जिल्ला टुक्राउन पाईदैनः कांग्रेस

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसले संघीय संरचना अन्तर्गत प्रदेश निर्माण गर्दा विविधतापूर्ण नेपाली समाजलाई ध्यानमा राखेर देशका विद्यमान जिल्लाहरुलाई टुक्राउन नहुने जनाएको छ ।
कांग्रेसले आज विज्ञप्ती जारी गरेर विद्यमान जिल्लाहरु टुक्राउन नहुने जनाएको हो । ‘जातीय, भाषिक, सांस्कृतिक र ऐतिहासिक पहिचान प्रकट गर्ने/गराउने आधारसँगै प्रदेशको सम्वृद्धि र स्वायत्त शासनका लागि आवश्यक आर्थिक–भौतिक–प्रशासनिक सामथ्र्य समेतलाई आधार बनाउनु पर्दछ’, विज्ञप्तीमा भनिएको छ, ‘राज्य पुनर्संरचना अन्तर्गत प्रदेश निर्माण गर्दा देशका विद्यमान जिल्लाहरुलाई टुक्राउनु हुँदैन भन्ने कांग्रेसको स्पष्ट धारणा रहेको छ ।’
कांग्रेसले राज्य पुनर्संरचना अन्तर्गत प्रदेश निर्माण गर्दा देशका विद्यमान जिल्लाहरुलाई टुक्राईनेछ भन्ने हल्लाप्रति आफ्नो गम्भीर ध्यानाकृष्ट भएको समेत जनाएको छ । सोही विषयलाई लिएर केही जिल्लाहरुमा भएका विरोधलाई संयम हुन आह्वान गर्दै कांग्रेसले जिल्ला टुक्राउन नहुने दोहराएको छ ।
‘बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान प्रकट गरिए मात्रै आर्थिक सामथ्र्य र सम्वृद्धि सुनिश्चित गर्छ’, विज्ञप्तीमा भनिएको छ, ‘राज्यशक्ति र स्रोतमा एकल जातीय एकाधिकार कायम हुन नदिने राज्यको लोकतान्त्रिक पुनःसंरचनाले मात्र देशको एकता र सामाजिक सद्भाव मजवुत हुन्छ ।’
विभिन्न जिल्लालाई टुक्राउन नहुने माग उठी रहेका समयमा कांग्रेसले पनि जिल्लालाई नटुक्राएर संघीय राज्य बनाउनुपर्ने धारणा अघि सारेको छ ।

प्रतिक्रिया