ऐतिहासिक कार्यभार

राजनीतिक दलहरूले विवेक पुर्‍याए अबको केही घन्टाभित्रै नेपाली जनताले पहिलोपटक संविधानसभाद्वारा निर्माण गरिएको संविधान प्राप्त गर्नेछन् । यससँगै संविधानसभा र राजनीतिक दलले आफूलाई सफलताको सूचीमा पनि सूचीकृत गर्ने अवसर प्राप्त गर्नेछन् । आमजनताले पनि आशा गरेका छन् कि दलहरू अन्तिम समयमा आएर विवेक र संयमता गुमाउने छैनन् । ‘सानैदेखि लागेको बानी’ को प्रयोग गरेर जसरी भए पनि १४ जेठको मध्यरातसम्म संविधान जारी गर्ने नै छन्, जसले नेपाल र नेपाली जनतालाई जारी संक्रमणकालीन अवस्थाबाट अग्रगमनको बाटोतर्फ डोर्‍याउने प्रयास गर्नेछ । यही आशा, भरोसा र विश्वासको भारी बोकेर नेपाली जनता वर्षौंदेखि पर्खिरहेका छन् । दल र तिनका नेताहरूको विवेकशीलताप्रति विश्वस्त हुँदै नेपाली जनताको आशाको त्यान्द्रो अन्तिम समयसम्म पनि चुँडिने छैन । संविधानसभाद्वारा संविधान बनाउने राजनीतिक दलहरूको चार वर्षे अभ्यास अन्तिम समयमा आइपुगेको छ । राजनीतिक दलहरू सहमतिका लागि भन्दै विगत चार वर्षदेखि विभिन्न राजनीतिक खिचातानी र सरकार गठन/विघटनका अभ्यास गर्दै गए । मुलुकलाई सही राजनीतिक नेतृत्व दिन नसक्ने व्यक्तित्वको अभावका कारण यो राजनीतिक गन्जागोलको सिकार हामी भइरहेका छौँ । सहमति हुन बाँकी रहेका विषयमा दलहरूले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अडानलाई छाड्नुपर्छ ।

प्रतिक्रिया