त्रसित प्रेसजगत्

आदिवासी जनजातिले आह्वान गरेको तीनदिने बन्दको पहिलो दिन आइतबार पत्रकारमाथि सुनियोजित ढंगले आक्रमण गरियो । ती निन्दनीय, आपराधिक घटनाका कारण आमसञ्चार क्षेत्र स्तब्ध र त्रसित बन्न पुग्यो । आफ्नो अधिकार सुरक्षित गर्न वा माग पूरा गराउन यसअघि पनि विभिन्नखाले बन्द र हडताल भएका थिए । तर, कहिल्यै सञ्चारकर्मी, उनीहरुका सवारी साधन र क्यामरामाथि यो खालको घृणित व्यवहार भएन । पञ्चायती एकतन्त्रीय शासन व्यवस्था र निरंकुश भनिएको शाहीकालमा पनि यत्तिको ज्यादती र पीडा पत्रकारले भोग्नुपरेको थिएन । आइतबार बिहानैदेखि बन्दकर्ताले पत्रकारका सवारी साधन र पत्रकारमाथि शत्रुतापूर्ण व्यवहार गरेको देख्ता पो मुलुकमा प्रेस स्वतन्त्रतामाथि बन्देज लगाइएको जस्तो प्रतीत हुन्थ्यो । आफ्नो अधिकार स्थापित गर्ने आन्दोलन विभिन्न मुलुकमा भएका छन् । ती मुलुकमा पनि पत्रकारलाई निर्बाध सञ्चार संकलन गर्न दिइन्छ । गृहयुद्ध भइरहेको मुलुकमा पनि पत्रकारलाई समाचार संकलनमा बाधा पुर्‍याइँदैन । तर जनजातिले आह्वान गरेको बन्दमा भने स्वतन्त्र पत्रकार जगत्ले मध्ययुगीन बर्बरताको सामना गर्नुपर्‍यो । आइतबारको घटनालाई प्रेस स्वतन्त्रतामाथिको निन्दनीय घटनाका रुपमा लिंँदै यसप्रति हामी क्षोभ व्यक्त गर्छौं ।
लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा आफ्ना हक, अधिकार संरक्षणका  लागि शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई हुन्छ । आफ्नो अधिकार सुरक्षित गर्नका लागि विभिन्नखाले बन्दहडताल गर्दै जुलुस निकाल्न पनि संविधानले छुट दिएको छ । तर, आफ्नो अधिकारका लागि अग्रसर हुनेहरुले लोकतान्त्रिक पद्धतिअनुरुप अन्यको अधिकारमाथि धावा बोल्न पाइँदैन । लोकतन्त्रमा हिंसात्मक आन्दोलन गर्दै अर्काको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न पाइँदैन । पत्रकारमाथि भएको  यो नियोजित आक्रमण लोकतान्त्रिक व्यवस्थामा उपभोग गर्न पाइने स्वतन्त्रताको चरम दुरुपयोग र अराजक सोचको उत्कर्ष थियो । पत्रकार स्वतन्त्रपूर्वक समाचार सम्प्रेषण गर्ने प्राणी हुन् । पत्रकारको कुनै जात, धर्म, लिङ्ग, क्षेत्र हुँदैन । तर, बन्द आह्वान गर्ने अगुवाले नै पत्रकार, नेपाल पत्रकार महासंघ र सञ्चारगृहलाई कुनै पनि हालतमा नछाड्ने धम्की दिए, जसले आक्रमणहरु नियोजित थिए भन्ने पुष्टि गर्‍यो । कलमजीवीप्रति दुराग्रह राखेर आक्रमण गर्दा जनजातिले आफ्नो अभीष्ट पूरा हुन्छ भन्ने ठानेको भए त्यो सरासर गलत र मूढाग्रह हो । उनीहरुले स्पष्टसँग के बुझ्नुपर्छ भने जुन मुलुकमा प्रेस स्वतन्त्रता हुँदैन त्यहाँ प्रजातन्त्र, मानवधिकार र अमनचैन पनि हुँदैन । जहाँ प्रेस जोगिँंदैन, त्यस राष्ट्रमा कसैको अधिकार सुरक्षित रहँदैन । तसर्थ यस्ता आन्दोलन गर्नेहरुले सञ्चारजगत्मा हमला गरेर आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम गर्नु हुँदैन ।
वास्तवमा आइतबारको घटनाले आकार ग्रहण गरिनसकेको नेपाली लोकतन्त्र र संघीय राज्य व्यवस्थाप्रति गम्भीर भएर सोच्न बाध्य बनाएको छ । विश्वका घटनाले तानाशाही व्यवस्थाको चरमोत्कर्षमा मात्र सञ्चारमाध्यमप्रति निर्मम प्रहार गर्ने गरेको यथार्थ भोगेका थिए । अहिले ती सबैलाई भ्रम साबित गर्दै बन्दकर्ताले लोकतन्त्र हँुदा पनि प्रेस स्वतन्त्र छैन भन्ने पुष्टि गरिदिएका छन् । यसले गर्दा लोकतन्त्र र अब बन्ने संघीय राज्यहरुमा प्रेस स्वतन्त्रता नरहने हो कि भन्ने शंका उब्जाएको छ । राजधानीजस्तो संवेदनशील क्षेत्रमा पत्रकारमाथि सांघातिक हमला हुनु र नजिकै भएको सुरक्षामा खटिएका प्रहरी मूकदर्शक बन्नुले पनि शंकालाई बल पुर्‍याएको छ । यी घटनाक्रमले गर्दा वर्तमान सरकारप्रति नै प्रेस जगत् सशंकित बन्नुपर्ने अवस्था आएको छ । तर, कलमले हारेको इतिहास छैन । तसर्थ निर्भीकतापूर्वक भन्न सकिन्छ, कसैको दबाबले वा धम्कीले पत्रकारलाई गलाउने छैन । ‘जे देख्यो, त्यो लेख्यो’ पत्रकारको धर्म हो । जोखिममा परेको प्रेस स्वतन्त्रतालाई निष्पक्ष पत्रकारिताले जोगाउने छ । सबै पत्रकार एकताबद्ध भएर आफ्नो क्षेत्रमा डटिरहौँ । यही नै पत्रकारको कर्तव्य  पनि हो ।

प्रतिक्रिया