राष्ट्रपति यादव ‘गम्भीर’

सौर्य समाचार

काठमाडौ, १५  जेठ । माओवादी नेतृत्वको सरकारले संविधानसभाको नयाँ निर्वाचनको घोषणा एकतर्फी रूपमा गरेपछि राष्ट्रपति डा. रामवरण यादव ‘गम्भीर’ बनेका छन् । सरकारको निर्णयबारे प्रमुख दलहरूको फरक–फरक धारणा आएको भन्दै निर्वाचन गराउने सरकारको सिफारिसप्रति उनले कुनै निर्णय लिएका छैनन् ।
संविधानसभाको नयाँ निर्वाचन गराउने सरकारको निर्णयप्रति थप अध्ययनपछि मात्र राष्ट्रपति निर्णयमा पुग्ने भएका हुन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार राति नै राष्ट्रपति यादवलाई मन्त्रिपरिषद्को निर्णयका विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्री भट्टराईले दलहरूबीच सहमति निर्माण नहँुदा संविधानसभाबाट संविधान जारी हुन नसकेको उल्लेख गर्दै सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले संविधानसभाको नयाँ निर्वाचन गराउने निर्णय गरेको जानकारी गराएका थिए । संविधानसभा निर्वाचन भएको चार वर्ष बित्दा पनि नयाँ संविधान जारी गर्न नसकेकोप्रति असन्तुष्ट देखिएका राष्ट्रपति यादवले प्रधानमन्त्री भट्टराईलाई थप अध्ययन गरेर छिट्टै निर्णय लिने आश्वासन दिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री भट्टराई शीतलनिवासबाट फर्केलगत्तै नेपाली कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, बृहत् मधेसी मोर्चासहितका दलहरू राष्ट्रपति यादवलाई गुहार्न राष्ट्रपति कार्यालय पुगेका थिए । उनीहरूले संविधानसभाबाट संविधान जारी गर्ने अवस्था रहँदा रहँदै सरकारले हठात् संविधानसभा भंग गरेर नयाँ निर्वाचन घोषणा गरेको भन्दै रोक्न आग्रह गरेका छन् ।
राष्ट्रपति यादवले सबैसँग बुझेर आवश्यक निर्णय लिने दलका नेताहरूलाई आश्वासन दिएका थिए । उनले कानुनविद्हरूका साथै विभिन्न पक्षसँग छलफल गर्ने तयारी गरेका छन् । राष्ट्रपतिले दलहरूको सहमतिमा निर्वाचनको घोषणा भएको हो वा होइन भन्ने बुझेर निर्णय लिने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपति कार्यालयमा धेरै कुरा आएकाले बुझेर मात्र निर्णय लिने जानकारी दिए । ‘राष्ट्रपति कार्यालयले आज कुनै निर्णय लिएको छैन,’ उनले भने ।
राष्ट्रपतिसँगको भेटपछि एमाले अध्यक्ष झलनाथ खनालले संवैधानिक अधिकार नभएका बेला सरकारले निर्वाचन घोषणा गरेर लोकतन्त्रप्रति अपराध गरेको आरोप लगाए । ‘हामी यसको राजनीतिक र संवैधानिक उपचार खोज्छौँ,’ उनले भने, ‘हामीले राष्ट्रपतिलाई आºनो अधिकार प्रयोग गर्न आग्रह गरेका छाँै ।’
यसैबीच, राष्ट्रपति यादवले गणतनत्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ६ दशक लामो प्रयासपछि जनताको प्रतिनिधिबाट संविधान निर्माण गर्ने जनताको सपनामा तुषारापात भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया