कुभिन्डे भूत

अग्रता कक्षा चारमा पढ्थी । उसको उमेर दस वर्षको थियो । घरदेखि विद्यालय पुग्न आधा घन्टाभन्दा बढी समय लाग्थ्यो । विद्यालय र घरका बीचमा खहरे खोलो थियो । वनमारा र बयरघारीले बाटो ढाकिएको थियो । अग्रताको गाउँबाट उस्तैउस्ता पाँच–छ जना साथी मिलेर विद्यालय जाने/आउने गर्थे ।
प्रत्येक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । नाचगान, वादविवाद प्रतियोगिता, खेलकुद, हाजिरीजवाफ प्रतियोगिता, कथा–कविता लेखन प्रतियोगिता आदि सञ्चालन गरिन्थ्यो । अग्रतालाई नाचगान खुब मन पथ्र्यो । उसका साथीहरूलाई खेलकुद र कथा–कविता लेखन प्रतियोगिता मन पथ्र्यो । ऊ र उसका साथीहरू प्रत्येक शुक्रबार यस्ता कार्यक्रममा सहभागी हुन्थे ।
कहिलेकाहीँ नाचगान प्रतियोगिता अरू प्रतियोगिताभन्दा ढिलो सुरु हुन्थ्यो । कसरी पुरस्कार हात पार्ने भन्नेतिर मात्र अग्रताको ध्यान केन्द्रित हुन्थ्यो, समयतिर त्यति वास्ता गर्दिनथी । कहिलेकाहीँ राति भइसकेपछि एक्लै घर फर्कन्थी । घरका कसैलाई खबर गर्दैनथी ।
आज पनि नाचगान प्रतियोगिता ढिलै सुरु भयो । अग्रता प्रथम नै भई, सबैले उसलाई बधाई पनि दिए । बधाई र पुरस्कार पाएपछि ऊ फुरुंग परी । कार्यक्रम सकिएर बाहिर चौरमा निस्कँदा साथीहरू गइसकेका थिए, उसले पर्खन भनेकी पनि थिइन । तैपनि यताउता हेरी, कतै देखिन । ‘आज पनि निकै ढिलै भएछ’ भनेर सोच्दै ऊ एक्लै घरतिर लागी ।
रातको त्यस्तै ९ बजेको हुँदो हो । ऊ मनमा के–के कुरा खेलाउँदै एकसुरले हिँड्न थाली । ‘कस्ता रहेछन् ती सुन्तली र सीता ? एकवचन पनि सोधेनन्, मलाई एक्लै छाडेर गए, तर केही छैन, जुनेली रातमा त्यति डर हुँदैन, आधा घन्टा त हो नि’ भन्ने कुरा मनमा खेलाउँदै अगाडि बढी । अरू बेला पनि कहिलेकाहीँ यस्तै गर्थी । तर, त्यस दिन खहरेको पुलमा कोही कराएको आवाज आयो ।
आवाज आएपछि उसलाई कोही उतै जाने मान्छे होलान् जस्तो लाग्यो । छिटो–छिटो हिँडेर पुल तरी । पुल अगाडि जोडदार आवाजसहित एउटा कुभिन्डो भ्वाक्क खस्यो ।
झन्डै उसलाई लागेको । ठिंग उभिई । यताउता आँखा दौडाई, त्यहाँ कतै कुभिन्डोको रूख थिएन, न त झर्न सक्ने अरू कुनै आधार । कसरी यो कुभिन्डो यहाँ खस्यो ? उसले पत्ता लगाउन सकिन । त्यस्तैमा कुभिन्डो आफैँ गुड्किएर अलि पर पुग्यो ।
