बन्दको तनाब

काठमाडौं, ८ जेठ । विविध माग राखेर विभिन्न समूहले गरेका बन्दका कारण देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । जनकपुरमा आन्दोलनकारीले पत्रिका जलाएका छन् भने चितवनमा बन्दकर्ताले धम्की दिएपछि सञ्चारकर्मी त्रसित भएका छन् ।

प्रादेशिक राज्यको राजधानी बनाउनुपर्ने माग राखेर प्रादेशिक राजधानी संघर्ष समिति धनकुटाले गरेको अनिश्चितकालीन आमहडताल र आदिवासी जनजाति संघर्ष समितिले गरेको तीनदिने आमहडतालका कारण धनकुटाको जनजीवन कष्टकर बनेको छ ।
धनकुटामा ६ दिनदेखि लगातार बन्द हुँदा जनजीवन कष्टकर बनेको हो । बजार, पसल, कलकारखाना, उद्योग, शैक्षिक संस्था ठप्प छन् । जिल्लामा रहेका तीन सय १५ सामुदायिक र ३४ संस्थागत विद्यालय बन्द छन् । ५८ हजार ६ सय विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।
कोसी राजमार्गको धरान–धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर हिँडेका यात्रु बाटोमै अलपत्र परेका छन् । धनकुटामा दैनिक उपभोग्य वस्तु आपूर्ति हुन नसक्दा समस्या परेको छ । धनकुटामा सञ्चालित बैंक तथा वित्तीय संस्था बन्द छन् । केन्द्रीयस्तरबाट प्रादेशिक राज्यको राजधानी बनाउने सम्बन्धमा निर्णय नआएसम्म आमहडताल जारी रहने संघर्ष समितिका संयोजक गंगाबहादुर राईले बताए । तीन सय ९१ सरकारी भवन र ४८ हजार ६ सय रोपनी सरकारी जग्गा उपलब्ध भएकाले धनकुटालाई प्रादेशिक राज्यको राजधानी बनाउन माग गर्दै स्थानीय आन्दोलित भएका हुन् ।
मधेसलाई पाँच टुक्रा गर्ने सहमति गरेको भन्दै बन्दकर्ताले जनकपुरमा नेपाली कांग्रेसका सभासद् विमलेन्द्र निधिको घर तोडफोड गरेका छन् । यसअघि बन्दकर्ताले शिवचोकमा निधि तथा रामकृष्ण यादवको पुतला दहन गरेका थिए । घटनाको नेपाली कांग्रेसले विज्ञप्ति निकालेर भत्र्सना गरेको छ । ११ प्रदेशविरुद्ध बृहत् मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई–मधेस बन्दले जनकपुरसहित आसपासका विभिन्न जिल्लाको जनजीवन प्रभावित छ । बन्द तेस्रो दिन पनि जारी छ । बन्दकर्ताले जनकपुर पिँडारी चोकमा दुई ट्रक तथा एउटा ट्रयाक्टर तोडफोड गरेका छन् । महोत्तरी र सर्लाहीमा पनि बन्दको असर परेको छ । आइतबारबाट जनकपुरमा मुस्लिम राष्ट्रिय संघर्ष गठबन्धनको पनि बन्द थपिएको छ ।
हेटौंडामा नामविनाको ११ प्रदेशको विरोध र जातीय पहिचानसहित राज्यको माग गर्दै गरिएको बन्दका क्रममा तीन बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीले बुद्ध लामा, जीवन लामा र सुरेश लामालाई नियन्त्रणमा लिएको हो । आदिवासी जनजाति महासंघको अगुवाइमा भएको आमहडतालका कारण मकवानपुरको जनजीवन ठप्प भएको छ ।
तामाङसालिङ राष्ट्रिय दल र एकीकृत नेकपा
(माओवादी) मोहन वैद्य पक्षको समर्थनले बन्द आक्रामक देखिएको थियो । बन्दकर्ताले केही सवारीसाधन तोडफोड गरेका छन् । छुट्टाछुट्टै समूहले गरेका बन्द र प्रदर्शनका कारण रूपन्देहीको जनजीवन कष्टकर नै छ । बुटवल, भैरहवा, मुर्गिया, सालझन्डी, तामनगर, रानीबगिया, बेलवास, देवदह, मणिग्राम, फर्साटिकर, छपियालगायत क्षेत्रमा बन्दकर्ताको बाक्लो उपस्थिति छ ।
जातीय राज्यको माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समिति, सीमान्तीकृत अल्पसंख्यक मुस्लिमको अधिकारको माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन, थरुहट प्रदेशको मागसहित थरुहट संघर्ष समिति र स्वायत्त मधेसको माग गर्दै बृहत् मधेसी मोर्चाले बन्द जारी राखेका छन् । बन्दकर्ताले प्रहार गरेको ढुंगा र सिसाका टुक्रा लागेर दुई विद्यार्थी घाइते भएको प्रहरीले बताएको छ । परीक्षा दिएर घर फर्किरहेका रुद्रपुरका गोमा थापा र विश्व ढकाल सामान्य घाइते भएका हुन् । बन्दकर्ताले दूधका गाडी पनि चल्न दिएका छैनन् ।

