पश्चिमी राष्ट्रको दबाब औचित्यहीन : इरान

तेहरान, ११ जेठ । इरानको पारमाणविक गतिविधि सम्बन्धमा हुने वार्तामा पश्चिमी राष्ट्रले इरानमाथि दबाब सिर्जना गरे यसले कुनै नतिजा नल्याउने चेतावनी इरानले दिएको छ । इराकको राजधानी बग्दादमा इरान र पश्चिमी राष्ट्रका अधिकारीबीच इरानको पारमाणविक कार्यक्रमबारे छलफल सुरु हुनुअघि इरानी विदेशमन्त्री अलि अकबर सालेहीले बुधबार यस्तो चेतावनी दिएका हुन् । धम्क्याउने र दबाब दिने पश्चिमी जगत्को नीति ‘औचित्यहीन’ रहेको टिप्पणी उनले गरेका छन् ।
अमेरिकासहित युरोपेली संघसँग आबद्ध राष्ट्रले इरानमा जारी पारमाणविक गतिविधि आमविनाशकारी परमाणु हतियार निर्माणतर्फ लक्षित रहेको आरोप लगाउँदै आएका छन् । युरेनियम प्रशोधन कार्य बन्द गर्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि पश्चिमी राष्ट्रले इरानको पारमाणविक र वित्तीय क्षेत्रलाई लक्षित गरी विभिन्न खाले नाकाबन्दी लगाएका छन् । इरानलाई आर्थिक रूपमा धराशयी बनाउन पश्चिमी राष्ट्रले इरानी तेल खरिद कटौती गर्न विश्वभर लबिङ गरिरहेका छन् । इरानले भने शान्तिपूर्ण प्रयोजनका लागि परमाणु कार्यक्रम जारी राखिएको बताउँदै आएको छ । ऊर्जा उत्पादन र औषधोपचारको बन्दोबस्त मिलाउन परमाणु कार्यक्रम सञ्चालन गरिएको इरानको दाबी छ ।
अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरिरहेकाबारे टिप्पणी गर्दै सालेहीले भने, ‘प्रतिबन्ध थप गर्ने अमेरिकी कांग्रेसको तयारीले राम्रो सन्देश दिएको छैन । समस्या समाधानका लागि ‘सद्भावना संकेत’ प्रदर्शन गर्न अमेरिका अनिच्छुक रहेको यसबाट देखिएको छ ।’ अमेरिकाको यस्तो तयारीलाई ‘रणनीतिक भुल’ को संज्ञा दिँदै उनले समस्या बल्झिनुअगावै पश्चिमी राष्ट्रको ‘दूरदर्शी चेत’ खुल्ने आशा व्यक्त गरेका छन् ।
युरोपेली संघमा आबद्ध राष्ट्रले जुलाईदेखि इरानको कच्चा तेल आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । आफ्नो पारमाणविक गतिविधि नियन्त्रण गर्न इरानले ‘देखिने खालको कदम’ नचाले तेल आयात रोक्ने घोषणा नउल्टिने संघ सदस्यहरुले प्रस्ट पारेका छन् । (एजेन्सी)

प्रतिक्रिया