अमृतको तात्पर्य : जीवनको उत्सर्ग


विष अमृतमय होय’ –शब्द सुन्दा बडो सरल र सहज लाग्छ । जबसम्म हामी यी शब्दका गहिराइमा पुग्दैनौँ, शब्दको अर्थवत्ताको अनुभव गर्दैनौँ तबसम्म सही अर्थमा हामी मनुष्य बन्न सक्दैनौँ । किनभने मनुष्य एक यस्तो उच्च र विविज्ञ आत्मा हो, जसको शरीरमा ईश्वरले अमृत र विष बराबर हालिदिएका छन् । जहाँ हाम्रो जीवनमा विषको जरुरत छ, त्यहाँ अमृतको पनि आवश्यकता हुन्छ । हाम्रा देवतामा जहाँ भगवान् विष्णु पूर्ण अमृतमय मानिएका छन् त्यहीँ भगवान् शिव पूर्ण विषमय छन् । अमृतको तात्पर्य हो– शरीरमा केही यस्तो क्रिया उत्पन्न गरिदिनु, जसले कोही नमरोस् ।
अमृतको तात्पर्य हो जीवनको उत्सर्ग, उचाइ, श्रेष्ठता, दिव्यता र चेतना । हामीलाई जीवनको यो चेतना, पूर्णता, दिव्यता प्राप्त हुनुपर्छ । तर, यो चेतनाको अर्को पाटो, विम्ब, अर्को पाश्र्व र हिस्सालाई दबाइयो भने त्यो विष स्वत: अमृतमय बन्छ । जबसम्म हामी विषको न्यूनतालाई दबाउँदैनौँ, विषको घटियापनलाई अनुभव गर्दैनौँ तबसम्म हामी एक साधारण, बेकारको तुच्छ मानिसमा गनिन्छौँ । साधारण मानिसका रूपमा बाँच्नु कुनै महान् कार्य होइन । गुमनाम व्यक्ति भएर बाँच्नु जीवनको दुर्भाग्य हो । जोसँग संघर्ष छैन, चेतना छैन, उमंग छैन, पौरुष छैन, पुरुषार्थ छैन, सौन्दर्य छैन त्यो मृतवत् मानिस हो ।
विषको प्रादुर्भाव क्रोधबाट हुन्छ । क्रोध स्वयं ‘रियाक्ट’ भएर विष बन्न जान्छ । कहिलेकाहीँ साल, दुई सालमा एकपल्ट क्रोधले पक्कै पौरुषतालाई प्रतिविम्बित गर्ला । अघिकांश समय हामी जीवनमा विष उकेलिरहेका हुन्छौँ, विष निर्माण गरिरहेका हुन्छौँ भने जीवन स्वयं विषमय बन्न जान्छ । यस्तो जीवनको कुनै मूल्य छैन । जुन जीवनको कुनै हेतु छैन, लक्ष्य छैन, त्यस्तो जीवनको मूल्य छैन, कुनै महत्त्व छैन । क्रोधले सम्पूर्ण जीवनलाई घटिया, तुच्छ, सारहीन र तथ्यहीन बनाइदिन्छ । उच्चकोटीको व्यक्तित्वले विषलाई दबाएर राख्छ, यस्तो अभ्यास गर्दछ कि विषलाई प्रभावी हुनै दिँदैन ।
महाभारत युद्धपहिले कौरब र पाण्डव दुवैथरीको सभा बस्यो, धृतराष्ट्र सिंहासनमा थिए, देवदूत बनेर । शान्तिदूत बनेर भागवान् श्रीकृष्ण सभामा पुगे । सबै राजाहरू खडा भए र अभ्यर्थना गरे । कृष्णले भने– म द्वारिकाको एक राजाका रूपमा तपाईंहरूका सामु उपस्थित भएको होइन । म पाण्डव या कौरबको पक्ष लिनका लागि आएको पनि होइन । म कुनै स्वार्थबाट वशीभूत भएर आएको होइन । यो सभाका अधिकांश मानिसको शरीरमा विष भरिएको छ । म यही विषय समाप्त गर्न आएको हुँ । किनभने धृतराष्ट्रका अधिकांश पुत्र क्रोधमय छन्, उनीहरूसँग कुनै अर्को साधन छैन । त्यसैले क्रोध छ । जो निर्बल छ, कमजोर छ, मन्दबुद्धि छ, त्यसले नै क्रोध व्यक्त गर्छ । जो धीर–गम्भीर छ उसले क्रोधलाई पचाएर अमृतमय बनाइदिन्छ । यसर्थ म यहाँ एक विशेष सन्धिको प्रस्ताव लिएर आएको छु, ताकि यो महाभारत युद्ध टार्न सकियोस् । यो युद्ध टर्‍यो भने लाखौँ, करोडौँ मानिसको ज्यान बच्नेछ । यो सारा भूमि जो रक्तरञ्जित हुने सम्भावना देखिँदै छ, त्यो पुन: हराभरा हुनेछ ।
