चेन्नाईको हयाट्रिक प्रयास कोलकाताको पहिलो उपाधि लक्ष्य


चेन्नाई, १४ जेठ । चेन्नाई सुपर किङ्सले लिगचरणका आफ्ना सबै खेल खेलिसक्दा प्लेअफमा प्रवेश पाउने सम्भावना अत्यन्तै कमजोर थियो । तर प्लेअफमा प्रवेश गर्न उसका प्रतिस्पर्धी देखिएका राजस्थान रोयल्स, किङ्स इलेभेन पन्जाब र रोयल च्यालेजन्र्स बंगलोरले निराशाजनक नतिजा निकालेपछि चेन्नाई अप्रत्यासित रूपमा प्लेअफचरणमा पुग्यो । प्लेअफमा भने उसले लिगको कमजोर प्रदर्शनलाई बिर्सिएर उत्कृष्ट प्रदर्शन गर्‍यो र मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्सलाई पराजित गरी फाइनल पुग्यो ।
यसरी प्राय: ‘भाग्य’ कै साथमा प्लेअफमा पुगेको चेन्नाई त्यसपछिको उत्कृष्ट प्रदर्शनको नतिजाका रूपमा आइतबार उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग भिड्दै छ । लिग र प्लेअफ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको कोलकाताविरुद्ध आइतबार विजयी भए चेन्नाईले उपाधिमाथि हयाट्रिक पूरा गर्नेछ र आइपिएल क्रिकेटमा स्वर्णिम इतिहास रच्नेछ । यसअघि हालसम्मका पाँच संस्करणमा चेन्नाई चार पटक फाइनलमा खेलिसकेको छ ।
पछिल्ला दुई खेलमा प्राप्त जितले यतिबेला उच्च मनोबलमा देखिएको चेन्नाईलाई घरेलु मैदान पनि उत्तिकै ‘एडभान्टेज’ हुनेछ । चेन्नाईले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरिरहेको छ । उसले पछिल्ला खेलमा मुम्बईविरुद्ध १८७ र दिल्लीविरुद्ध २२२ रन बनाएर आफ्नो ब्याटिङ क्षमता देखाएको छ । खासगरी चेन्नाईको धैर्यतापूर्ण प्रदर्शन नै जितको प्रमुख आधार बन्ने गरेको छ । कप्तान महेन्द्रसिंह धोनी, माइकल हसी, मुरली विजय र ड्वायन ब्राभोलगायतका ब्याट्सम्यान लयमा देखिएका छन् । त्यस्तै एल्बी मोर्कल, ब्राभो र रविचन्द्रन आश्विनलगायत खेलाडी अलराउन्ड प्रदर्शनमा जमेका छन् । आश्विन र रविन्द्र जडेजाको स्पिन बलिङ पनि निकै प्रभावी देखिएको छ ।
चेन्नाईको फिल्डिङ पनि निकै उत्कृष्ट रहेको छ । खासगरी सुरेश रैना, एस बद्रिनाथ, सदाब जकाती र हसीलगायतका खेलाडी फिल्डिङमा विशेष देखिएका छन् । जारी संस्करणमा चेन्नाई र कोलकाताबीचको नतिजा मिश्रित देखिएको छ । चालु संस्करणको पहिलो खेलमा कोलकाता र दोस्रोमा चेन्नाई विजयी भएका थिए ।
यता, लगातार स्थिर प्रदर्शन गरिरहेको कोलकाता पनि उच्च मनोबलमा छ । लिगचरणमा दोस्रो भए पनि प्लेअफमा शीर्षस्थानको दिल्लीलाई हराएर कोलकाता पहिलोपटक फाइनलमा पुगेको हो । कोलकाता निकै सन्तुलित प्रदर्शन गरिरहेको छ । खासगरी गौतम गम्भीर, ज्याक कालिस, ब्रेन्डन म्याकुलम, मनोज तिवारी आदि सबै खेलाडीको प्रदर्शन राम्रो छ । प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा कप्तान गम्भीर दोस्रो नम्बरमा छन् । त्यस्तै पछिल्लो खेलमा लयमा देखिएका युसुफ पठान र चालु सिजनमै दोस्रो सर्वाधिक विकेट लिएका सुनिल नारायन पनि चेन्नाईका लागि घातक बन्न सक्नेछन् । अलराउन्ड ‘स्पेसलिस्ट’ मानिने सकिब अल हसन पनि चेन्नाईका लागि टाउको दुखाइ बन्ने पक्का छ । खासगरी कोलकाताको सुरुआती ब्याटिङक्रम निकै सशक्त देखिएको छ ।

प्रतिक्रिया