आउँदै छ वर्षात् ल्याउँदै छ टाइफाइड

गर्मी मौसम र वर्षात्को समय सुरु भएलगत्तै अस्पतालहरूमा टाइफाइडका बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यो मौसममा पानीका मुहान दूषित हुने तथा खानेकुरामा पनि प्रदूषण बढ्ने भएकाले सम्पूर्ण क्षेत्रमा टाइफाइडका बिरामी देख्न सकिने भन्दै पानी र खानेकुरामा विशेष ध्यान दिन सुझाएको छ ।
महाशाखाका प्रमुख डा. जिडी ठाकुरका अनुसार गर्मी तथा वर्षाको समयमा टाइफाइडका ब्याक्टेरिया पानी तथा खानेकुरामा बढी सक्रिय हुन्छन् । यस्तै संक्रमणले गर्दा स्वास्थ्य संस्थामा टाइफाइडका बिरामी आउने क्रम बढेको उनी बताउँछन् । भन्छन्, ‘टाइफाइड सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिँगा र अन्य कीरा–फट्यांग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने भएकाले देशभर नै सफा पानी र खाद्यान्न खानका लागि चेतनामूलक कार्यक्रमहरू अघि बढाइएको छ ।’ उनका अनुसार टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरियाबाट लाग्ने संक्रामक रोग हो ।
चिकित्सकहरू टाइफाइडलाई एक संवेदनशील ज्वरोका रूपमा लिन्छन्, जुन स्याल्मोनेल्ला टाइफी र स्याल्मोनेल्ला प्याराटाइफी ब्यक्टेरियाका कारण हुने गर्दछ । पानी तथा खानेकुराबाट यी जीवाणु मानिसमा सर्छन्
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार टाइफाइडका कारण बर्सेनि १३ करोडभन्दा बढी मानिस बिरामी पर्ने गरेका छन् भने पाँच लाखभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । टाइफाइडलाई खतरनाक ज्वरोसमेत भन्ने गरिन्छ । यो रोग लागेपछि मानिसहरूलाई तीव्र ज्वरो आउने गर्दछ । टाइफाइड ज्वरो घट्ने वा बढ्ने त हुन सक्छ तर उपचार नगरिएसम्म सामान्य नहुने चिकित्सकहरूको भनाइ छ ।
सामान्य रूपमा यो रोगलाई एन्टिबायोटिक औषधिबाट रोक्न तथा उपचार गर्न सकिने डा. ठाकुर बताउँछन् । उनका अनुसार सामान्यतया टाइफाइडबाट पीडित व्यक्तिलाई निरन्तर १०२ देखि १०५ डिग्री फरेनहाइटसम्म ज्वरो रहिरहन्छ । तर, ज्वरो आउने प्रकृति भने भर्‍याङमा चढेजस्तै (स्टेप ल्याडर प्याटर्नअनुसार) अधिकतम १०५ डिग्री फरेनहाइटसम्म पुग्छ । टाइफाइड जुनसुकै उमेरमा हुन सक्ने भए पनि १० वर्षदेखि ३० वर्ष उमेरसमूहका व्यक्ति बढी पीडित भएको पाइन्छ । एकपटक टाइफाइड भएपछि फेरि पनि भइरहने सम्भावना बढ्ने डा. ठाकुरको भनाइ छ ।
चिकित्सकहरूका अनुसार टाइफाइडका कीटाणु आन्द्राको माथिल्लो भागबाट रगतमा प्रवेश गरी रक्तसञ्चारमार्फत शरीरका अनेक भागमा पुग्छन् । सानो आन्द्रामा पुगेपछि त्यहाँका लिम्फ ग्रन्थीहरूलाई असर गर्छन् र रक्तनलीमा घाउ पारी रक्तस्राव गराउँछन् । आन्द्रामा प्वाल पनि पार्न सक्छन् । तर आजकल जनचेतना वृद्धिका कारण सजिलैसँग औषधिका पहुँचमा रहने भएकाले प्वालै पर्न सक्ने जोखिम भने न्यूनीकरण भएको छ । प्वाल परिहालेमा भने शल्यक्रियाद्वारा सिलाई गर्नुपर्छ । टाइफाइड गराउने स्याल्मोनेल्ला टाइफी ब्याक्टेरिया मानिसमा मात्रै पाइन्छ । टाइफाइडबाट पीडित व्यक्तिको रगत र धमनी मार्गमा यो जीवाण्ुा प्रवाहित हुन्छ । सानो आन्द्रामा रहने यो जीवाणु कहिलेकाहीँ पित्तासयमा समेत बस्ने गर्छ । त्यहीँ रहेर आफ्नो संख्या वृद्धि गर्दै विष फैलाउँछ र रगतमा मिलेर रोगको कारण बन्छ । रोगी र संवाहक दुवै व्यक्तिको दिसाबाट स्याल्मोनेल्ला टाइफी जीवाण्ुा निस्किने गर्छ । स्याल्मोनेल्ला टाइफी फैलाउने व्यक्तिद्वारा समातिएको खाद्य पदार्थ वा पेय पदार्थ खानाले तथा स्याल्मोनेल्ला टाइफीबाट प्रदूषित पानीबाट नुहाउँदा, यस्तो पानीले पखालेको खाने कुरा खाँदा टाइफाइड हुन सक्छ । स्याल्मोनेल्ला टाइफी ब्याक्टेरिया मानिसको दिसासँगै बाहिर निस्किन्छ । यस्तो दिसामा बसेका झिँगाले खुट्टामा ब्याक्टेरिया टाँसेर ल्याउँछन् अनि खाद्य पदार्थ तथा पानीका स्रोत वा मानिसको सम्पर्कमा पुर्‍याइदिन्छन् । त्यस्ता खाद्य वा पेय पदार्थ सेवन गर्ने व्यक्तिमा सो रोगका ब्याक्टेरिया जान्छ र मानिसलाई टाइफाइडबाट संक्रमित बनाउँछ ।
त्यसकारण यो संक्रमणबाट बच्न सफा र संक्रमणमुक्त पानी तथा खाद्य पदार्थ खानुपर्छ । डा. ठाकुरका अनुसार टाइफाइडबाट बच्न दुईवटा उपाय अपनाउनुपर्ने हुन्छ । पहिलो– जोखिमयुक्त खानपानको सेवनबाट बच्ने । दोस्रो– टाइफाइडविरुद्धको खोप वा औषधि प्रयोग गर्ने । यसका साथै चिकित्सकको सल्लाहमा औषधि पनि सेवन गर्न सकिन्छ ।
लक्षण
शरीर तथा टाउको दुख्नु
भोक नलाग्नु
ज्वरो आउनु
नाडीको गति कम हुनु
कहिलेकाहीँ बान्ता आउनु
पखाला लाग्नु
कब्जियत हुनु
ज्वरो बढ्ने घट्ने भइरहनु
शरीर काँप्नु र बिरामी बेहोस हुनु

प्रतिक्रिया