‘साहै्र चकचके स्वभावकी थिएँ’

भाइबहिनीहरू, सानोमा म औधी चकचके स्वभावकी थिएँ । धेरै बोल्ने बानी थियो । म आमा चन्द्रभुमेश्वरी माथेमा र बुबा परशुरामभक्त माथेमाकी सात छोरीमध्ये पाँचौं हुँ । विसं. २००५ वैशाख ८ गते काठमाडौंको ओमबहालमा मेरो जन्म भएको हो । म जन्मिएको बस्ती नेवार समुदायको थियो ।
सानो छँदा म दिदीको पछिपछि लागेर कन्या मन्दिर हाइस्कुलमा पढ्न जाने गर्थें । नाच्ने–गाउने, उफ्रने, धेरै बोल्नुपर्ने स्वभावकी थिएँ । त्यही चकचके बानीका कारण एक दिन झन्डै मरेकी थिएँ । छोरीमान्छे भएर पनि छोरामान्छेजस्तै उट्पट्याङ गर्थें । एक दिन दाइसँगै विष्णुमती खोलामा गएकी थिएँ । अचानक म खोलमा खसेँ । दाइले बचाउनुभयो । घरमा सबैले गाली गरे । त्यसपछि मैले त्यस्तो बदमासी कहिल्यै गरिनँ ।
मैले २०२० सालमा प्रवेशिका पास गरेर त्रिचन्द्र क्याम्पसबाट बिएस्सी २०२५ सालमा पूरा गरेँ । चकचके स्वभाव भए पनि साहित्यप्रति रुचि भने सानैदेखि थियो । आइएस्सी पढ्दै गर्दा २०२२ सालमा मेरो पहिलो कथा ‘पत्थरको हृदय’ आरती पत्रिकामा छापियो । त्यसको एक वर्षपछि आमाबुबाले मेरो बिहे राजबहादुर सिंहसँग गरिदिनुभयो । मलाई बुहारी, गृहिणी, श्रीमती, आमाको जिम्मेवारी पूरा गरेर साहित्य लेख्न त्यति सजिलो थिएन । म सबै काम सकेर रातिराति साहित्य लेख्न थालेँ । दस कक्षा पढ्दै गर्दा मलाई अंग्रेजी कविता पढाउने गुरु भीमदर्शन रोक्काको हौसलाले साहित्यप्रति आकर्षित गरेको हो ।
साहित्य लेखनमा मेरा साथीसंगतिको पनि भूमिका छ । साहित्यकार कृष्णचन्द्रसिंह प्रधान हामीलाई नेपाली पढाउनुहुन्थ्यो । साहित्यकार विजयबहादुर मल्ल घरमै आउनुहुन्थ्यो । विजय र सिद्धिचरण श्रेष्ठका छोरी नलिनी र शान्ता मेरा साथी थिए । मभित्रको साहित्यिक प्रतिभालाई बाहिर ल्याउन महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि ठूलो प्रभाव छ । उहाँ हाम्रो घरमा आउने–जाने गर्नुहुन्थ्यो । महाकवि देवकोटा शिक्षामन्त्री हुँदा मेरा बुबा परशुरामभक्त वाणिज्यमन्त्री हुनुहुन्थ्यो ।
यस्तै प्रेरक वातावरणका कारण मैले २०३८ सालमा ‘कथाआदि’, २०३९ सालमा ‘कथायाम’, २०४४ सालमा ‘कथाकार’, २०५७ मा ‘पद्मावतीका कथाहरू’, २०६२ मा ‘समानान्तर आकाश’ उपन्यास, २०६५ सालमा ‘मौन स्वीकृति’ र २०६८ सालमा ‘समय दंश’ लेखेकी छु ।
रातिराति बसेर लेखेका तिनैमध्यको ‘समानान्तर आकाश’ उपन्यास अहिले बिए र बिएडको पाठ्यक्रममा पढाइ हुन्छ । मैले दर्जनौँ सम्मान, पुरस्कार र अभिनन्दन पाइसकेकी छु । सबैभन्दा ठूलो सन्तुष्टि भनेको समाजले दिएको सम्मान हो । नारीहरूलाई साहित्य लेख्न जटिल नभए पनि संघर्षशील भने रहेछ । घर, समाज र कामको जिम्मेवारी पूरा गरेर लेख्न सजिलो नहुँदो रहेछ ।
अहिले मेरा दुई छोरा, एक छोरी र दुई नातिनातिना छन् । मैले जागिर पनि गरेँ, घर पनि सम्हालेँ र लेखेँ पनि । जीवनका ३५ वर्ष त सामाजिक संघसंस्थामा बिताएकी छु । जागिरे जीवन बिताउने क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूमा जिम्मेवारी सम्हालेँ । त्यसक्रममा मेरो लेखन झन् उर्वर बन्यो । कामको सिलसिलामा भारत, बंगलादेश, थाइल्यान्ड, कम्बोडिया, क्यानडा, अमेरिका र सिंगापुर घुम्ने मौका पाएँ । त्यहाँको अनुभवले मेरो लेखनलाई झन मद्दत गर्‍यो । यसैको सम्मानस्वरूप मैले रत्नश्री सुवर्ण पदक, मैनाली कथा पुरस्कार, साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौँ सम्मान र पुरस्कार पाएकी छु ।
भाइबहिनीहरू, आज साहित्य झन् उर्वर बनेको छ तर त्यति बेला र अहिलको साहित्यिक वातावरण भने अलि बदलिएको छ । त्यति बेला साहित्यको माहोल उत्साहजनक थियो । गुटबन्दी थिएन । अहिले राम्रो लेख्नेभन्दा छाप्ने प्रतिस्पर्धा छ । धेरै कृति निस्कनु राम्रो हो । साहित्यलाई विज्ञापन बनाउनु राम्रो होइन । अहिले विज्ञापन गर्नेको बोलवाला छ ।
प्रस्तुति : शिवराज योगी

प्रतिक्रिया