अधिक यौनचाहना पनि रोग

प्राणीहरूमा यौनचाहना हुनु नौलो होइन । तर, यो चाहना व्यक्तिअनुसार फरक पर्छ । कसैमा प्रबल चाहना हुन्छ त कसैमा कम । हाम्रो सामाजिक संरचनाले यौनलाई संवेदनशील विषय मान्छ र यसमा एक किसिमको नियन्त्रण बनाइरहेको हुन्छ । यद्यपि, कतिपय व्यक्तिमा यौन इच्छा आवश्यकभन्दा बढी हुन्छ । जसरी यौन इच्छामा कमी हुनु यौनस्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन, त्यसरी नै चाहिनेभन्दा बढी यौन इच्छा हुनु पनि समस्या हो ।
कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन । अत्यधिक यौन चाहनाको समस्याले महिलालाई पनि नपिरोल्ने होइन तर यो तुलनात्मक रूपमा पुरुषमा बढी देखिएको पाइन्छ । रुचाइएको भन्दा बढी यौन चाहना, कामावेश भएको स्थितिलाई अंग्रेजीमा एक्सेसिभ सेक्सुअल डिजायर भनिन्छ । यौनसम्बन्धी कुराको अत्यधिक आवश्यकता महसुस गर्छ र उग्र तवरले संलग्न हुन्छ भने उसको दैनिक कार्य र सामान्य सम्बन्धमा नै नकारात्मक असर पर्छ । यस्तो हुनु एक गम्भीर समस्या हो । मूलभूत रूपमा यस्तो कम्पलसिभ सेक्सुअल बिहेभियरलाई हाइपर सेक्सुआलिटी भनिन्छ । यस्तो स्थितिले पूर्णरूपमा जीवनलाई नै प्रभाव गरिरहेको हुनाले चिकित्सकीय दृष्टिकोणले ध्यान दिनुपर्ने हुन्छ । विशेष गरेर पुरुष हार्मोन अनि यसका साथै यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै पनि गडबडी नै यस्ता कुराका कारण हुने गर्दछन् । केही स्थितिमा यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि हुन सक्छ ।
विज्ञहरूले यौनव्यवहारमा अब्सेसन वा कम्पल्सन हुनु एक किसिमको मनोरोग मानेका छन् । यस किसिमको यौनव्यवहार व्यक्तिको मुड वा पर्सनालिटी डिसअर्डर वा अन्य भावनात्मक समस्यालाई सामना गर्ने संयन्त्र हो पनि भन्ने गरिन्छ । त्यसैले यस्तो समस्याको समाधानका लागि मानसिक रूपमा स्फूर्त हुन जरुरी छ । आफ्नो मनलाई अरू नै रचनात्मक कुरामा अभ्यस्त गराउनाले पनि यो समस्याबाट मुक्ति दिन सक्छ । यस्तो समस्या आएको लागेमा यौन–विशेषज्ञहरूको परामर्श लिन जरुरी छ ।

प्रतिक्रिया