युद्धबीचको यात्रा…

मेरा मन परेका नेपाली लेखकका किताबमध्ये निबन्धकार गोविन्द वर्तमानको सोह्र साँझहरू पनि एक हो । यस किताबमा माओवादी सशस्त्र युद्ध प्रभावित रोल्पाका केही स्थानमा गरिएको १६ दिने यात्राको इतिवृत्तान्त छ । पुस्तकको अघिल्लो कभरमा यसलाई युद्धका असरहरूबीच यात्रा भनिएको छ । यो यात्रा संस्मरण बिक्रमाब्द २०६१ सालमा प्रकाशित भएको हो ।
कस्तो उत्प्रेरणामा मैले यो किताब पढ्न पुगेँ ? यसको रोचक पाटो छ । यो किताबबारे केही साहित्यिक मित्रहरूबाट सुने पनि यसलाई पढ्नै पर्छ भन्नेमा म गम्भीर भइसकेको थिइनँ, जबसम्म म २०६८ मा पाटनको लिटेरेरी जात्राको युद्धसाहित्य विषयक अन्तरक्रियाको श्रोता भइनँ । अन्तरक्रियामा आफ्ना विचार राख्न तीनजना साहित्यिक व्यक्तित्व आमन्त्रित थिए । लेखक खगेन्द्र संग्रौला, गोपाल अस्क र अर्का मणिपुरका लेखिका । कार्यक्रमको सञ्चालक लेखक पत्रकार नारायण वाग्ले थिए । नेपाली वाङ्मयमा युद्धसाहित्यको स्थिति कस्तो छ ? कस्ता किताब लेखिइरहेका छन् ? भन्ने प्रश्नमा लेखक संग्रौलाको जवाफले मलाई आकर्षित गर्‍यो । दुरुस्त यस्तै नहोला तर उहाँले फर्काउनुभएको जवाफको आशय सम्झन्छु – युद्धसाहित्यमा लेखिएका पुस्तकहरूलाई तीन श्रेणीमा बाँड्न सकिन्छ । पल्पसा क्याफेजस्ता पुस्तकहरू डाँडामाथिबाट युद्धलाई हेरेर लेखिएका हुन् । यस्ता पुस्तकमा पर्यटकीय दृष्टिकोण पाइन्छ । सोह्र साँझहरूजस्ता पुस्तकहरू युद्धलाई दसगजाबाट हेरि लेखिएका हुन् । तेस्रो श्रेणीका पुस्तकहरू भने युद्धको आँधीमाझबाट लेखिएका छन् । पहिलो श्रेणीका पुस्तकमा युद्धको वास्तविकता झल्कँदैन, तेस्रो श्रेणीको पुस्तकमा वस्तुनिष्ठताको कमी रहने सम्भावना रहन्छ भने दोस्रो श्रेणीको पुस्तकमा सन्तुलित दृष्टिकोणको सम्भावना रहन्छ । उहाँले उदाहरणार्थ अगाडि सार्नुभएका पुस्तकका नामहरू मैले यहाँ सम्झिन सकिनँ तर संग्रौलालाई सुनिसकेपछि म सोह्र साँझहरू पढ्न व्यग्र भएँ ।
मानवशास्त्री सुरेश ढकाल, लेखक खगेन्द्र संग्रौला र गोविन्द वर्तमान सोह्रदिने यात्रामा रोल्पातिर निस्कन्छन् । यात्राका बिसौनी, युद्ध प्रभावित ठाउँहरू र समग्र भू–दृश्यको मनोरम वर्णन, युद्ध प्रभावित मानिसको सकस, पीडा र त्यसले निर्माण गरेको मनोविज्ञानको सूक्ष्म चित्रण किताबमा पाइन्छ । युद्धले निम्त्याउने अत्यासलाग्दो परिवेशको बेजोड चित्रण कवि कृष्ण सेन ‘इच्छुक’ लाई बेपत्ता पारिएको स्थितिमा उनको घर पुग्दाको वर्णनमा अनुभूत गर्न सकिन्छ ।
‘….सुनसान आँगनमा केही छिनपछि एउटी किशोरी आफूलाई लिएर ढोका बाहिर आइपुगिन् । उनको आगमन समुद्रबाट बिस्तारै उदाएको सूर्यजस्तै थियो । त्यस सूर्यको प्रकाशले दु:खद् जिज्ञासाको घना अँध्यारोलाई परास्त गर्ला भन्ने म अनुभव गरिरहेको थिएँ । सबैको अनुहारमा नजानिँदो उदासी लामखुट्टेझैँ भुन्भुनाइरहको देखिन्छ । सुरेश क्यामेरा बोकेर निभेको बत्तीजस्तो अनुहारमा उभिएको छ । घरअगाडि आँगनमा सुनसानबाहेक केही छैन ।’
लेखक यात्रीहरूले कवि सेनको घरको आँगनमा पुगेर घरमा को हुनुहुन्छ ? भनी कराएको केही क्षणमा नौ कक्षामा पढ्ने कृष्ण सेन ‘इच्छुक’की भतिजी बन्दना सेन ढोकाबहिर निस्कँदाको दृश्यलाई लेखकले यसरी उतारेका छन् । त्यो प्रभावशाली स्केचले गहिरोगरि स्पर्श गर्छ । भतिजी बन्दनाको आफ्ना काका सेनको अत्तोपत्तो थाहा नपाएपछि, बुबाको निधन भएपछि, आमा अर्कैसँग गएपछि र आफ्नो थाप्लोमाथि दुई बहिनीहरूलाई हुर्काउनुपर्ने बाध्यता आइलागेपछिको वर्णन द्रवित गर्ने खालको छ ।
