रोकियो कर्णाली र भेरीमा खाद्यान्न ढुवानी

नेपालगन्ज, ११ जेठ । बजेट सकिएपछि नेपाल खाद्य संस्थानले भेरी र कर्णाली अञ्चलमा तीन महिनादेखि खाद्यान्न ढुवानी गर्न सकेको छैन । ढुवानी नभएपछि पहाडी जिल्लामा खाद्यान्न अभाव भएको छ ।

कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा तथा भेरीको दैलेखमा खाद्यान्न अभाव भए पनि बजेट नहुँदा पठाउन सकिएको छैन । खाद्यान्न ढुवानीका लागि गत वर्षभन्दा आधा बजेट छुट्याइएका कारण समस्या उत्पन्न भएको संस्थानले जनाएको छ ।
संस्थानका प्रमुख शंकर सापकोटाका अनुसार अञ्चल कार्यालयमा करिब २५ हजार क्विन्टल चामल भए पनि ढुवानीका लागि बजेट नहुँदा पठाउन नसकिएको हो । सरकारले गत वर्ष करिब ८० करोड रुपियाँ खाद्यान्न ढुवानीका लागि छुट्याएको थियो । तर, यस वर्ष संस्थानले ४८ करोड रुपियाँ माग गरे पनि ३७ करोड रुपियाँ मात्र छुट्याएको थियो । बजेट सकिएको कार्यालयले जनाएको छ ।
समस्या समाधानका लागि करिब २५ करोड रुपियाँ छुट्याउनुपर्ने कार्यालय प्रमुख सापकोटाले बताए । हुम्ला, मुगु र कालिकोटबाट खाद्यान्नको माग आए पनि पठाउन नसक्दा ती जिल्लामा खाद्य संकट सुरु भइसकेको छ ।
संस्थानका अनुसार कर्णाली अञ्चलमा मौज्दात गरिएको खाद्यान्नसमेत सकिन लागेको छ । हुम्लामा पठाइएको १० हजार क्विन्टल चामलमध्ये १६ क्विन्टल मात्र बाँकी रहेको बताइएको छ । यसैगरी, जुम्लामा आठ हजार तीन सय ८० मध्ये पाँच सय क्विन्टल, डोल्पामा आठ हजार छ सय ६९ मध्ये एक हजार सात सय क्विन्टल, मुगमा १३ हजार पाँच सय ६८ मध्ये एक हजार क्विन्टल बाँकी रहेको छ । दैलेखमा ६ हजार चार सय ३८ मध्ये चार सय १९ क्विन्टल चामल मात्र बाँकी रहेको छ ।
सरकारले यस क्षेत्रमा दिँदै आएको खाद्यान्नमा समेत कटौती गरेको अञ्चल कार्यालयले जनाएको छ । मुगुमा १५ हजार पाँच सय ५० बाट घटाएर १३ हजार तीन सय क्विन्टलमा झारिएको छ । डोल्पामा १५ हजार सात सयबाट कम गरेर १३ हजार दुई सय, कालिकोटमा सात हजार नौ सयबाट घटाएर ६ हजार आठ सय, जाजरकोटमा चार हजार पाँच सयबाट घटाएर दुई हजार चार सय सय र दैलेखमा छ हजार सात सयबाट घटाएर छ हजार छ सय क्विन्टल खाद्यान्न पठाइएको छ ।
जुम्ला र हुम्लामा भने खाद्यान्नको मात्रा बढाइएको छ । जुम्लामा नौ हजार चार सय ५० बाट बढाएर १० हजार ५० र हुम्लामा नौ हजार सात सयबाट बढाएर नौ हजार आठ सय क्विन्टल पठाइएको छ ।

प्रतिक्रिया