पत्रकारलाई अवरोध, धम्की र दुव्र्यवहार

काठमाडौं, ८ जेठ । बन्दका पक्षमा समाचार प्रकाशन र प्रसारण नगरेको आरोप लगाउँदै विभिन्न जिल्लामा पत्रकारमाथि धम्की, आक्रमण र पत्रिका जलाउने काम भएको छ । बन्दकर्ताले पत्रकारको आवागमनमा पनि अवरोध पुर्‍याउन थालेका छन् ।

बन्दका पक्षमा समाचार प्रकाशन प्रसारण गर्न बन्दकर्ताले निरन्तर धम्की दिएपछि चितवनका पत्रकार त्रसित भएका छन् । पटकपटक धम्की दिँदै कुटपिट गर्ने तथा कार्यालय फोड्ने धम्की आउन थालेपछि चितवनका पत्रकारले असुरक्षित महसुस गरेका हुन् ।
‘समाचार आफ्नो पक्षमा नलेखेको भन्दै हामीलाई कुट्न खोज्दै हिँडेका छन्,’ चितवन पोस्ट दैनिकका होमनाथ सापकोटाले भने, ‘चार दिनदेखि कार्यालय खोल्न सकिएको छैन, रिपोर्टिङमा नहिँडेर घरै बस्न थालेको छु ।’ एक सातादेखि चितवनमा संयुक्त थारू संघर्ष समितिले गरेको तराई बन्दको सकारात्मक समाचार नलेखेको भन्दै धम्की आउने गरेको उनले गुनासो गरे ।
चितवनकै स्थानीय टेलिभिजन बेसो च्यानलका समाचार प्रमुख कृष्णचन्द्र भट्टराईले पनि समाचार आफ्नो पक्षमा नआएको भन्दै फोनबाट पटकपटक धम्की आएको बताए । उनले फरक व्यक्तिले फोन गरेर धम्की दिएको जानकारी दिए । समाचार संकलन गर्न जाँदा रेडियोमा प्रसारण भएको समाचारको व्याख्या गर्दै जातीयताको विरोधमा रहेछ भन्दै कुट्ने धम्की दिएका कारण फिल्डमा जान अप्ठ्यारो परेको रेडियो त्रिवेणीका पत्रकार सुवास पण्डितले बताए । नेपाल पत्रकार महासंघ चितवनले अन्तरक्रियापछि पत्रकारको सुरक्षा तथा बन्द–हडताललाई निरुत्साहित गर्ने गरी समाचार संकलनका लागि दसबुँदे निर्देशिका जारी गरेको छ ।
बन्द–हडतालको पूर्वसूचना नदिने, तटस्थ भएर समाचार संकलन गर्ने, बन्द हडतालको प्रत्यक्ष प्रसारण नगर्ने, बन्द हडतालका कारण जनजीवनमा परेको नकारात्मक असरलाई समाचार बनाउनेलगायत निर्देशिका जारी गरिएको महासंघका अध्यक्ष जनक अर्यालले बताए ।
उता, जनकपुरमा आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति संघर्ष समितिले आयोजना गरेको नेपाल बन्दका क्रममा सिन्धुलीबाट प्रकाशित जनबोली सन्देश राष्ट्रिय दैनिक जलाइएको छ । बन्दकर्ताले पत्रिकाको कार्यालयमा फोन गरेर तुरुन्त तामाङसालिङ पार्टी कार्यालयमा लिखित स्पष्टीकरण दिन आउन दबाब दिँदै नआए कालो सूचीमा राखेर कारबाही गर्ने चेतावनी दिइएको छ ।
पत्रिका जलाएको घटनाप्रति नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्तिमार्फत निन्दा गरेको छ । महासचिव ओम शर्माले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । यस्तै, घटनाको भत्र्सना गर्दै नेपाल पत्रकार महासंघ, सिन्धुलीले बन्दकर्ताको निन्दनीय कार्यप्रति आपत्ति जनाएको छ । अध्यक्ष श्यामहरि अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतन्त्रलाई नै उपहास गर्ने काम भएकाले घटनामा संलग्न व्यक्ति, समूहलाई कारबाही गर्न माग गरिएको छ ।
यस्तै, रूपन्देहीमा पत्रकारका मोटरसाइकलमा पनि अवरोध पुर्‍याइएको छ । बन्दकर्ता अनुकूलका समाचार नछापिएको आरोप लगाउँदै पत्रकारलाई धम्क्याउने र दुव्र्यवहार हुने गरेको नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले बताए ।

प्रतिक्रिया