‘द लास्ट किस’ एक्लै


देशको राजनीतिक अवस्थाले निम्त्याएको बन्द–हडतालका कारण केही बढी लगानीका चलचित्र हलमा जान तर्सिइरहेका बेला साना बजेटका चलचित्र प्रदर्शनको इज्जत धान्न तम्सिएका छन् । थुप्रै चलचित्रले प्रदर्शन मिति सारिरहँदा यसपालि हलमा जाने रिस्क मोलेको छ, चलचित्र द लास्ट किसले ।
प्रचारप्रसारताका नै चर्चा र विवादमा तानिएको यो चलचित्र आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको हो । चलचित्रमा समेटिएका केही दृश्यप्रति सेन्सर बोर्डले कैँची लगाउनुपर्ने अडान राखेपछि यससम्बन्धी विभिन्न झमेला झेल्दै हलसम्म आइपुगेको चलचित्र उपत्यकासहित पोखरा, नेपालगन्ज, नारायणघाटलगायत देशका महत्त्वपूर्ण स्टेसनमा लाग्दै छ । अन्तत: बोर्डले सोह्र वर्षमुनिका बालबालिकालाई देखाउन नपाउने सर्तमा द लास्ट किसलाई प्रदर्शन अनुमति दिएको हो ।
निर्देशक बिबी फुयाँल भने चलचित्रका दृश्यमै आपत्ति जनाउनुपर्ने त्यस्तो केही नरहेको र समाजमा देखिएका अपराधका यथार्थ घटना यसमा समेटिएको जानकारी गराउँछन् । उनका अनुसार एउटी अबला नारीको वरिपरि चलचित्र घुमेको छ, जो अन्यायमा पारेर मारिएका पतिको हत्याको प्रतिशोध लिन चाहन्छे । यसका लागि उक्त नारीले गर्ने क्रियाकलापमार्फत चलचित्रको कथा अगाडि बढेको उनले सुनाए । प्रोमो हेरेकै भरमा चलचित्रलाई अनेकौँ निम्न ग्रेडमा राखेर प्रचार गरिएकामा आफूलाई दु:ख लागेको निर्देशक फुयाँलले बताए । त्यसैगरी, निर्माता राज शिरीषले पनि सानो बजेटको चलचित्र भएकाले यसरी प्रचार गरिएको हुनसक्ने दुखेसो पोखे । ‘सानो बजेटको चलचित्र भएकाले यसरी गलत प्रचार गरिएको होला,’ उनले भने, ‘तर, यसमा हाम्रो मिहिनेत ठूलो छ ।’ आफूहरूले दु:ख गरेर बनाएको चलचित्र भएकाले सफल हुनेमा ढुक्क रहेको उनीहरूले सुनाए । सुरेश चौधरी, उद्धव थापा, स्मिता थपलिया, सिर्जना राई, अनुशा राई, किरण बराल, सुमन राई र बोनी रोजालगायत कलाकार रहेको चलचित्रको
छायांकन युवराज खत्रीले गरेका हुन् । त्यसैगरी, राजेन्द्र चौधरीको द्वन्द्वनिर्देशन, गोविन्द राईको नृत्यनिर्देशन, सन्तोष राजवंशीको संगीत र राज शिरीषको कथा रहेको छ ।

प्रतिक्रिया