राष्ट्रियतामाथि हस्तक्षेप

वीरगन्जस्थित भारतीय दूतावासका कन्सुलर एसडी मेहताले नेपाली जनतामा रहेको सद्भाव बिथोल्न नांगो हस्तक्षेप गरेका छन् । उनले मधेसका नेताहरूलाई एकै स्थानमा बोलाएर मधेस आन्दोलन चर्काउन दिएको निर्देशनलाई भारतीय दबदबाको चरम नमुनाका रूपमा लिन सकिन्छ । नेपालको राजनीति संकटपूर्ण देखेपछि आफ्नो इच्छाबमोजिम यहाँका नेताहरूलाई काम गर्न आदेश दिने मेहता पहिलो व्यक्ति भने होइनन् । २००७ सालदेखि नै नेपालको राजनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भारतीयहरूको हस्तक्षेप रहँदै आएको छ । केही दिनअघि मात्र एमाओवादी र नेपाली कांग्रेसका शीर्ष नेताको बैठकमा भारतीय राजदूत जयन्तप्रसादको सहभागिताको खबर सेलाउन नपाउँदै मधेसका नेतालाई मेहताले निर्देशात्मक सल्लाह दिएर मधेसमा आन्दोलन चर्काउन दबाब दिएका हुन् । यसले नेपालको स्वतन्त्रता, सार्वभौकिता र अखण्डतामाथि नै प्रश्न उठाएको छ । नेपालका लागि लज्जाजनक, खेदपूर्ण र अपमानजक कार्य गर्ने मेहताले कूटनीतिक मर्यादा मात्र उल्लंघन गरेका छैनन्, नेपाली राष्ट्रिय अस्मितामाथि नै धावा बोलेर हाम्रो सामाजिक सद्भावविरुद्ध पनि उभिएका छन् । तसर्थ, नेपाल सरकारले मेहतालाई तुरुन्त उनकै देश फिर्ता पठाउनुपर्छ ।
नेपालको राजनीतिक अवस्था आफैँ धरापमा छ । शान्ति र संविधानका लागि भएका प्रयास परिणाममुखी बन्न सकिरहेका छैनन् । संघीयतातर्फ अग्रसर भइरहेको यो मुलुकले थाम्नै नसक्ने गरी आन्दोलनहरू भोगिरहेको छ । तराईदेखि हिमालसम्म, मेचीदेखि महाकालीसम्म जातीय र क्षेत्रीय राज्य हुनुपर्ने साथै अखण्ड राखिनुपर्नेजस्ता विभिन्न माग राखेर विभिन्न संघसंगठनसँगै जनता सडकमा ओर्लिएका छन् । राष्ट्र हाँक्न सक्ने, समस्याको समाधान गर्न सक्ने र प्राप्त उपलब्धिलाई दिगो र व्यवस्थित गराउन सक्ने नेतृत्वको अभाव नेपाल विगतदेखि नै भोगिरहेको छ । परिणामस्वरूप जहिले पनि यो मुलुक राजनीतिक अस्थिरता र आन्दोलनबाट गुज्रिन विवश छ । यी सबै गतिविधि नजिकबाट नियालिरहेका छिमेकी मुलुक भारतका कूटनीतिक नियोगका व्यक्तिहरू अहिले हस्तक्षेपकारी भूमिका निर्वाह गरिहेका छन् । नेपाली नेताहरूको योग्यता, क्षमता, कार्यशैली र दास मनोवृत्ति छ भन्ने उनीहरूले राम्रैसँग बुझिसकेका छन् । यही अवस्था आफ्नो अभीष्ट पूरा गर्न उनीहरू ठाडो हस्तक्षेपमा ओर्लिएका हुन् । यो नेपाली नेताहरूको कमजोरीका कारण भएको हो, जसलाई नेतृत्वले सुधार्नुपर्छ । मेहताको कार्य एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रका लागि ग्लानीको विषय हो । यस्ता गतिविधि नरोकिने हो भने नेपालको स्वतन्त्र राष्ट्रको अस्तित्व गुम्न सक्छ । नेपाली जनता विभिन्न कारणले भारतप्रति सशंकित छन् ।
नेपाली जनता आफ्नो मुलुकप्रति भारतले समानता र सम्मानको व्यवहार गरोस् भन्ने चाहन्छन् । तर, भारतबाट कहिल्यै पनि समानताको व्यवहार हुन सकेको छैन । मेहताको निर्देशन पनि त्यसैको उपज हो । तराईमा आन्दोलन रोकिएको, सामाजिक सद्भाव कायम भएको र वातावरण शान्त बन्दै गएपछि मेहताले आन्दोलन चर्काए आफूले सहयोग गर्ने बताए । नेपाल सरकारद्वारा तराईका बारेमा हुँदै गरेको निर्णयले आफ्नो हृदय छियाछिया भएको बताउँदै आन्दोलन थाल्न दबाबपूर्ण निर्देशन दिने उनले हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गरेका छन् । स्वाभिमानी नेपाली जनताको भावनामा चोट पुर्‍याएका छन् । र, हाम्रो स्वतन्त्र अस्तित्वमाथि नै धावा बोलेका छन् । यस्ता हस्तक्षेपकारी कार्य तुरुन्तै रोकिनुपर्छ । कूटनीतिक मर्यादा उल्लंघन गरेर हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गर्ने जोकोहीलाई पनि सरकारले फिर्ता पठाउनुपर्छ । साथै नेपाली नेताले पनि राष्ट्रलाई नै कमजोर पार्ने गतिविधिमा सरिक हुने कार्य रोक्नुपर्छ । कोही कसैबाट पनि नेपाल राष्ट्रलाई कमजोर पार्ने गतिविधिहरू हुनु हुँदैन । यसका लागि सबै सजग र सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया