बन्दमा अभिशप्त सडकको महागाथा


(सडक स्वयंमा गतिमय हुन्न, मानिसका पाइला परेपछि गतिमान् देखिन्छ । तर, सडक अतिक्रमण गरेर पसल कबल खोल्नेहरू वा अर्काको पीरमर्काको ख्यालै नगरी सडकमा टायर बाल्ने र उफ्रनेहरूले सडकको त्यस स्वाभाविक गतिलाई अवरोध पुर्‍याउँदै आएका छन् । यसपटक सडक त्यस्तो लोकेसनका रूपमा आएको छ, जसले नेपाली भावना र आत्मामा गहिरो चोट पुर्‍याउन खोजेको देखिन्छ । मैले सडकलाई एक लोकेसनका रूपमा एक दिन यसरी नियालेँ ।)
त्यसरी दिनभरि सडकमा कराउँदा थकाइ लाग्दैन ? गर्मीले तातो कालोपत्रे सडकमा भतभती ज्यान पोल्दैन ? अनि सडक बन्द गरेर आफ्ना माग पूरा हुन्छन् त ? हालैको एक बन्दमा मैले एकजना बन्दकर्तासँग यी प्रश्न गरेको थिएँ, लमतन्न सुतेको खाली सडकमा उभिएर । उसले अलि कटाक्ष मिसिएको भावमा मलाई हेरेको थियो, कसो कुटिहालेन ? अहिले सोच्छु, यस्ता प्रश्नहरूले उसमा तत्क्षणका निम्ति क्रुद्ध आवेग मात्रै पैदा गर्‍यो, यसबाहेक खासै असर गर्न सकेन ।
यतिखेर म गट्ठाघर चोकमा छु, लमतन्निएर घाममा सेकिइरहेको कालो सडकको छातीमा । बन्दकर्ताहरूको कहाली लाग्दो चिच्याहटले वातावरणको गतिशीलतालाई तहसनहस पारिरहेको छ । सायद आफ्नो अधिकार खोसिएको अनुभूति गरिरहेछ सहर पनि, जहाँ तमाम सभ्यतालाई गतिशील किसिमले हिँडाउनु वा गुडाउनु उसको रहर होला । तर, माफ गर्नुहोला † सडकलाई आफ्नो बाबुकै बिर्ता ठानेर गरिने चर्को बन्दले यो दमको रोगले थलिएको असमयमै बुढिँदो युवकजस्तो भएको छ । कुनै पनि सभ्य मनुष्यले भित्रैदेखि आलोचना गर्नुपर्ने खालका यस्ता बन्द बेलाबखत यमदूत जस्तै प्रकट हुन्छन् र बाटोमा जसलाई देख्यो उसैलाई भकुर्छन् । अहिले सडक प्रदर्शनको उन्मादको सिकार भएका छन् मिडियाकर्मी ।
खासमा यो लगातारको बन्द हुनुअघि म सवारी र सडक अनि तिनमा हुने आवतजावत जति झ्याउ लाग्दो अरू केही हुँदैन भन्ठान्थँे तर सडक एक रंगीन लोकेसन पनि हो । बन्दका बेला सहरका ‘शक्तिशाली’ भनिने मानिसहरूदेखि ग्रामीण भेगका ‘निमुखा’ र ‘अशिक्षित’ हरू पनि अचाक्ली पीडित हुँदारहेछन् । नेपालमा ठूलो ओहोदाको मान्छे भन्नेबित्तिकै सानासँग हत्तपत्त नबोली गजक्क परेर बस्ने गर्छन् । प्रदर्शनले थलिएको सडक मात्र त्यस्तो ठाउँ हो जहाँ ओर्लेका भुँडे भलाद्मीहरू ‘साना र मरन्च्याँसे’ नागरिकहरूसँग मज्जाले गफिन्छन् ।
तर, सडक त शरीरका नसाजस्तै हुन्, नसाले शरीरमा रक्तसञ्चार गरेजस्तै सडकले सहरमा, गाउँमा आवश्यक कुरा पुर्‍याउँछन् त्यहाँ भएका मानिस वा चिजवस्तु बाहिर लैजान्छन् ।
