विषको औँठी

मलाई घेरेर छोड्दै छोडेन हुलले । भित्ताको सेतो तुलमा मैले हस्ताक्षर नगरी उम्कनै पाइनँ । स्वतन्त्रताको धर्ती टेकेका छन् खुट्टाले । खुलापनको वायु निलेका छन् सयौँ रक्तनलीले । उदारताको विशाल आकाश पर्गेलेका छन् परेलीले । तैपनि, जुलुमको हार हुन पाएको छैन ।
घेरिएर फेरि मैले तुलमा हस्ताक्षर गर्नै पर्‍यो । मेरा सपनाको तीर हनाइलाई मैले कसरी निरन्तर खेपिरहनु होला । मेरा विपनाका लम्काइलाई मैले कसरी थामथुम पार्नु होला । तैपनि, दोबाटोका तुलहरूमा हस्ताक्षर नगरी लर्कन पाउँदिनँ म ।
जानेदेखि नै यो खेलमा मलाई घिच्याइमुन्टाई गर्न छोडिएको छैन । हजार सपनालाई कतै अर्कै ढंगले छोपछाप गरे पनि भिन्न छनकमा हामीलाई तानिएकै छ । सयौँ भुइँ – सत्यलाई थैलीमा थुनेर मेरा अशक्त बोलीलाई एकपटक फेरि हस्ताक्षरको थाङ्नामा बेरबार पारिएको छ । जेसुकै होस् मौलिकताको ।
मात्र भरमार उपस्थिति हुनुपर्‍यो । सक्कली वा सही हस्ताक्षर जाँच्ने कुनै विज्ञको दर्बिलो उपस्थिति त्यहाँ बसेकै हुँदैन । केही मिटर कपडामा उतारिएको नामले कसरी सगर्व मूल्यलाई आँक्न सक्छ र †
कुनै विचारको निफननाफन नगरी भाषाको गुलियोमा कसरी ठोकिहाल्नु ल्याप्चे † कुनै चिन्तनको केलाइकुलाई नगरी कसरी बूढीऔँला तेस्र्याइहाल्नु †
यी दुवै सत्यलाई आजका दिनमा बढ्ता फुकफाक भइरहेको विश्वास जतासुकै भनिँदै छ । कुनै अट्टहास वा कुनै मुसुमुसुको वाचाल तालमा मेरा हस्ताक्षर तान्न छोडिएको छैन ।
हस्ताक्षरको जोहोमा जुटेका हुल हेर्छु । बिसौँ वर्षदेखि ती हाते अक्षर मबाट थुनिएको छ । मलाई भन्ने एउटा, गर्ने बेग्लै व्यवहारका कलिला पात देखाउन छाडिएको छैन । मैले हेरिरहेको घामको किरण साटफेर गर्ने हुल छ बेपत्तैसँग । मैले निलिरहेको पानीको पौष्टिक ओसलाई अनेक वादका मानापाथीमा भर्न लागिपरेका हुलले आफ्नो तुलमा कोर्न लाउँछन् मेरो नाम ।
तुलले केही मूल्य निलेको हुन्छ ।
मेरो हस्ताक्षरमा एउटा ऊर्जा आएको ती अनुहारको अदृश्य अर्थ हो । सिंगै सम्प्रदाय वा जातिको उर्लिरहेको भिडजस्तो–एउटा अशुद्ध हस्ताक्षरमा टाँसिएको हुन्छ ।
एक छेउदेखि अर्को छेउसम्म टाँगिएको तुलले धेरै अर्थ बोकेको भन्दिनँ म । चर्चेको परिवेश नै सबभन्दा मूल भाव हो ।
तुल नितान्त आशावादी धोक्रो हो ।
म त्यो धोक्रोको चेपमा धेरैपटक परेको छु । सतहहीन कुरा नगरियोस् । मेरा औँलाबाट नाम खोस्न बसेका लडाकु अनुहारको अनुनयभन्दा पनि आवेगको बोली दुवै ओठमा साँचिएको हुन्छ ।
यी परिवेशमा मैले सरक्क जानुको विकल्पै छैन । के यो अपरिहार्य हो † बोलीले हट्टाकट्टा ठहर्‍याइरहेको साइनो हस्ताक्षरले लुरे, लुते र ल्वाँठ हुने पनि त होइन । तर, हस्ताक्षरको उरुङखातमा ठेक्कापट्टा हुने तथ्य यी लहरे इतिहासका केही प्रमाण हुँदै हुन् । एउटा भुक्तभोगी परेँ नि म त ।
जुन दिन मैले सेतो तुलमा नाम टिपाएँ । ती धेरै नाउँहरू सँगै मेरो परिचयले न्याय कति पायो– मेरो कुनै दाबी छैन । अन्यत्र विरोधको लुकामारी, बेस्सरी हुन थालेपछि फेरि एकपटक मैले नाम लेखाएँ ।
लज्जावन्ती छ रे यो सम्बोधन ।
तुलमा सही गरेर छाती तन्काउने आँट कहिल्यै भएन तर पनि परिबन्दमा परिहालिन्थ्यो मज्जैले । मन नजाऊँ भन्थ्यो, हात तानिन्थे । बबुरो भएर घिसिपिटीमा परिहालिन्थ्यो ।
अचेलका बाटाहरू माग र धर्नाले लहलहाएका लाग्छन् । हरेक मोड र चोकमा आवाजभन्दा अक्षरको हैकम अरूबाट उतार्न जुटेकाहरू भेटिन्छन् बेस्सरी । जितेको उल्लासभन्दा भेला हुनुको सार्थकतामा पलेँटी मारेका भेटिन्छन् जहिल्यै ।
पाइला कतातिर सार्नु ?
