दैनिक डेढ लाख किलो पत्ती नष्ट

इलाम १२ जेठ । संघीय लिम्बूवान् राज्य परिषद्ले बुधबारदेखि आह्वान गरेको तीनदिने अरुणपूर्व बन्दका क्रममा दूध र चियाको गाडीसमेतलाई रोक लगाएको छ । चियाको गाडीलाई रोक लगाउँदा इलाममा दैनिक सरदर उत्पादन हुँदै आएको डेढ लाख किलो हरियो पत्ती नष्ट हुने अवस्थामा सिर्जना भएको छ ।

किसानले पत्ती टिपे पनि कारखानासम्म लानका लागि यातायातका साधन नचल्दा कारखाना नै बन्द भएका छन् । कारखाना बन्द भएपछि उत्पादित चिया समेत नष्ट हुने अवस्थामा पुगेको कन्यामका चिया किसान काजीमान कागतेले बताए । इलाममा सञ्चालनमा रहेका चिया कारखानाले दैनिक आठदेखि १० हजार किलोसम्म हरियो चिया प्रशोधन गर्दै आएको छ । कारखाना बन्द भएपछि मजदुरलाई समेत समस्या पर्दै गएको छ । चिया मजदुरको दैनिक अवस्थासमेत नाजुक बन्दै गएको छ ।
चिया टिप्ने समयमा चिया नटिपे उत्पादन घट्ने भएकाले किसान थप चिन्तित भएका छन् । ‘चिया टिपिन्छ तर के गर्नु, बिक्रीका लागि लैजान न गाडी छ, न कारखाना नै चलेको छ’ किसान कागतेले भने, ‘यसरी लगातार बन्द रहिरहे भोकभोकै मर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’
अरुणपूर्वको नौ जिल्लालाई लिम्बूवान राज्य कायम गर्नुपर्ने, जातीय पहिचानसहितको संघीय संविधान समयमै जारी गर्नुपर्ने लगायतका माग राख्दै संघीय लिम्बूवान राज्य परिषद्ले शुक्रबारसम्म लिम्बूवान बन्दको आह्वान गरेको छ । यसैबीच एकपछि अर्कोको लगातारको बन्दले इलामका तरकारी व्यवसायीसँगै उपभोक्ता मारमा परेका छन् । बन्दका कारण किसानले उत्पादन गरेको तरकारी समेत बिक्री हुन नपाउँदा उपभोक्तासँगै किसान मारमा परेका हुन् ।
प्रति वर्ष ४४ हजार तीन सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । ४ जेठदेखि विभिन्न संगठनको लगातारको बन्दले तरकारी किसान समस्यामा परेका हुन् । बन्दका कारण यातायातका साधन नचल्दा एकातिर तरकारी बजारसम्म आउन सकेको छैन भने अर्कातिर भएका तरकारीको मूल्यसमेत अकासिएको छ । इलाममा सरदर वार्षिक ७० करोड रुपियाँबराबरको तरकारी उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । बन्दका कारण तरकारी बजारसम्म पुर्‍याउन नसक्दा किसानले उत्पादन गरेको तरकारी अहिले बारीमै कुहिन थालेको किसानको गुनासो छ । बन्दले ग्रामीण भेगमा लाग्ने साप्ताहिक हाटबजारमा समेत तरकारी बिक्री हुन नसकेको नयाँबजारका मदन घलेले बताए । ‘उत्पादित तरकारी सबै बारीमै नष्ट भएर जान थसालेको छ, घलेले भने, ‘तरकारी बजारसम्म पु्र्‍याउन नसक्दा किसानलाई दैनिक लाखाँको घाटा भएको छ ।’

दूध किसान अन्योलमा

इलाम : विभिन्न जातीय संगठनबाट हुँदै आएको लगातारको बन्दका कारण इलामका दूध किसान मारमा परेका छन् । बन्दले इलामबाट दूध निकासीमा समस्या देखिन थालेको छ । ग्रामीण क्षेत्रबाट दूध निकासी गरिँदै आएकामा बन्दका कारण गाडी चल्न नसक्दा समस्या देखिएको हो ।
संघीय लिम्बूवान राज्यपरिषद्ले बुधबारदेखि आह्वान गरेको तीनदिने अरुणपूर्वका नौ जिल्ला बन्दका कारण इलामका दूध किसान थप मारमा परेका छन् । बन्दकर्ताले दूधको गाडीसमेत चल्न नदिएपछि यहाँका किसानले ठूलो घाटा बेहोर्नुपरेको छ । यसअघिका बन्दमा सहज बिक्री गर्दै आएका किसानले अहिलेको बन्दमा दूधबाट लाखौँको आर्थिक क्षति बेहोर्नुपरेको छ ।
बन्दले इलाममा दूधमा मात्रै दैनिक १० लाख ८० हजार रुपियाँ घाटा भएको छ । बन्दकर्ताले इलाममा चिया र दूध बोक्ने गाडी सञ्चालनमा रोक लगाएका छन् । इलाममा दैनिक करिब ३६ हजार लिटर दूध खपत हँुदै आएको थियो । तर, लगातारको बन्दले दूध निकासी गर्न नसकिएको दुग्ध विकास संस्था विराटनगर दुग्ध विकास आयोजनाले जनाएको छ ।
बन्दका समयमा बन्दकर्ताले दूधको गाडीसमेत चलाउन नदिएपछि निर्यात नभएका दूध कतिपय किसानले स्थानीय डेरीमा लगेका छन् भने कतिपयले घरमै खाएका छन् । दूध निकासी गर्न नसक्दा आफूहरूले दूध फाल्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । जिल्लाको फिक्कल, पञ्चकन्या, कोल्बुङ, बिब्ल्याँटे, पुवाखोला, शान्तिडाँडा, लक्ष्मीपुरलगायतका दुध चिस्यान केन्द्रमा किसानले दैनिक ३६ हजार लिटर दूध निकासी गर्दै आएका थिए ।
बिब्ल्याँटे दुग्ध विकास आयोजना बरबोटे र माईपोखरी आसपासका २१ दुग्ध उत्पादक सहकारी संस्थामार्फत दैनिक पाँच हजार लिटर दूध संकलन हुँदै आएको छ । (सौस)

प्रतिक्रिया