दुर्योधनले उभिएर कृष्णलाई अपशब्द बोले । दु:शासनले उनलाई अत्यन्त स्वार्थी कपटी, धोकेबाज, विश्वासघाती, पाण्डवको पक्षधर भनेर गाली गरे, खचाखच सभामा आएका साना–साना राजाहरूले यसलाई सुनिरहे । भीष्मजस्ता ज्ञानी व्यक्ति पनि बोल्न सकेनन्, द्रोर्णाचार्यजस्ता गुरु पनि चुपचाप बसिरहे । तर पनि कृष्णले यो विषलाई अमृतमय पार्दै सुनिरहे । जब दु:शासनको बोली रोकियो शिशुपाल उठेर सभामा कृष्णलाई दुर्वचन बोल्न थाल्यो । कृष्ण बोले– शिशुपाल अति भयो यो † म कायर र मन्दबुद्धि भएर यहाँ आएको होइन । म स्वयं क्षमतावान् छु, यदि तँ थोरै मात्र अगाडि बढिस् भने म जे पनि गर्न सक्तछु किनभने यो नीति मानिनेछ । शिशुपालले भन्यो– तिमी के गर्न सक्छौ ? तिमी कायर हौ, मन्दबुद्धि हौ । यसरी शिशुपालले जब सयौँ वचनले प्रहार गर्‍यो । श्रीकृष्णको सुदर्शन चक्र चल्यो, शिशुपालको सिरै काटेर फ्याँकिदियो । यो अत्यन्त ठूलो घटना भयो । एक साधारण क्रोधले सभालाई विषमय बनाइदियो । एउटा सानो क्रोधले महाभारत युद्धको बीजारोपण गरिदियो ।
दुर्योधन रंगमहलमा डुलिरहेका थिए, द्रौपदी बसेर कपाल मिलाउँदै थिइन् । त्यो रंगमहल यस्तो थियो कि जहाँ जमिन थियो त्यहाँ पानी देखिन्थ्यो, जहाँ जल थियो त्यहाँ जमिन । दुर्योधनलाई पानी हो भन्ने लगेछ र आफ्नो कपडा उचालेर हिँड्न थाले, जबकि त्यहाँ जमिन थियो । र, अलि अगाडि बढेपछि यो जमिन हो भन्ने लागेर पाइला राख्दा छ्वाप्लांग पानीमा खस्न पुगे । त्यो वास्तुकलाको अद्वितीय रचना थियो । जमिन भएको ठाउँमा पानी देखिने, पानी भएको ठाउँमा जमिन । द्रौपदी हाँसिन् । द्रौपदीले यति मात्र भनिन्– अन्धोबाट अन्धो नै जन्मिन्छ । यही एक वाक्यले इतिहासको पूरा धारा बदलिदियो । यो क्रोधको एक सानो झिल्कोले लाखौँ मानिसको ज्यान लियो, करोडौँ मानिस घाइते भए, हजारौँ आमा पुत्रहीन भए, हजारौँ स्त्री विधवा भए । यो सब किन भयो ? किनभने उनीहरूले क्रोधलाई अमृतमय बनाउन जानेनन् । विषलाई अमृतमय, बनाउने क्रिया सिकेनन् । जबतक विष अमृतमय, हुँदैन जबसम्म विषलाई पचाउने क्षमता हुँदैन यस्तो अनर्थ भइरहन्छ । त्यतिबेलासम्म एक पुत्र कुपुत्र बनिरहन्छ, एक पिता अधर्मी भइरहन्छ, तबसम्म एक पत्नी कुलटा बनिरहन्छे तबसम्म त्यो समाज दूषित बनिरहन्छ, तबसम्म समाजमा युद्ध भइरहन्छ, सारा पृथ्वी विषबाट सिञ्चित भइरहन्छ ।
अनुवाद–शिव ढकाल
(निखिलमन्त्र विज्ञान पत्रिकाबाट)

प्रतिक्रिया