एक सय साठी जना चढे सगरमाथा

काठमाडौं, ९ जेठ । चालु सिजनमा सोमबारसम्म एक सय ६० भन्दा बढी आरोहीले सगरमाथाको आरोहण गरेका छन् । यसमध्ये ९० जना विदेशी र ७० जना नेपाली सेर्पा रहेको पर्यटन मन्त्रालयअन्तर्गतको पर्वतारोहण शाखाले जनाएको छ ।
त्यस्तै, सगरमाथा आरोहण गरेर फर्कने क्रममा चारजना आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालीमूलकी क्यानाडाली पासपोर्ट होल्डर ३३ वर्षीया श्रेया शाह, जर्मन नागरिक ६२ वर्षीय डा.एरिक एवरहार्ड स्केफ, चिनियाँ नागरिक ५५ वर्षीय वेन यिहा र कोरियन नागरिक ४४ वर्षीय वोन विन सङ छन् । यसमध्ये कोरियनबाहेक सबैको शव फेला परिसकेको छ ।
फरक टिमबाट गएका उनीहरूको शुक्रबार आरोहण गरेर फर्कने क्रममा मृत्यु भएको हो । उनीहरूको हुरीमा परेर आठ हजार सात सय मिटरको आसपास मृत्यु भएको अनुमान छ । यसअघि गत महिना हिम चितुवाको नामले परिचित सगरमाथा आरोही आङरिता शेर्पाका छोरा कर्साङ नामगेल शेर्पा र अर्का पोर्टर छिरिङ शेर्पाको सगरमाथा आधार शिविरमा नै मृत्यु भएको थियो ।
यो सिजनको सगरमाथा आरोहण बिहीबारदेखि सुरु भएको हो । सो दिन १८ जनाले सगरमाथा चढेका थिए । त्यस्तै शुक्रबार ३५ जना र शनिबार एकै दिन करिब एक सय आरोहीले सगरमाथा आरोहण गरेको पर्यटन मन्त्रालयले जनाएको छ । अबको एक साताभित्र अधिकांशले सगरमाथा आरोहण गरिसक्ने ट्ेरकिङ व्यवसायी आङछिरिङ शेर्पाले जानकारी दिए । यसपटक सगरमाथा आरोहणका लागि २५ वटा विदेशी र तीनवटा नेपाली टोलीले अनुमति पाएका छन् ।
दुई महिना अगाडिदेखि नै उपयुक्त मौसमको पर्खाइमा आधारशिविरमा बसिरहेका विश्वभरका करिब तीन सय आरोही मौसमले साथ दिएपछि चुचुरोतिर लागेका थिए । यसबाहेक आधारशिविरमा ल्होत्से र न्हुप्त्से हिमाल चढ्न गएका एक सय आरोही पनि छन् । सरकारबाट सगरमाथा आरोहण सलामी दस्तुर मिनाहा पाएका नेपाली आरोहीका तीनवटा टोली पनि आधारशिविरमै छन् ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल, एथलेटिक्स खेलाडी सञ्जय पण्डित र तपस्वी सीता राईको टोली आरोहण दस्तुर मिनाहा पाएर सगरमाथा आरोहणमा गएका छन् । सोमबार साँझसम्म उनीहरू कसैले सगरमाथा आरोहण गर्न सकेका छैनन् । अनुमति पाएको ७५ दिनभित्र आरोहण गरिसक्नुपर्छ ।
सरकारले सगरमाथा जाने एकजनालाई २५ हजार अमेरिकी डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर दस्तुर लिन्छ । सातजनाको टोली भएमा ७० हजार डलर शुल्क लाग्ने व्यवस्था छ । सात जनाभन्दा बढी भएमा प्रत्येक थप आरोहीलाई १० हजार डलर थप शुल्क लाग्छ । एक टोलीमा बढीमा १५ जनासम्म मात्र हुनसक्ने प्रावधान छ ।
यसअघि जापानकी ७३ वर्षीया तामाए वातानाबेले शनिबार सगरमाथाको सफल आरोहण गरी विश्वकै सबैभन्दा बढी उमेरमा सगरमाथा शिखर पुग्ने महिला आरोहीको कीर्तिमान कायम गरेकी छन् । वातानाबेले तिब्बती भेग (दक्षिणी मोहोडा) बाट आरोहण गरेको उनको आरोहण दलका व्यवस्थापक एसियन ट्रेकिङ प्रालिका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । दस वर्षअघि ६३ वर्षको उमेरमा सगरमाथा शिखर पुग्दा पनि उनी नै संसारमै बढी उमेरमा सगरमाथा चुचुरो पुग्ने महिला आरोही बनेकी थिइन् । त्यतिबेला भने उनले नेपाली भेग (उत्तरी मोहोडा) बाट शिखर पुगेकी थिइन् ।

प्रतिक्रिया