युवराजलाई पन्जाबको सम्मान


चण्डीगढ, ८ जेठ । भारतीय क्रिकेट टिमका मध्यक्रमका ब्याट्सम्यान युवराज सिंहलाई उनले गत वर्ष आइसिसी एकदिवसीय विश्वकप प्रतियोगितामा भारतलाई उपाधि जिताउन ‘असाधारण योगदान’ पुर्‍याएको भन्दै पन्जाब राज्यसरकारले विशेष सम्मान गरेको छ ।
बम्बईमा भएको फाइनलमा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकप प्रतियोगिता जितेको थियो । फाइनलमा म्यान अफ द म्याच कप्तान महेन्द्रसिंह धोनी भए पनि समग्र प्रतियोगितामा भने युवराज सिंह ‘म्यान अफ द सिरिज’ भएका थिए ।
मुख्यमन्त्री प्रकाशसिंह बादल, उपमुख्यमन्त्री सुखवीर सिंह ‘बादल’ र सांसद तथा पन्जाब ओलम्पिक एसोसिएसनका अध्यक्ष एसएस ढिंन्डसाले संयुक्त रूपमा सम्मान गरे । त्यस अवसरमा युवराजलाई एक करोड रुपियाँ प्रदान गरिएको थियो ।
बायाँहाते खेलाडी युवराज फोक्सोको बीच भागमा निकै कम मात्र देखिने ‘जर्म सेल’ क्यान्सरको उपचार गराइरहेकाले पछिल्ला केही महिनादेखि खेलकुदबाट टाढा छन् । अमेरिका र बेलायतमा उपचार गराइसकेका युवराज हाल विश्राम अवस्थामा छन् । क्यान्सर उपचारमा प्रयोग हुने ‘केमोथेरापी’ प्रक्रियाले गर्दा अहिले उनको कपाल सबै झरेको छ । केही दिनअघि मात्र पत्रकारहरूसित कुराकानी गर्दै उनले आफू आगामी तीन–चार महिनाभित्र फेरि सक्रिय क्रिकेटमा फर्कन सक्ने सम्भावना रहेको बताएका थिए ।

प्रतिक्रिया