‘हामीले पल्लो डाँडाको पानीलाई वर्षभरि छाड्ने, हिउँदमा थुन्ने वैज्ञानिक नारा उरालेका छौँ † तपाईंको हस्ताक्षर चाहियो †
यस्ता परे आजका माग †
पर्चाभन्दा सुकिला कुरा । दूधभित्रको घिउलाई बखानेर बकेर्नो गाई बेच्नेहरूलाई थाहा नहोला– हस्ताक्षरको पीडा । हरिया पात देख्नेबित्तिकै बेसारको रङ हरियै हुनुपर्ने निष्कर्ष अचेल सडकमा आइहाल्दैन ।
तर, घेराबन्दीमा परेको मचैँ महाभारतका अन्योलग्रस्त पात्र र आजका अलमल अनुहारमा तुलना गर्न सकिरहेको छैन । सडकका सबै मोडमा हस्ताक्षर गर्न टाँगिएका तुल छन् ।
ती सेता र सफा लाग्छन् ।
राखिएका माग जे–सुकै हुन् । जति नै मैला र फोहोरी हुन् । सफा ब्यानरले तयार पारेको परिवेशलाई उज्यालोले प्रिय बनाउँदो रहेछ ।
नाघ्न तयार परेको पैतालामा केही शुभेच्छा भन्दा पनि दुर्वाच्यहरू मैले भेटिरहेको छु ।
ठाउँ–ठाउँमा मानिसहरूले देशको अस्तित्वलाई बीच बाटोमा उभ्याएर हाम्रो हस्ताक्षरको अनादर गरे । औँलाका माझबाट च्यापिएको कलममा मानिसको समग्रता पोखिएको हुन्छ । हस्ताक्षर गर्ने ठेलाइमा परेका हामी चारै दिशाका मनमा हरेक पटक टाउको फुकाइरहेकै छौँ ।
सपनाका फूल र श्वास बन्धकी राखी हस्ताक्षर गर्ने लस्करमा उभिइरहेकै छौँ । दिनहुँको ओरालो र घामलाई चिसो जुन ठान्ने मानसिकताको निदान किन हुन नसकेको ?
चुपचापलाई परिभाषामा लेख्नु छ ।
‘सुन्नु भो, बिर्सिएर बाँच्न सिक्नोस् †’
यी प्रवचन हरेक दिन सुन्न पाइन्छ । एकै खालको हुरी बतास र चट्याङको उपहारमा आज मैले रमाउनु पर्नेछ । मैले गरेको हस्ताक्षरले आफ्नै औँलामा विषको औँठी बेह्रिन आयो । अकल्पनीय चैँ नभनूँ तर वाञ्छित भने होइन, हुँदै होइन ।
बाटोमा मानिसहरूले टाँगेका तुलहरूमा हस्ताक्षर गरिरहेको छु । साँझलाई कवितामा उतारेर झुम्नेहरू छन् । बिहानलाई गीतमा सुसेलेर रमाउनेहरू छन् ।
जीवनका खोपिल्टामा समयको ठ्याक उही छ, उस्तै छ निरन्तर खेलिरहेको । भुइँझारको कुरो नगर्नुस्– गलामा बसिरहेको हरियो दुबोले तपाईंको रूपमा निखार ल्याएकै छ ।
मलाई हस्ताक्षर गरेको पीडा यसरी हुन्छ ।
आफ्नै छाया रेटी–रेटी म सिकार मार्न पोख्त भएकै होइन । आफ्नै आवाज घोची–घोची म निसानामा सक्षम भएकै होइन । आफ्नै कम्पन रोकी–रोकी आवाजको सफल परीक्षक भएकै होइन ।
मलाई हस्ताक्षर गराइयो ।
नभनिएको बोली र लेख्न बाँकी अक्षरको अनुमानित भावलाई तर्क दिने न्यायाधीशको जित कहिले हुनसक्छ ? हस्ताक्षर गरेर फर्केपछि मैले आफ्नो टेकिएको भुइँलाई माया गर्न थालेको छु । थाहा छैन यो एक बित्ताको जमिनलाई कति मूल्य खेपेर मैले भोलिका दिनमा जोगाउनु पर्नेछ ।
हस्ताक्षर गरेर म फर्किएँ ।
आँखामा त्यही बोध छ । कानमा त्यही गुञ्जन छ । चेतनामा त्यही उभ्याइ छ । विजयको औँला ठड्याइले भोलिका भालेका थुतुनाबाट ‘कुखुरी
काँ ऽऽऽ †’ थुनिएला ?
सबभन्दा निरास र अपेक्षाको अन्तिम शब्दको झम्टामा परेको छु म । कोक्रामा सुतेको बूढो मान्छेले आमाको स्तनपानको चाहना गरे ? के प्रकृतिको सही न्याय आउँछ त ?
कृपया, साक्षी राखी हस्ताक्षर गर्नुहोला †

प्रतिक्रिया