यो मन त मेरो नेपाली


नेपालको पहाडी बस्तीमा जन्मिएका बुद्धिबहादुर थापाले आफ्नो कर्मथलो हङकङलाई बनाए । समयको रस्साकस्सीमा हङकङे आइडीले यिनलाई नेपालबाट उता उडाएको थियो । हङकङमा बसेर थापाले फगत व्यवसाय मात्रै गरेनन्, सामाजिक कर्मलाई पनि दायित्व बनाए र उत्तिकै महत्त्वसाथ अघि बढाए । यही सामाजिक सक्रियताको कदर गर्दै त्यहाँको सरकारले उनलाई ‘मेडल अफ अनर’बाट सम्मान गर्‍यो । जीविका, संघर्ष अनि सम्मानका यी तीतामीठा अनुभूति उनकै शब्दमा :
मन भन्ने कुरा पनि अचम्मैको हुँदो रहेछ । शरीरसँगै जान पटक्कै नमान्ने । हङकङमा छु यतिखेर, मनचाहिँ नेपालमै छोडेर आएजस्तो छ । केही दिन हङकङमै स्थिर हो न भन्दा पनि मान्दैन । हङकङ मेरो कर्मथलो हो, यहाँ रहनुका आफ्नै बाध्यता छन् । नेपालचाहिँ मर्मथलो, जहाँ मन अड्किएको छ । नपुग्दो केही छैन, तैपनि हङकङका गगनचुम्बी व्यापारिक महलको छतमा एकैछिन उभिँदा पनि नेपालका डाँडापाखा देखिएलान् कि जसरी आश गर्छ यो नेपाली मन । आलिसान रुखा महलहरुलाई पन्छाएर आफ्नै गह्रा, पाखा र झुपडीहरु नचिरहन्छन् आँखाभरि । हङकङ र नेपालबीच सुविधाको खाडल त छ नै, यो विभेद निम्तिनुका कारण थुप्रै होलान् । तर पनि नेपाल प्यारो छ ।
म ‘नोस्टाल्जिक’ हुन्छु बेलाबेला । पहाडी बस्तीमा जन्मेँ, सन् १९५२ मा जेठो छोरा भएर । स्याङ्जाको पिखुबाघखोरमा बाल्यकाल बित्यो । अहिले बा–आमाले संसार छाडिसक्नुभयो । स्याङ्जाको देउराली पाठशालामा पढेँ । चौतारीमा, गोठमा राखेर नानीहरूलाई साउँ अक्षर चिनाइन्थ्यो । अहिले त गाउँमा माध्यमिक विद्यालय होला । वालिङबाट एसएलसी पास गरेँ, २०२६ सालमा ।
उच्च शिक्षाका सिलसिलामा मेरो नाता काठमाडौंसँग जोडियो । ठमेलमा थियो, डेरा । भाडा प्रतिमहिना २० रुपियाँ । पाँच पैसामा आउने एक कप चियाको स्वादले अहिले नि स्मृति मीठो बनाइदिन्छ । ठमेलको डेराबाट सरस्वती बहुमुखी क्याम्पससम्मको दैनिकी । बिकम त्यहीँबाट सकेँ । लोकसेवा भिडेरै सरकारी नोकरी पनि खाइयो, गृह मन्त्रालयमा नासुको पद । त्यसपछि अधिकृत भएँ । सरकारी प्रतिनिधि बनेर कलकत्तादेखि हल्दिया बन्दरगाहसम्म पुगिन्थ्यो ।
फूलकुमारी हङकङमै जन्मिएकी हुन्, जो अहिले मेरी पत्नी छन् । ससुरा ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो । बिहेचाहिँ नेपालमै भएको हो । त्यसको केही समयमै हामी हङकङतिर लाग्यौं । पहिलोचोटि पुगेको हङकङको वातावरणै बेग्लै । काम गरेर खान असजिलो थिएन । कामप्रति सबैको सम्मानभाव देखेर मलाई रमाइलो लाग्यो । सुविधा मात्र सबै थोक होइन, सकारात्मक सोचाइ महत्त्वपूर्ण कुरा हो । त्यही सकारात्मक भावनाले हङकङ यति विकसित भएको हुनुपर्छ । म हङकङप्रति आकर्षित भएँ । हामीले हङकङ आइडी पायौँ । पछि नेपाल आएर सरकारी नोकरी छाडियो । अनि बसाइ सिफ्ट भयो उतै । मेरा दुई छोरी र एक छोरा उतै जन्मे ।
सुरुमा हङकङको एयरपोर्टमा सुपरभाइजर भएर १८ महिना काम गरेँ । नेपालीहरूका लागि चाहिने डिंग बुट र ज्याकेटको व्यापार गर्न थालेँ । मनमा सुषुप्त अवस्थामा रहेको सामाजिक भावना पनि बिस्तारै झाङ्गिँदै रहेछ । हङकङे नेपालीको हकहितका खातिर सामाजिक दायित्व निर्वाह गर्न थालेँ । संस्था स्थापना गरियो– ‘हङकङ एकीकृत नेपाली समाज ।’ सन् २००४ मा खोलिएको संस्थाको उद्देश्य हङकङका नेपालीका विविध समस्या सुल्झाउनु हो । नेपालीहरुलाई इमिग्रेसन तथा भाषाको अप्ठ्यारोले अस्पताललगायतमा पर्ने समस्या हल गर्न यसले ठूलो भूमिका निर्वाह गरेको छ । कयौं नेपाली अनुगृहीत भएका छन् । हङकङ सरकारले पनि हाम्रो कामलाई महत्त्वका साथ हेरेको छ, जसले २० लाख डलरबराबरको भवन हाम्रो संस्थालाई उपलब्ध गरायो । त्यसबापत सरकारलाई वर्षको एक डलर भाडा तिरे पुग्छ, प्रशासनिक औपचारिकताका लागि मात्रै  । यद्यपि, नेपालीको कार्यक्रमका लागि हामीले सरकारसँग एउटा छुट्टै क्लब हाउसको माग पनि गरेका छौँ ।
सामाजिक कार्यमा सक्रिय भएबापत हङकङ सरकारबाट मैले सन् २०१० मा ‘मेडल अफ अनर’ को सम्मान पाएँ । हङकङमा त्यति ठूलो सम्मान पाउने नेपाली म नै पहिलो हुँ । म त्यहाँको प्रतिष्ठित पार्टी डिएनबीको सदस्य पाउने नेपाली पनि म नै पहिलो हुँ । हजारौँ नेपाली त्यस पार्टीका समर्थक छन् । हङकङमा अवसरको समानता छ । जातीय सद्भाव छ । सिस्टम राम्रो छ । नेपालका नेतृत्वकर्ताले सिक्नुपर्ने कुरा हुन् ती । त्यहाँ रहँदा हामी सबै नेपाली एक हुन्छौँ । जातजातिको विभेद हुन्न । अहिले नेपालमा जातीयताको नारा खुब उठिरहेको रहेछ, मनै खिन्न भएको छ । नेपालमा रहौँ या विदेशमा, सबैभन्दा पहिले नेपाली भएर बाँच्नुपर्छ । अब बन्ने नयाँ संविधानले यिनै कुरा सम्बोधन गर्न सके रमाउनेछन् नेपालीहरू । अलि प्रफुल्लित हुनेछन् अग्ला महलको टुप्पाबाट बारम्बार सगरमाथा देख्न चाहने हङकङे नेपाली मनहरू पनि ।
प्रस्तुति : सरोज ढुंगाना

प्रतिक्रिया