यात्राका क्रममा पुगेका स्थानको वर्णनमा दृश्यात्मक उपस्थिति छ । पाठकलाई ऊ पनि लेखकहरूसँगै रोल्पाका युद्धप्रभावित स्थानको यात्रा गरिरहेको भान हुन्छ । म आफैँ पनि पश्चिमको ती स्थानहरूमा नपुगेकाले किताब पढ्दा मनमा कौतूहल जागिरह्यो । अन्तरक्रिया, छलफल, भेटघाटमा वर्तमान मुखर देखिन्छ भने यात्राको दौरानमा गाडीभित्रचाहिँ प्राय: एकालापमा निमग्न देखिन्छ । गाडीभित्रको अनौपचारिक र स्वस्फूर्त कुराकानीका विषयलाई पनि विस्तारमा उठाइएको भए किताब अझ विविधतापूर्ण हुन्थ्यो भन्ने मलाई किताब पढ्दा लागिरह्यो ।
किताबमा धेरै युद्धप्रभावित मानिसहरूको उल्लेख गरिएको छ । कैलालीका सन्चीदेवी, शीतलीदेवी, कृष्णी र पार्वती तथा बाग्लुङका देवी, मैना र जसुदाजस्ता नारी पात्रहरूले भोग्नुपरेको सकस र तनावले युद्धले लामो समयसम्म नछाड्ने दुर्दान्त प्रभावका बारेमा धेरै भन्छ । लेखक युद्धजस्तो जटिल र संवेदनशील संघटनालाई हेर्ने दुवै अतिवादी दृष्टिकोणबाट बचेका छन् । युद्धलाई स्वयंमा कलाहीन द्वन्द्व नमान्ने वर्तमानले ‘पुस्तक परिप्रेक्ष्य’मा लेखेका छन्–
‘न्याययात्राका निम्ति अँगालिने माक्र्सवादी विचारले नवरसहरूको अस्तित्वलाई गरिमापूर्ण बनाउँदछ भन्ने मेरो बुझाइ छ । तर, मैले आफ्नो वरिपरि निरस वा एकरसका माक्र्सवादीहरू नै बग्रेल्ती देखेको छु । म तिनीहरूसँग जीवनमा जस्तै लेखनमा पनि सहमत हुन सक्दिनँ । मेरो यो लेखनमा यस प्रकृतिको असहमतिका रंग र छापहरू पनि देखिनेछन् । त्यसप्रति असहमत हुनेहरूको विपक्षमा उभिनुबाहेक फेरि पनि मसँग अर्को विकल्प छैन ।’
लेखक न माओवादीप्रति एकहोरो रुष्ट छन्, न त सरकारी पक्षप्रति । घटना र प्रवृत्तिमा आधारित लेखकको मूल्यांकनहरू वस्तुनिष्ठ प्रतीत हुन्छन् । सायद यही नै दसगजामा बसेर लेख्नेको अवसर र चुनौती हो ।
नेपाली वाङ्मयमा युद्धसाहित्य नयाँ क्षेत्र हो । विशेष माओवादी सशस्त्र युद्धपछि नेपाली साहित्यमा युद्धका विविध पाटाबारे लेख्ने क्रममा तीव्रता आएको देखिन्छ । तैपनि जे–जति लेखिएका छन्, मैले अत्यन्त कम पढ्न सकेको छु । अलिक अगाडिको कुरा गर्दा दौलत विक्रम विष्टको चपाइएका अनुहारहरू र पछिल्लो समयमा नारायण वाग्लेको पल्पसा क्याफे, महेशविक्रम शाहको छापामारको छोरो र गोविन्द वर्तमानको सोह्र साँझहरू नै हो । युद्धमा पिल्सिएका मानिस र तिनका परिवारजनले भोग्नुपरेका सकस र पीडालाई धेरै नजिकबाट छाम्न सोह्र साँझहरू समर्थ देखिन्छ । आख्यानकार नारायण ढकालले सही भनेका छन् :
यो पुस्तक गृहयुद्धको घाउमा निर्मित जीवनीहरूको स्थापत्य बन्न पुगेको देखिन्छ । एउटा यस्तो स्थापत्य, जहाँ असंख्य मानिसको पीडामा लेखक आफैँ सहभागी बनेको मात्र छैन, तथाकथित तटस्थताबाट माथि उठेर जागृत मानवताको धीरोदात्त पक्षधर हुन संघर्षरत छ । सोह्र साँझहरू दसवर्षे लामो जनयुद्धको एउटा सबल आँखीझ्याल बन्न सफल देखिन्छ ।
आफ्नो नियति गाँसिएको धरातललाई अत्यधिक प्रभाव पारेको माओवादी सशस्त्रयुद्धको अन्तरकथा र असरलाई बुझ्न सघाउने भएकाले मैले यो किताब मन पराएँ । निश्चित कालखण्डको सामाजिक इतिहास यसमा मिहिन तौरमा प्रतिबिम्बन भएको छ । कुनै किताब लेखकको अद्भुत कल्पनाशीलताको प्रयोगले ल्याउने रोमाञ्चकताका निम्ति मन पराइन्छ, कुनै किताब लेखकले आफ्नो वरपरको यथार्थलाई सूक्ष्म दृष्टिले बलियोसँग पक्रन सकेकाले मन पराइन्छ । सोह्र साँझहरू मैले दोस्रो कारणले मन पराएँ ।

प्रतिक्रिया