औपचारिक रूपमा नेपालमा युद्ध त समाप्त भएकै हो तर एक महिनायता काठमाडौं सहर डुलिरहँदा प्रश्न मनमा उठ्छ– के हामीमाथि आक्रमण हुँदै छ ? विभिन्न राजनीतिक माग राखेर कसैले बन्द आह्वान गरेकै साँझहरूमा बसपार्कमा भेटिएको भिड एकैपटक गाडीमा कोच्चिएर, तिनका छतमा बसेर यात्रा गरिरहेछन् । मानौँ, उनीहरू आपत्कालमा यात्रा गर्दै छन् । दिनभरको बन्दमा प्रदर्शनकारीको उफ्राइले तातेको सडक साँझ एकाएक चिसिन्छ र गाडीको बत्तीको मधुरो प्रकाशमा केही मिटर परसम्म देखिन्छ । सडक बन्दमा एउटै मात्र गाडी पाइयो भने पनि बडो त्राण मिल्दोरहेछ । दिनभरको तनावले थाकेका मान्छेसँगै यात्रा गर्छ निराशा, सपना, अहंकार, तनाव । लाग्छ, उनीहरू जसरी पनि सहरबाहिर निस्कन आँटेका छन् ।

राजनीतिले हामीलाई अराजकतातिर धकेलेको छ र हामी विवेकहीन भइदिएका छौँ । जतिसुकै नचाहे पनि सडक बन्द, अव्यवस्था, अभाव र अराजकता हाम्रो गरिब दुनियाँका विशेषता बनेका छन् । कानुन हाम्रोमा पनि होला तर यहाँ अनधिकृत राजनीति गर्न मिल्छ, अनधिकृत बन्द गर्न मिल्छ, बन्दमा हिँडेका गाडी तोडफोड गर्न मिल्छ, पत्रकार कुट्न मिल्छ र त्यो सबै गरेको कुरा पत्रिकामा लेख्न पनि मिल्छ । खासमा तेस्रो विश्व भनेकै कोचाकोचमा पर्ने, कुटिने र थिचिने अवस्था हो । डिजेलको अभावले गाडीहरू कम चलेका बेला सार्वजनिक बसमा टनाटन मानिस हुन्छन्, भित्र र छतमा पनि । सबैलाई कतै न कतै जानु हुन्छ । तर, यो सडक बन्दमा त्यतिका ‘जानेहरू’ कता हुन्छन् होला ? सडक त खाली हुन्छ । चर्को घामको सामना गर्ने २/४ अराजक हुलबाहेक कोही पनि भेटिन्न ।
००६ को अप्रिल क्रान्तिपछि मुलुकमै सबैभन्दा बढी कतै लोकतन्त्र आएको छ भने त्यो सडक नै हो । यसलाई लोकतन्त्र भन्ने कि कोलतन्त्र ? कसैले पनि गाडी चलेका बेला ट्राफिक नियम पछ्याउँदैन । बन्दको बेला त कुरै नगरौँ, अराजक भिड परे ट्राफिक नै कुट्न लम्किन्छ । ऊ गाडीको सिसा र डिभाइडर त के मान्छेको टाउकै फुटाउँछ । यसरी मात्र ऊ शान्त हुन्छ ।
घुम्दै थिएँ । एकजना बाइकवाला आयो, टाउकोमा रातो कपडा बाँधेका एक झुन्ड बन्दकर्ताले महान् वीरतापूर्वक बाइकको साँचो खोसिदिए । बाइक चालकले याचना गर्‍यो । झुन्डले बाइक लडायो । चालकलाई लछार–पछार पार्‍यो, उसको मुख धुलोमा जोतियो । मुखमा धुलो छिरेको पत्तो नपाएपछि उसले हतारमै सर्टको बाहुलोले ओठ र जिब्रो पुछ्न थाल्यो । ऊ ओ हेनरीको कुनै साह्रै व्यंग्यात्मक कथाको एउटा दु:खी पात्रजस्तै थियो । आफ्नो बिग्रेको मुख झन् बिगार्दै, थुक्दै थियो ऊ । उसको अनुहार म पढ्न सक्थेँ– ऊ बन्दको अवज्ञा गर्दै खाली सडकमा बाइक हुँइक्याएकोमा खुबै पश्चात्ताप गरिरहेको थियो । यसबाट जनजातीय बन्दकर्ताले पहिचान त पाए तर आततायीको पाए, राज्य त पाए, अराजकताको पाए, सन्तुष्टि त पाए, हिंसाको पाए । बन्दको खाली सडकमा यात्रा गर्नेहरूको अनुहारमा देखापर्ने किसिम–किसिमका हैरानी, बेचैनी र चिडचिडाहटको अध्ययन गर्ने हो भने छिट्टै सपना देख्ने र छिट्टै दुर्घटित हुने मध्यमवर्गीय नेपालीको स्वभाव थाहा लाग्छ । सपना बोक्नेहरू सडकमै हुन्छन् र सपना देखेरै आत्तिनेहरू पनि भेटिन्छन् ।

