मजदुर आन्दोलनका लडाकु


हाल काठमाडौंको सुन्दरीजलस्थित बिपी संग्रहालयमा नयाँ गहना थपिएको छ– एउटा पुरातात्त्विक एवं ऐतिहासिक ट्यांक । यो ट्यांकविना संग्रहालय अपूरोजस्तो मानियो । केही दिनअघिसम्म यो सुनसरीको अमडुवा गाविसस्थित मोरङ सुगर मिलको कृषि फर्ममा थियो । फर्म बन्द भए पनि त्यो ट्यांक स्थानीय बासिन्दाले कवाडीमा बेचिनबाट जोगाएर राखिरहेका थिए । यसलाई निकै माया गर्थे । यसै कारण गत माघमा पुरातत्त्व विभागले ट्यांक बिपी संग्रहालय पुर्‍याउँदा यसलाई स्याहारिरहेका बासिन्दाले आफ्नो सम्पत्ति खोसिएको अनुभूति गरेका थिए ।
त्यही ट्यांक बनाउने मिस्त्रीमध्येका एक हुन् ८४ वर्षे रघुनाथप्रसाद गुप्ता । त्यसबेलादेखि विराटनगर–२१ रानीस्थित विराटनगर जुटमिलअगाडि सानो घर बनाएर बस्दै छन् उनी सपरिवार । २००७ सालको क्रान्तिमा सक्रियता देखाएका उनलाई कतै आफ्नो इतिहासै मेटिने हो कि भन्ने चिन्ता छ । जवानीका बेला जुटमिलमा कठिन श्रम गरेका उनले मजदुरहितका आवाज उठाउनमा जीवन समर्पण गरे । यस क्रममा स्वर्गीय नेताहरू बिपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालासँग नजिकिने मौका पाएका रहेछन् । यो प्रसंग सम्झाउँदा बिरामीले थलिइरहेका उनी एकाएक ऊर्जाशील हुँदै सुनाउन थाले, ‘मनमोहनजी र म त लगौँटियारोजस्तै थियौँ ।’ सन् १९३६ तिर नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुटमिल स्थापना भयो । सञ्चालक थिए, कलकत्ताको हावडाका राधारमण चिमोरिया । रघुनाथका बाबुबाजे पनि उतै बस्थे । चिमोरियाले रघुनाथका बुबा विपिनरामलाई विराटनगर ल्याए । कुशल अटोमेकानिक्स विपिन जुटमिलका पार्टपुर्जा मरम्मत गर्नमा अब्बल कर्मचारी मानिए । उनको परिवार जुटमिलको गेटअगाडि पान दोकान चलाउन थाल्यो । त्यो दोकान जुटमिलमा काम गर्ने सर्वहाराहरूको भलाकुसारी गर्ने अड्डा थियो ।
रघुनाथलाई याद छ– सन् १९४७ मा जुटमिलमा श्रमिक आन्दोलन भयो । हजारौँ मजदुर जुर्मुराएर उठे । मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, युवराज अधिकारीलगायतले नेतृत्व गरेका थिए । त्यतिबेला १४ वर्षका रघुनाथ पान बनाउन सिपालु भएकाले दोकानतिरै धेरै बस्थे । मदजुरहरू जुटमिलभित्र योजना बनाउन मिटिङ बस्थे । बाहिर पान दोकानमा रघुनाथको सक्रियतामा गठित बालमण्डलीमा सर्वहाराका किशोरहरू संगठित थिए । उनीहरू कम्युनिस्ट विचारलाई (मजदुर अधिकारलाई) फैलाउँथे । दोकानमा सबैको जमघट हुने भएकाले सूचना फैलाउन सजिलो थियो ।
यो बताउँदै गर्दा भर्खरै मिर्गौला र मूत्रासयको उपचार गराएर पटनाबाट फर्किएका रघुनाथ आफ्नो बिमारसमेत बिर्सिरहेको अनभूति गरिरहेछन् । त्यस्तै सक्रियता देखाइरहेछन्, जति सक्रिय ऊबेला थिए, ‘बालमण्डलीबाटै हामी कम्युनिस्ट बनिसकेका थियौँ ।’ उनका स्मृति झन् ताजा हुँदै छन्– मनमोहन रानीमा रहेको केमिकल उद्योगमा काम गर्थे । गिरिजाप्रसाद गणपति कटनमिलमा काम गर्थे । सन् १९४७ मा उनीहरूले सबै उद्योगका मजदुरलाई उतारेर विशाल जुलुस प्रदर्शन गराएका थिए, प्रजातन्त्रको पक्षमा । ‘तर, त्यतिखेर आन्दोलन दब्यो,’ गुप्ता सुनाउँदै छन्, ‘खै के–के भयो, आन्दोलन एक्कासि शान्त भयो ।’
