासद्ले भने, ‘सबै पार्टीमा एउटा/एउटा मात्र नेता भए पो, सबै एकसे एक छन् ।’ ती सभासद््ले थपे, ‘देश बनाउने भन्दा पनि आफू र आफन्तलाई बनाउने नेता मात्र भएकाले नेपालीले दु:ख पाउने भए ।’
संविधान जारी गर्ने विषयमा देखिएको अन्योल र दलहरूको छलफलबारे पनि आ–आºनै अड्कल लगाइरहेका थिए । ‘रातभरमा संविधानको मस्यौदा जारी होला कि ?’ उनीहरू अनुमान गर्थे । केही सभासद्् भने भारतलाई सत्तोसराप गरिरहेका थिए । उनीहरूको भनाइ थियो, ‘भारतले नचाहेसम्म नेपालमा संविधान बन्दैन, यदि बनिहाल्यो भने पनि उनीहरूको इन्ट्ेरसअनुसारको बन्छ ।’
‘संविधानसभाको आज अन्तिम दिन भएकाले समयमै आएको तर बैठकको कुनै सुरसार छैन,’ दिउँसो एक बजेको समाचार सुनेपछि एमाओवादी सभासद् डिल्लीमान तामाङले भने, ‘दलहरूबीच सहमति होलाजस्तो छैन, भइहाले आजको रात पनि यतै बिताउनुपर्ने देखियो ।’ माओवादीका अर्का सभासद्् नारायण दाहालले भने, ‘नेताहरूको पर्खाइमा दिन बित्यो, व्यर्थै आएछु ।’
माओवादीका अर्का सभासद्ले चन्द्रबहादुर थापाले भने सहमतिको बाधक एमाले र कांग्रेस भएको भन्दै उनीहरूलाई तह लगाएपछि मात्र मुलुकले निकास पाउने बताए । संसद्को क्यान्टिनमा चाउमिन खाँदै थापाले भने, ‘एमाले र कांग्रेस लचिलो भए सहमति हुने सम्भावना छ, नत्र छैन ।’ कांग्रेसका सभासद्् मनमोहन भट्टराईले देश अन्धकारतिर जाने भयो भन्दै चिन्ता व्यक्त गरे ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे भने अन्तिम समयसम्म सहमति हुन सक्ने भन्दै निरास नहुन आग्रह गर्दै थिए । उनको भनाइ थियो, ‘नेपालमा अहिलेसम्म महत्त्वपूर्ण सहमति राति हुने गरेको छ, त्यसैले आज पनि राति नै सहमति हुन्छ, किन आत्तिनुहुन्छ ?’ कांग्रेस सभासद् नारायण खड्काले पनि साँझसम्म दलहरूबीच सहमति हुने भन्दै निरास नहुन अन्य सभासद्लाई आग्रह गरे । उनको भनाइ थियो, ‘आज नयाँ चमत्कार हुन्छ किन आत्तिनुहुन्छ ?’
‘दलहरूबीच आज रातिसम्म सहमति नभए मुलुक चुनावी प्रक्रियामा जान्छ, अब हामी सबै चुनावी प्रक्रियमा लाग्नुपर्छ,’ मालेका महासचिव सिपी मैनाली सभासद््हरूसँगको छलफलमा भने । उनको भनाइ थियो, ‘सहमति नभए चुनावमा जानुको विकल्प छैन ।’ मैनालीभन्दा केही पर बसेकी उनकी श्रीमती निलम केसी भने महिला सभासद्हरूलाई भेला पारेर पारिवारिक गफ गरिरहेकी थिइन् । उनको गफ सुन्नेमा नवोदिता चौधरी, रूपा विक, रुकमणि चौधरी, शान्त चौधरीलगायत महिला सभासद् थिए ।
एमाले सभासद्् लाक्र्याल लामा प्रधानन्यायाधीशलाई गाली गर्दै थिए । ‘प्रधानन्यायाधीशले कार्यपालिकामा हस्तक्षेप गरेकाले यो समस्या आएको हो,’ जनजाति सभासद््हरूसँग उनले भने, ‘कार्यपालिकाले गरेको हरेक निर्णयमा आपत्ति जनाउने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने हो भने त्यसपछि आउने प्रधानन्यायाधीश कार्यपालिकाले गरेको निर्णयविरुद्ध जाँदा सोच्न बाध्य हुन्छन् ।’