पहिले सबै जातजातिका मानिसले गर्ने लोकतान्त्रिक आन्दोलनमा म पनि हुन्थेँ, थाहै नपाई यहाँ लोकतन्त्र आइसकेछ । अनि, तत्कालीन राजासँग माग्न नसकिएका कतिपय अधिकार अहिले विचरो लोकतन्त्रसँग माग्न थालिएछ । यसले खुट्टा उठाएकै छैन, ठोकतन्त्रले फणा उठाइसकेछ । यही सडक हो, उही सडक हो । आन्दोलन गर्नेहरू विभिन्न जातका छन् । उनीहरूको जीवन–लय र समय कहिल्यै बदलिएन । कुनै जातीय समूहको आह्वानमा सडकमा उत्रिँदा नगरजीवनको लय बदलिएको छ । म हरेक दिन तिनीहरूका नाचगान र र्‍यालीहरूमा पुगेको छु । यिनका भीडमा च्यापिएको छु । यी आफ्ना माग सम्बोधन नभएसम्म सडकमा आइरहने भन्छन् । यी आफ्नो पहिचानका लागि जे गर्न पनि तयार छन् । तर, बिस्तारै तिनको पहिचान गुमिरहेको तिनलाई पत्तो छैन । सायद त्यतिबेला पत्तो पाउनेछन्, जतिबेला छिमेकी सेनाका बुट र बन्दुकले यिनको नयाँ पहिचान देला ।
बन्दकर्ताको उपस्थितिको असर भयानक छ । जीवनका सुमधुर लय ठप्प रोकिएका छन् । सहमतिको राजनीति गरेर ज्ञानेन्द्र शाहको राजतन्त्र समाप्त गरेका यी बहुदलीय वीरहरू आफ्ना साथीसँग वार्ता गर्न सक्दैनन् । तिनमा उन्माद र केबल उन्माद छ ।
जातीय राज्य मागेर आन्दोलन गर्ने दलले के सोचेका होलान् ? राज्य चलाउनेका शक्ति, सपना र संविधानमा ती माग अटाउने अनि जारी गर्ने कर्मको कुन दोभानमा भेट होला ? एक्काइसौँ शताब्दीको जनवाद के जातीय जनवाद थियो ? बन्दकर्ता भन्छन्– हो, त्यही नै थियो । जाति र वर्ग यौटै हो ? बन्दकर्ताका मुखियाहरू भन्छन्– हो एउटै सिक्काका दुई पाटा हुन् । के सैद्धान्तिक राजनीति र वैचारिक द्वन्द्वको युगलाई हाम्रा राजनीतिका नायकहरूले त्यागेकै हुन् ? प्रदर्शनकारीहरू छाक जुटाएर आएका देखिन्छन् तर सर्वहाराको छाक जुटेको हुन्न । उसले काम गर्न नपाए उसका लालाबाला बेलुकी भोकै पर्छन् । सर्वहारा वर्गका भनी दाबी गर्ने हाम्रा सत्तारुढ कामरेडहरू खलखल पसिना बगाउँदै सडकमा हिँडिरहेको सर्वहारा देख्तैनन् । आफ्नो झन्डा उठाउनु नै तिनलाई पर्याप्त हुन्छ ।

सडकमा यात्रा गर्दा गरिखाने वर्गका मानिसहरूमा एक भयानक पीडा र थकान देखेँ । मलाई लागिरहेको छ, शिक्षित बेरोजगारकै कारण लोकतन्त्र आएको हो । त्यो जमात जो हरेक बन्दमा देखिन्छ, उनीहरूलाई व्यवस्थापन गर्न नसक्ने हो भने यही जमात लोकतन्त्रका लागि चुनौती र खतरा बन्नेछ । यो व्यवस्था बनाउने पनि तिनै हुन् र बिगार्ने पनि । दलहरूले राजनीतिक खिचातानी मिलाएर मात्रै लोकतन्त्र बाँच्छ भनिरहेका छन् । त्यो फजुल तर्कबाहेक केही हुन्छ ? प्रदेश, जात–जातिका नाममा भइरहेका बन्द र खिचातानी पनि लोकतन्त्रका लागि ठूलो खतरा र चुनौती नै हुन् । माओवादीले ‘महान् जनयुद्ध’ र अन्यले ‘हिंसात्मक’ भन्ने सशस्त्र आन्दोलन सुरु भएयता दुर्गम नेपाली गाउँहरूले नेपाली मानसिकतामा त्यस्तो छवि बनाएका छन् जुन अन्तर्राष्ट्रियस्तरमा हालैका वर्षहरूमा युद्धको चपेटामा परेको अफगानिस्तान जस्तै छ ।
