कार्की किचनकी सिइओ

उनलाई अरूले सम्हालेको भान्साप्रति एकरत्ति पनि विश्वास छैन । बिहान फुरफुर गर्दै आफँै पुग्नुपर्छ भान्सामा । हातमा एउटा फुर्के ब्याग झुन्डिइरहनु पनि उनको पहिचान बनिसकेको छ जसमा मोबाइल, अलि अलि पैसा र कागजपत्र हुन्छन् । सर्वोच्च अदालतका पूर्वशाखा अधिकृत मदन कार्कीकी पत्नी हुन् ईश्वरी कार्की तर यतिबेला उनको त्यो पुरानो परिचयभन्दा वर्तमानको पेसाले उनलाई चिनाएको छ । पिंगलास्थानको वारि गल्लीभित्र एउटा घर छ । धेरैलाई नलाग्न सक्छ– त्यहाँ पारिवारिक वातावरणमा धेरै प्रकारका खाना पाइन्छ । अझ प्रत्येक महिनाको पहिलो बिहीबार त पुराना कविको जमघट नै हुन्छ त्यहाँ ।
कविहरूको जमघटमा मासको बारा र करी बढी पाक्छ कार्की किचनमा । त्यसका लागि फोनबाट पहिले नै अर्डर हुन्छ । मीठो खान पाएपछि प्रशंसा पनि प्रशस्तै पाउने गरेकी छन् ईश्वरीले । कहिले पाँच दशजना आउँछन् भने कहिले दुईजना मात्र । ईश्वरीले देखेकी छन् प्राय: नाम चलेकै कवि आउँछन् र कहिलेकाहीँं उनीहरूसंँग मिलेर नयाँ नयाँ अनुहार पनि आउँछन् । ठूलो भान्सा, वरिपरि सहयोगी । ठूूलाठूला भाँडाका बीचमा उनी सहयोगीलाई काम लगाउँदै थिइन्  तर उनको अनुभवी हातमा पनि डाडुपन्यु थिए र तिनले उनको पेसागत जीवनको झल्को दिइरहेका थिए, एकप्रकारको शोभा दिइरहेका थिए ।
कार्की किचनकी मुख्य कार्यकारी भन्न मिल्ने उनलाई अरूले पकाएको व्यञ्जन परिकारमा विश्वास नै लाग्दैन । उनको वरिपरि गर्ने तीनजना सहयोगी पनि छन् तर भान्साको डाडुपन्यु आफँै चलाउन आनन्द लाग्छ  । उनलाई सामान्य खाना मन पर्छ तर  आफ्नो रोजाइले मात्र पनि त कहाँ हुन्छ ? व्यवसायी भएपछि आफ्नो रोजाइमा मात्र चल्नु हुन्न भन्ने ठान्छिन् ईश्वरी । अरूको रोजाइमा जान सक्नु पर्छ, उनको निष्कर्ष छ ।
कार्की किचन धैरैलाई थाहा छ, त्यहाँ खानेले उनलाई प्रशंसा गर्छन् । ईश्वरीको पक्वान्न खाएपछि धैरैलाई आफ्नै घरमा खाएको जस्तै लाग्दो रहेछ  तर उनी स्वयंलाई भने दालभात मन पर्छ । अरू कसैले वा उनकै सहयोगीले पकाएको खाना पनि उनका श्रीमान्लाई नरुच्ने भएपछि आफँै पकाउँछिन् । साग र दाल भएन भने भान्सा नै खल्लो लाग्छ ।
ईश्वरीलाई लाग्छ, उनका श्रीमान् खानामा साह्रै सौखिन छन् । जागिरबाट अवकाश लिएपछि श्रीमान्कै इच्छामा कार्की किचनको सुरुआत गरियो । खानामा मात्र होइन, पकाउनमा पनि ईश्वरीका श्रीमान्को सोख छ । त्यसैले त कार्कीको समय पनि भान्सामा प्रशस्तै बित्छ । श्रीमतीले देली र खाउँला भनी बस्दैनन् कार्की महाशय । आफँैं भान्सामा हेलिन्छन् । ईश्वरीलाई लाग्छ– श्रीमान् कार्की माछा साह्रै मीठो पकाउँछन् । पतिव्रता स्त्रीले झँैं श्रीमान्ले पकाएको जति मीठो अरू कसैले पकाएको जस्तो लाग्दैन श्रीमती कार्कीलाई, ‘साह्रै मीठो पकाउनु हुन्छ ‘व्हाँ’ । ‘व्हाँ’ भनेको श्रीमान् कार्की । उनले खुल्ला दिलले श्रीमा्नको प्रशंसा गरिन् ।
ईश्वरीले ज्तिसुकै मीठो पकाए पनि कार्की महाशय आफ्नी अर्धांगिनीलाई जस दिन जान्दैनन् । ‘कहिले भात गिलो भयो भन्छन्, कहिले नुन बढी, कहिले नुन सार्‍है कम भयो भन्छन्’, यस्तै यस्तै कुरामा कार्की दम्पतीको ठाकठुक पनि पर्दो  रहेछ । ‘खाना पकाउँछु, बूढाको गाली खान्छु’, ईश्वरीको गुनासो छ ।  हुन त, ईश्वरीका विचारमा त्यसका लागि आफ्नै कमजोरी पनि कम जिम्मेवार छैन ।  ‘शरीर भान्सामा हुन्छ, मन भने भान्सा बाहिर कतै बतासिएको हुने, ‘आज मैले करी बनाएको, नुन नै हाल्न बिर्सिएछु । अनि बिहानै डायलग खाएँ, आफू चाखेर दिनू नि खाना’,ईश्वरीले ताजा घटना उल्लेख गरिन् ।
उनको किचनमा नेपाली खाना सबै बन्छ तर चाइनिज भने तयार गर्न आउँदैन । ‘ सिक्न भने मन छ ।’ उनले भनिन् ‘चुलोमा बसालिएको दूध उम्लिएर जानु नौलो होइन, त्यसको त कुरै नगराँै ।’ उनलाई भान्साको वातावरण शान्त होस् भन्ने लाग्छ । चक्कु चलाउन आउँदैन । ग्राहकले भने कहिले पनि गुनासो नगरेको उनको अनुभव छ । ससुरालीमा झँैं उनको किचनमा पनि सामान्य भुइँमा पलेटी कसेर खान पाइन्छ तर कसै कसैले सजावटमा भने कमी रहेको भन्ने गरेका रहेछन् ।
ईश्वरीको मान्यताअनुसार भान्सा भन्ने ठाउँ सफा र शुद्ध हुनु पर्छ । प्राय: बिहेको सिजनमा उनको किचनमा पार्टी भइरहन्छन्  । अरूको पार्टीमा जाँदा भने उनी ढुक्क हुन्छिन् । त्यसैले मजाले खान्छिन् । आफ्नो किचन सफा र शुद्ध भएको उनको दाबी छ  तर यति मात्रैले पुग्छ त ?

प्रतिक्रिया