प्रधानन्यायाधीशलाई महा–अभियोग लगाउन सकिने विषयमा लामालगायत सभासद्ले आपसी छलफल गरेको केही क्षणमा प्रधानन्यायाधीश विरुद्ध महाअभियोगको प्रस्ताव सदनमा दर्ता भयो भन्दै मधेसी मोर्चा तथा माओवादी सभासद् हल्ला गर्दै हिँडेका थिए । केही सभासद्ले भने संविधानसभा भवनमा आउन निकै समस्या भएको बताए । सभासद् लकी शेर्पाले भनिन्, ‘आज सिंहदरबार आउन निकै समस्या पर्‍यो ।’ संविधानसभा भवन र त्यस आसपासका क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएकाले सभासद््हरूले समेत त्यसको सास्ती व्यहोर्नुपरेको थियो । संसद्को लोगो लगाएका सभासद््हरूलाई त प्रहरीले स्यालुट गर्दै सुरक्षित रूपमा बैठकस्थल पुर्‍याएका थिए भने लोगो नलगाई सामान्य कपडामा गएका नेतालाई परिचयपत्र मागिएको थियो ।
दिउँसो तीन बजेसम्म सभासद्हरू क्यान्टिन तथा चौरमा एकअर्काबीच कुरा काटेर बसिरहेका थिए । त्यति नै बेला संविधानसभा भवनको पश्चिम गेटबाट एमाओवादीका वैद्यनिकट सभासद् राजकाजी श्रेष्ठको अगुवाइमा माओवादी, मधेसी तथा एमाले र कांग्रेसका जनजाति सभासद्हरू संविधानसभाको बैठक तत्काल बस्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । बालुवाटारमा होइन संविधानसभा भवनमा बैठक गर, ६०१ सभासद्लाई बन्धक बनाउन पाइँदैनलगायत नाराबाजी गरेका थिए उनीहरूले ।
संविधानसभा भित्रैबाट समस्याको समाधान खोज्न छाडेर होटल र रेस्टुराँमा सहमति गर्ने र भोलिपल्टै त्यसको विरुद्धमा उत्रने नेताहरूको बानीले मुलुक अन्धकारमा धकेलिएको आरोप सभासद्ले लगाएका थिए । केहीबेरको नाराबाजीपछि दक्षिण गेटअगाडि कोणसभा गरियो । कोणसभामा माओवादी सभासद् तिलक परियारले आफूहरूलाई अमुक नेताले भेडाबाख्रा बनाएको आरोप लगाए । उनले भने, ‘सभासद्हरू भेडाबाख्रा होइनन्, जनताका प्रतिनिधि हुन् तर हामीलाई भेडाबाख्रा बनाइयो ।’
संविधानसभाको म्याद सकिने केही घन्टा मात्र बाँकी रहँदा संविधान जारी गर्ने विषयमा दलहरूबीच सहमति नजुटेको र संविधान आउने सम्भावना क्षीण बन्दै गएको चर्चा सुनिन थालेपछि सभासद्हरू एकाएक आक्रोशित बने र फेरि सुरु गरे नाराबाजी । माओवादीको वैद्य पक्ष र बृहत् मधेसी मोर्चामा संलग्न सभासद्हरू संविधानसभाबाटै संविधान जारी गर्न र संविधानसभा विघटन नगर्न माग गर्दै नाराबाजीमा उत्रे र उपसभामुख पूर्णकुमारी सुवेदीलाई बैठक बोलाउने वातावरण बनाउन माग गर्दै घेरा हाले । उनीहरूले आºनै पार्टीका नेताविरुद्ध चर्को नाराबाजी तथा उपसभामुखलाई घेरा हालेपछि संविधानसभा भवनबाहिरको सुरक्षामा खटिएका प्रहरी सभासद््हरूको जुलुसलाई नियन्त्रण गर्न भित्र पुगेका थिए । तर, सरकारले चुनावको मिति घोषणा गरेको समाचार सुनेपछि ‘लौ अब मुलुकमा के हुन लाग्यो ?’ भन्दै भवनबाट बाहिरिएका थिए ।

प्रतिक्रिया