एक समय आफैँसँग

मसँग पनि त गुमाउनलाई निकै कम कुराहरू मात्रै छन् । सायद त्यसैले, सधैँ तँलाई आफ्नो समीपमै देख्न चाहन्छु ।’ यो एउटा सत्य । सत्यको यही भारी बोकेर म उभिएको रहेछु । अनि त्यसैले थिचिएर निचोरिँदा निचोरिँदै आँसु झरेछ । त्यति नै बेला पृष्ठभूमिमा घन्टी बजेको सुनेँ । घन्टीको तरंगले मलाई भित्रैसम्म स्पर्श गथ्र्यो तर त्यसले दिने संकेतले म अत्तालिन्थेँ । हरेक कुराको समय मिलाइएको त्यो ठाउँमा, लाग्थ्यो, सबैभन्दा ठूलो सत्य त घन्टी पो रहेछ ।
एक्लोपना एउटा लत भएको थियो मेरानिम्ति । धेरैपल्ट त्यो म नै थिएँ, जसले आफूलाई हरेक कुराहरूबाट अलग्याइरह्यो । जोसँग हुँदा पनि म रिसाइरहेँ धेरैपल्ट । कतिपल्ट त यो पनि थाहा हुँदैनथ्यो कि म किन रिसाएँ । त्यसरी एक्ल्याइरहन्थेँ म आफूलाई । तर, आत्मीयताविहीन त्यो माहोलमा मैले जीवनको एउटा अति महत्त्वपूर्ण ज्ञान प्राप्त गरेँ– ‘एक्लो हुनु भनेको सबैभन्दा असहनीय यातना हो ।’ जेजस्तो भए पनि मान्छेहरूकै भिडमा रहेको मान्छे म । लाग्थ्यो, भागेर कतै निर्जन बस्तीमा पुगेँ भने मैले शान्ति पाउँछु । तर, त्यो निर्जनजस्तै ठाउँमा पुगेपछि मलाई खाली विभिन्न अनुहार याद आइरह्यो । मान्छे अनि ती सँगसँगै प्रकाशले झल्काउने मानसिकताका विभिन्नता मैले गुमाएँ जस्तो लाग्यो । ती अनुहार अनि प्रकाशमा परावर्तन भइरहने अनुहारका धर्साहरू, अभिव्यक्तिका छायाहरू– म तिनीहरूको भिन्नाभिन्नै कोलाज देख्थेँ धेरैपल्ट ।
‘एस् ब्लक’ उक्लिनेबित्तिकै दाहिनेपट्टी शौचालयको झ्यालबाट बाहिर हेर्थें । देख्थेँ– माटाको घर, घरअगाडि चौतारो, अनि हाँसिरहेका मान्छे । म निकैबेरसम्म त्यतै हेरिरहन्थेँ । घन्टीले घरिघरि झस्काइरहन्थ्यो । तैपनि मेरा लागि त्यो मन भुलाउने उपाय भएको थियो । भुटानी शरणार्थी नेता टेकनाथ रिजालको आत्मकथा ‘निर्वासन’ सम्झिन्थेँ । उनलाई राखिएको कारागारको कोठाको सानो प्वालबाट बाहिर हेर्दा देखिने चौर, चौरमा खेलिरहेका चरा, कुकुरहरू भुक्दै दौडिरहेका– बेलाबेलामा त्यही प्वालबाट मुसाहरू ओहोरदोहोर गर्थे । त्योभन्दा धेरै खुला परिवेशमा म थिएँ तर एकदमै बाँधिएको थिएँ । विपश्यना केन्द्रको अफिसमा फर्म भर्दाखेरि नै सम्झौता गरिसकिएको थियो– त्यहाँ बस्ने अवधिभर बोल्न पाइँदैन, बाहिरी संसारबाट विच्छेद हुनुपर्छ, हरेक कुरा तोकिएको समयबमोजिम गर्नुपर्छ ।
म बोल्न खोज्थेँ तर अरूहरू बोल्न खोज्दैनथे । ओठभरि हाँसो लिएर हिँड्थेँ तर बदलामा म केही पनि पाउँदिनथेँ ।
