सवा दुई अर्बले घट्यो घरकर्जा

काठमाडौं, १४ जेठ । चालु आथिर्क वर्षको नौ महिनामा घरजग्गा कर्जा दुई अर्ब २३ करोड ३४ लाख रुपियाँले घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पुस मसान्तसम्म जग्गा–जमिन खरिद कर्जालाई १० प्रतिशतमा र कुल घरजग्गा कर्जालाई २५ प्रतिशतमा ल्याउन निर्देशन दिएपछि यस क्षेत्रमा कर्जा बढाउन बैंकर्सहरू अनिच्छुक भएकै कारण घरजग्गा कर्जा घटेको हो ।

चालु आवको नौ महिनामा घरजग्गा कर्जा ६८ अर्ब ५१ करोड ३९ लाख रुपियाँ मात्र प्रवाह भएको छ । अघिल्लो आवको नौ महिनामा घरजग्गा कर्जा ७० अर्ब ७४ करोड ७३ लाख रुपियाँ थियो ।
विगतमा घरजग्गा क्षेत्रमा बैंकका कर्जा केन्द्रित भएपछि जग्गाको मूल्य कृत्रिम रूपमा आकासिएको थियो । मूल्य आकासिएपछि राष्ट्र बैंकले एकै क्षेत्रमा मात्र कर्जा लगानी केन्द्रित नगर्न निर्देशन जारी गरेको हो । राष्ट्र बैंकको निर्देशनपछि कृत्रिम रूपमा आकासिएको जग्गाको मूल्य बढ्ने क्रम रोकिएको थियो । आफ्नै बसोवासका लागि भन्दा पनि दु्रत गतिमा बढेको जग्गाको मूल्यबाट फाइदा लिनमात्र घरजग्गामा लगानी बढेकाले राष्ट्र बैंकले अन्य बैंकको लगानी डुब्न नदिन घरजग्गामा सीमा तोकेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
कुल कर्जाको ५० प्रतिशतसम्म घरजग्गा क्षेत्रमा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले बिस्तारै यस क्षेत्रमा कर्जा लगानी घटाउँदै लगेका छन् । चालु आवको चैत मसान्तसम्मको तथ्यांकमा वाणिज्य बैंकको घरजग्गा क्षेत्रमा कुल कर्जाको ११ दशमलव ८१ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ । पछिल्लो ६ महिनाको तथ्यांकअनुसार सबै वाणिज्य बैंकको घरजग्गा कर्जा २३ प्रतिशतभन्दा कम रहेको छ ।
यस्तो कर्जा सबैभन्दा बढी ग्रान्ड बैंक नेपालको २२ दशमलव ५८ प्रतिशत रहेको छ । प्रतिशतका आधारमा सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र किस्ट बैंक घरजग्गा क्षेत्रमा सबैभन्दा बढी कर्जा दिने बैंकमा रहेका छन् । नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा सीमा तोक्ने समयमा वाणिज्य बैंकहरूले कुल कर्जाको ४५ प्रतिशतभन्दा बढी कर्जा घरजग्गा क्षेत्रमा प्रवाह गरेका थिए ।
कुल ३२ वाणिज्य बैंकमध्ये १८ बैंकले घरजग्गा क्षेत्रको कर्जा घटाएका छन् । विगतमा घरजग्गा क्षेत्रमा केन्द्रित नभएका वाणिज्य बैंक र नयाँ वाणिज्य बैंकहरूले चालु आवको पहिलो नौ महिनामा यस क्षेत्रतर्फको कर्जामा केही वृद्धि गरेका छन् । हिमालयन, एभरेस्ट, सिभिल, जनता, राष्ट्रिय वाणिज्य बैंक जस्ताले घरजग्गा क्षेत्रको कर्जामा वृद्धि गरेका हुन् ।

प्रतिक्रिया