सन् १९४८ देखि ५० मा बन्द नहुन्जेल रघुनाथले पनि जुटमिलको वर्कसपमा काम गरेछन् । उनका अनुसार त्यत्तिखेरै कम्युनिस्ट पार्टी बनिसकेको थियो । बाबु विपिन पार्टीका संगठित सदस्य थिए । आज छोरानातिको स्याहारमा छन् गुप्ता । नेपाली आन्दोलनको एउटा हिस्सा बन्न पाउँदाको गौरवानुभूतिले उज्यालिएको उनको मुहार गर्विला शब्दहरू अभिव्यक्त गरिरहेकै छ, ‘कलकत्ता गएर खोलेका थिए मनमोहनले पार्टी, उतैका मान्छे आएर हामीलाई जुटमिलभित्र प्रशिक्षण दिन्थे ।’ मनमोहनहरूले नै जुटमिलमा ट्रेड युनियन गठन गराएका रहेछन्, नैनलाल भन्ने व्यक्ति सेक्रेटरी तोकिएछन् ।
रघुनाथको परिवारले गेटअगाडि खाना नास्ताको होटल खोलेपछि त्यसलाई पार्टीको होटल भन्न थालिएछ । मनमोहन विराटनगर आउँदा त्यहीँ बस्थे रे । ‘२००७ सालमा त्यत्तिकै विराटनगरमा आक्रमण भएको थिएन’, ऐतिहासिक घटनाका यी साक्षी बेलीविस्तार लगाउँदै छन्, ‘जुटमिलभित्रै बनाइएका र बाहिरबाट ल्याएर गोदाममा लुकाइएका हतियार प्रशस्तै थिए, जुटमिलको वर्कसपमा कलकत्ताबाट हेड मिस्त्रीको बहानामा दुईजना बोलाइएका थिए । खासमा उनीहरू आजाद हिन्दु संघका मान्छे थिए । उनीहरूलाई सबैले खतराबाबु भन्थे, बन्दुक र कतिपय हतियार उनीहरू नै मर्मत गर्थे ।’ रघुनाथलाई याद छ, ‘एकचोटि शनिबार राति भारतबाट बन्दुक ल्याएको सुइँको राणाका प्रहरीले पाएछन्, वर्कसपमा आएर खानतलासी गरे । तर, उनीहरूले जसोतसो जोगाएछन् ।’ उनी सम्झन्छन्, ‘वर्कसपभित्रै गोलाबारुद बनाउँथ्यौँ, नरिवल आकारको बम हुन्थ्यो, कसैले थाहै पाउँदैनथे ।’
त्यही वर्कसपभित्रै स्वरूप विस्तार गरेर बनाइएको थियो त्यो ट्यांक पनि । यसका लागि रघुनाथसहित वर्कसपका पञ्चनारायण दास, रामनारायण दास, विश्वनाथप्रसाद गुप्ता, मोहमोद्दिन मिस्त्रीलगायत खटिएका थिए रे † त्यही ट्यांक विराटगरस्थित बडाहाकिमको गोश्वारा भत्काउन प्रयोग गरिएको र सफल पनि भएको सुनाउँछन् रघु । उखु पेल्न मोरङ सुगर मिलमा ल्याइएको मेसिनलाई चक्का र गोलीले नछेड्ने दह्रो फलामेबार लगाएर सो ट्यांक बनाइएको रहेछ । जहाँभित्र दर्जनौँ मान्छे अट्न सक्थे । रघुका अनुसार बन्दुकसहित जुटमिलबाट गुडाएर विराटनगर ल्याई गोश्वारामा आक्रमण गरिएको थियो । आक्रमणपछि मिलको कृषिफर्ममा लगेर लुकाइएको थियो । आन्दोलन चर्किएपछि उनका साथीहरू विश्वनाथप्रसाद गुप्तालगायत जेल परे पनि उनीचाहिँ सहायक मात्र भएको भन्दै जोगिएछन् ।
‘विराटनगर जुटमिल सञ्चालन हुँदा रानी क्षेत्रको चहलपहल नै अर्कै थियो, हजारौँले रोजगारी पाएका थिए, अहिले हेर्दाहेर्दै सुनसान भयो,’ उनले चिन्ता गरे । मनमोहनको नौमहिने शासनकालमा उनले मिल चलाउन आग्रह गरेछन् । सञ्चालन पनि भएछ । तर, अन्तरिक भ्रष्टाचारले गाँजेपछि सरकारले सबै मजदुरलाई पेअफ बिदा गरेर फेरि बन्द गराइदिएछ । मिल बन्द भएर राज्यको अर्बाैंको सम्पत्ति कवाडी बन्दै गएको विराटनगर मिल्स एरिया देख्दा उनको मन कटक्क खाँदो रहेछ, ‘सरकारले सक्दैन भने पब्लिकलाई चलाउन दिनुपर्छ, पुराना संरचना थुप्रै नासिए, यसलाई जोगाउनुपर्छ ।’

प्रतिक्रिया