नयाँ संविधानमा लेखिनुपर्ने भनी तय गरिएका परिवर्तनका एजेन्डा कम बेसी सबैसँग छन् । तर, अहिले ‘इतिहास’ बनाउने काम कुनै जिम्मेवारीको झोला नभिरेकाहरूले गरिरहेका छन् । ०६२/०६३ को आन्दोलनमा जुन मानवसागर उर्लियो, त्यो संसारलाई नै चकित तुल्याउने नेपाली आश्चर्य थियो र यो ठूलो सागरको एउटै एजेन्डा थियो– संविधानसभाको चुनाव । तर, त्यही मानव सागरका कारण बनेको संविधानसभाले ‘संविधान घोषणा’ गर्ने दिनसम्म आइपुग्दा फेरि विस्फोटन भयो, त्यो राजधानीमा मात्र केन्द्रित रहेन, उपत्यकाका बाहिरी सबै सहर आन्दोलित भए । उसबेला जनताले जिते, अब कसले जित्ने हो थाहा छैन ।
हामी जुन प्रकृतिमा जन्मिएका छौँ, त्यो थुप्रै उच्छृंखलता, नश्लवादी सोच र राजनीतिले बिगारिदिएको परिस्थितिको मिश्रण हो । त्यसैले यो जातीय आन्दोलन पनि जिनकै करामत हो । आज तपाईं कहाँ, कुन मोडमा र लयमा हुनुहुन्छ ? एकचोटि पल्टाउनुस् त हृदयको डायरी † यो ठाउँमा आइपुग्न तपाईंको जति योगदान अरू कसैको पनि छ । १९ दिने जनआन्दोलनमा कतै छाडेर आएका पुराना दिनहरू तपाईंका आँखामा चलचित्रको पर्दामा झैँ गतिशील भएर बग्नेछन् । सम्झिनुस्, बिगतको आफ्नो भूमिका, साथीभाइको साथ । ती पुराना सम्झना र बितेका यादहरू मानिसका दीर्घ र स्थायी सहयात्री हुन् । पुराना दिनहरूले आज ‘प्रभावित’ गरिरहेका छैनन्, साथ हिँड्न, एउटै मुठ्ठी कस्न ? फेरि किन जातीय लडाइँ ? यो घृणाको वीजारोपण ?

सडक आफैँमा स्वतन्त्रताको प्रतीक हो, जसले मलाई महँगा जुत्ताले मात्र टेक भन्दैन, करोडौँका चारपांग्रे विमान मात्र कुदाऊ भन्दैन । काला खुट्टामा पसिना कटकटिएर धुलो टाँसिएका हात्तीछाप चप्पल र बीसौँचोटि पन्चर टालिएको साइकलमा तरकारी घिच्याएर छाकको जोहो गर्ने ‘भैया’ लाई पनि उत्ति अधिकार दिन्छ यसले । तर, किन सडकलाई आफ्नै बिर्ताजस्तो गर्छन् संगठनहरू ? बन्दका नाममा ‘भैया’ र मजदुरकै कमाइ खाने अधिकार खोसेर आखिर कस्तो अधिकार स्थापित गर्न चाहन्छन् ? दलहरू सधैँ सडकलाई ठाडो पारेर शक्तिमा पुग्ने भर्‍याङका रूपमा प्रयोग गर्छन् । लाग्छ, सडक कुटिल राजनीतिक क्षेत्र हो । सडक बन्दको त्यस भिडमा दुई कुरा देखिए– बितेका केही वर्षमा साधारण नेपालीहरूमा तथाकथित ठूलाबडाहरूको बल मिच्याइँको प्रतिवाद क्षमता र सडकको अराजकता । बन्दकर्ताको अराजक उत्तेजनाका अगाडि यी सडकयात्रीको अनुहारमा म देख्छु– निष्कृयता र निष्पक्षता छ, भावुकता छ, हिजो सँगसँगै हिँडेको सडकको धमिलो तस्बिर छ ।
यो भूगोल, यहाँका खोलानाला, यहाँको जलवायु, सबै हाम्रो हो । तर, हामी साना हुँदै र खिइँदै गइरहेका छौँ, आखिर केका लागि ? दुई थान गुप्ता, दुई थान थारू, दुई थान तामाङलाई छोटे राजा बनाउनका लागि ? के गरिब गुप्ताको पसिनाको कुनै मूल्य हुनेछ ? के उत्पीडित थारूको पहिचान विजय गच्छदारले बोक्छन् ? आङछिरिङको सपनामा भरिया शेर्पाको ढाडको मूल्य हुन्छ ? हुन्छ भने यो सडक तातिरहोस् ।

प्रतिक्रिया