ऊ ट्वाँ परेर कुभिन्डो हेर्न थाली । कुभिन्डो गुड्किँदै–अडिँदै–गुड्किँदै गरेको देखेर उसलाई अचम्म लाग्यो । ‘यो के अचम्म भयो ? कसरी यो गुड्किँदै छ ? कसले फाल्यो ? मेरा आँखाले धोका खाएको हो कि ?’ यस्तै कुराले ऊ एकोहोरो भएकै बेलामा कुभिन्डो हुत्तिएर निकै पर पुग्यो र प्याट्ट फुटेको आवाज आयो ।
जूनको उज्यालोले गर्दा उसले सबै चर्तिकला प्रस्टैसँग देखिरहेकी थिई । कुभिन्डो फुटेपछि त्यहाँबाट धुवाँ निस्क्यो । ऊ झन् ट्वाँ परी । हेर्दाहेर्दै त्यहाँ त एउटा अजंगको मान्छे देखापर्‍यो र मुख बाउँदै हात हल्लाउन थाल्यो ।
त्यसपछि भने उसको मनमा चिसो पस्यो– यो त भूत पो हो कि क्या हो ? उभिएको ठाउँबाट पाइला सार्न उसलाई आँटै आएन । जिउ थरथरी काम्न थाल्यो । ऊ एक्कासि चिच्याई ।
उसको चिच्याई अलि पर रहेको घरका अन्तरे दाइले सुने र दौडिए । उनी धामी थिए । उनी आइपुग्दा अग्रता डरले कामिरहेकी थिई । उनले चिनिहाले– यो त हाम्रा पुरेत बाजेकी नातिनी पो हो त । यहाँ यतिखेर एक्लै…। आदि सोच्दै नाडी छामे । धामी बाले उसलाई सबै कुरा भन्न लगाए । उसले बेलिविस्तार लगाई ।
अन्तरेले सुनाए– यो काम पक्कै कुभिन्डे भूतको हो । बिचरीको सातो खाएछ भन्दै घरमा लगे र झारफुक गरे । उनकै छोरीसँग सुताए । भोलिपल्ट बिहानै अग्रता उठी ।
यतिखेरसम्ममा घरका सबै उसलाई खोज्दै त्यहीँ आइपुगे । धामी बाले सबै कुरा भने । अग्रताले पनि देखेको कुरा भनी ।
धामी बाले भने– ‘यो कुभिन्डे भूत हो, यसले मार्ने–मराउने कामचाहिँ गर्दैन, खाली तर्साउने काम मात्र गर्छ । यो पूर्णिमाको अघिल्लो दिन (चतुर्दशी) मा खोला–खहरेका किनारतिर हिँड्छ । कोही मान्छे देख्यो भने तर्साउने उपाय निकालिहाल्छ र सातै जाने गरी तर्साउँछ । तर नानी † अरू कारणले पनि रातको समयमा एक्लै हिँड्न हुँदैन । हिँड्नै परे घरका मान्छे वा साथीहरूलाई बोलाएर आउनुपर्छ । अबदेखि त्यसै गर है †’
खाना खाईवरी विद्यालय गएपछि अग्रताले कुभिन्डे भूतका बारेमा सबै कुरा सुनाई । सबै साथी छक्क परे । रातको समयमा एक्लै हिँड्न नहुने कुरा सबैले मनमा राखे ।
केही दिनपछि धामी र उसका हजुरबुबा भेट भए । धामीले सोधे– ‘अब त नातिनी रातिराति एक्लै हिँड्दिनन् होला नि †’ हजुरबाले भन्नुभयो– ‘अहँ अचेल त चाँडै आइपुग्छे, ढिलो हुनेजस्तो भयो भने पनि कि त साथीहरूलाई एक छिन् पर्ख सँगै जानुपर्छ भन्छे । नभए तिनै ‘साथीहरूलाई घरमा पुगेर बुबालाई लिन पठाइदिनू है’ भन्दै खबर पठाउँछे ।’ खासमा अग्रताको एक्लै हिँड्ने बानी सुधार्न धामी र हजुरबुबाले नाटक गरेका थिए । उनीहरूले कुभिन्डो डोरीले बाँधेर गुडाएका थिए ।

प्रतिक्रिया