आँखा बन्द गरेर ध्यानको मुद्रामा बस्नेबित्तिकै धेरै कुरा खेल्थे मनमा । बस्दा–बस्दा गर्धनदेखि कम्मरसम्म दुखेर सहनै नसक्ने हुन्थ्यो । आमालाई सम्झिन्थेँ । मालिस गर्ने मलम लगाएर मिचिदिनुहुन्थ्यो । त्यहाँ कसलाई भन्थेँ र ? गएको दोस्रो दिनदेखि नै मलाई एक्लोपनाले यस्तोसँग अत्यायो कि, सोच्थेँ, भाग्न पाए हुन्थ्यो । झन्डै १२ वर्षअघि स्कुलमा होस्टेलमा बस्दाको बेला सम्झिएँ । मलाई निकै अत्यास लाग्यो र एकदिन आँखाभरि आँसु लिएर बुबासँग भनेँ, ‘म होस्टेल बस्दिनँ ।’ मेरो कपाल बिस्तारै चलाइदिँदै भन्नुभएको थियो, ‘हुन्छ नि त नबस्लास्, नरो अब ।’ सोचेँ, फोन गरेर ‘म बस्नै सकिनँ यहाँ, लिन आउनू’ भनेँ भने त आउनुहुन्थ्यो होला । ती सबै सम्झनाले निकै रुने बनायो मलाई । ‘एस् ब्लक’कै बरन्डाबाट काठमाडौं देखिन्थ्यो । म त्यता हेरिरहन्थेँ । त्यहीँ कतै म पनि एउटा विन्दू छु है जस्तो लाग्थ्यो । त्यसले झन् नरमाइलो बनाउँथ्यो । कि त पढिरहने/लेखिरहने/फिल्म हेरिरहने कि त साथीहरूसँगै भइरहने । केही न केही गरिरहेकै हुन्थेँ म । तर, त्यहाँका ती उदास दिनचर्याहरू अनि गर्ने कुनै काम नभएको अवस्था । कति धेरै कुरा खेल्थे मनमा । केही लेख्न पाए कमसेकम आफैँसँग संवाद त हुन्थ्यो । तर, लेख्ने कुरा पनि केही थिएन । झोलाको जाँच गर्दा रहेनछन् । कापी कलम राखेको भए पनि त हुन्थ्यो झैँ लाग्यो । सोचेँ, शिरीषका नीला फूलहरू निचोरेपछि नीलो रङ आउँछ अनि कान कोट्याउने छेस्का त्यो रङमा चोपेर लेख्छु । मसँग ट्वाइलेट पेपर थियो । तर, फूलहरू निचोर्दा रङ निस्किएन । रङ निस्किने कुरा खोज्दै थिएँ म । एकफेर साँझको भोजनमा आलुबखडा पनि रहेछ । गोजीमा राखेर गएँ कोठातिर । संयोग नै भनौँ, तल बाथरुमतिर झर्ने खुड्किलानेरै एउटा थोत्रो साइनपेन भेटेँ । साइनपेनको टुप्पो आलुबखडामा चोपेर बिस्तारै लेखेँ तर निकै पातलो कागज थियो त्यो, च्यात्तियो । झ्वाट्ट सम्झना आयो अनि दौडेर कोठामा गएँ । झोलाबाट मञ्जनको बाहिरी बोक्रा च्यातेर फैलाएँ र त्यसमै लेखेँ केही । पानी पिउने ठाउँको छेउमा बाँसघारीमुनि अर्को बोक्रा देखेँ । त्यो पनि टिपेँ । त्यसबाहेक मसँग मलमका दुइटा अरू बोक्रा पनि थिए । निकै जतनले लेखेँ मैले । तर, निकै मधुरो लेख्थ्यो । कति त मेटिए पनि । तैपनि लेखिरहेँ । साइनपेनमा बाँकी भएको अलिअलि रङ आलुबखडामा मिसाएर लेखेपछि कलेजी रङको देखिँदोरहेछ । मैलेचाहिँँ आलुबखडाको रङले लेखेको
होला भन्ने ठानेछु । पछि लेख्न छाड्यो तैपनि घोटिरहेँ ।
साँझमा म आकाश हेर्न खोज्दै हुन्थेँ तर अग्ला रूखहरूले आकाश छेकेका थिए । शिरीषका फूलहरू झरिरहन्थे । म खुब आनन्दित हुन्थेँ त्यतिखेर । अनि माथि शिरीषका रूखहरूतिर हेर्थें । ती रूखहरूका बीचको कुनै खाली ठाउँबाट अलिअलि देखिने आकाश अनि उज्यालो हेरेर म धेरैपल्ट उत्साहित भइरहन्थेँ । किनभने केहीबेरअगाडिको नरमाइलो भुल्न मैले हरप्रयत्न गर्नै पथ्र्यो । मलाई धेरै मान्छे भएको बेलामा खाना खाँदा निकै असहज हुन्थ्यो । म सकेसम्म छिटो खान्थेँ । त्यही बानी रहिरहेकै थियो साथी अनि समूहमा । खाँदाखाँदै पोखिन्थ्यो अनि ऊ गाली गर्थी, ‘अरू कसैले आएर खाइदिन्छ हो तेरो भाग ? अलि बिस्तारै खा न ।’ म लाचार हाँसो हाँस्थेँ । अनि न्याप्किन पेपर तानेर मेरो मुख पुछिदिँदै भन्थी, ‘मेरो जिन्दगी, तँलाई खान सिकाउँदैमा जाने भो । तैँलेचाहिँ कहिल्यै नसिक्ने भइस् ।’ म अकस्मात् अडिएको थिएँ अनि आँखाहरू भिजेका थिए । मेरो वरपर झन्डै सयजना जति खाँदै थिए, चुपचाप । सम्झनामा दृश्यहरू घुमिरहे तैपनि मैले आँसु झार्न सकिनँ । हरेकपल्ट खाना खाने बेलामा म त्यसैगरी सम्झनामा दुखिरहेँ अनि आँसु झार्न नपाउनुको छटपटीमा असन्तुलित भइरहेँ ।
जेलमा विनाप्रकाशको साँघुरो कोठामा राख्छन् नि कुनैबेला अपराधीलाई । हो, त्यस्तै शून्यागार थियो त्यहाँ । त्यहाँ पुगेको सातौँ दिन– ७ जुन मंगलबार, अपराह्न ३:४५ देखि ५:०० सम्म त्यही शून्यागारमा बसेर ध्यान गर्न लगाइएको थियो । लम्बाइ र चौडाइ जोड्दा मुस्किलले आठ फिटजति थियो होला । धर्मसेवकले आएर बत्ती निभाइदियो । निष्पट्ट अन्धकार– आँखा चिम्लिनु या खुलै राख्नुमा कुनै भिन्नता थिएन । ध्यान केन्द्रित गर्न खोजेँ तर आँखा बन्द गर्नेबित्तिकै अचानक यति धेरै कुरा हुँडलिएर आए कि मैले सम्हाल्नै सकिनँ आफूलाई । हरेक ती व्यक्ति, ठाउँ अनि सपनाहरू– जीवनका हरेक ती स्वाभाविक/अस्वाभाविक परिस्थिति अनि संवेदनाहरू जोसँग म गहिरोसँग जोडिएको थिएँ, सबै एकैपल्ट खेल्न थाले मभित्र । आँसु निरन्तर बगिरह्यो । तर, आवाज निकाल्न वर्जित थियो । छेउछाउका शून्यागारमा पनि मान्छे थिए । आवाज दबाउँदाखेरि झन् धेरै आँसु आयो । रुमाल झिकेर आँसु पुछिरहेँ । निष्पट्ट अन्धकारमा एक्लोपनाको त्यो चरम प्रहार, ५ बजेको घन्टी बज्दासम्म पनि म रोइरहेकै थिएँ । बाहिर निस्केपछिको त्यो उज्यालो एकदमै बिरानो लाग्यो । छेउकै शौचालयमा गएँ । ऐना हेरेँ– आँखाहरू सुन्निएका थिए । आफैँलाई देखेर साह्रै माया लाग्यो । झन् मान्छेको स्पर्शविनाका ती पल । साथीहरूको समूहमा अंकमाल गर्दाखेरिका क्षणहरूको एकदमै सम्झना आइरह्यो ।
विपश्यनाका प्रमुख आचार्य सत्यनारायण गोयन्काले भनेका कुरा सुनाइन्थ्यो हामीलाई । कति ठीक कति बेठीक लाग्थे । आफ्नो मन, मस्तिष्क अनि शरीरमा ध्यानकेन्द्रित गर्ने कुरा ठीक लागेको थियो तर त्यसको उद्देश्य मैले कसैगरी मान्न सकिनँ । भनिन्थ्यो, विकारहरू निकालेर चित्त शुद्ध बनाउनुपर्छ त्यसपछि बल्ल सबथोक अनित्य हुने यो संसारबाट मुक्ति पाइन्छ । म झस्किएँ किनकि प्रेम, आशक्ति, माया, मोह, काम, क्रोध, लोभलगायतका सबै स्वाभाविक संवेदनाहरूलाई विकार भनिएको थियो । यी सबै आफैँमा विकारयुक्त कहिल्यै पनि थिएनन् । प्रस्तुत हुँदाखेरि यिनका स्वरूपमा विकार देखिएको अवश्य सत्य हो तर यी सबै स्वाभाविक संवेदनाहरू हुन् । सोध्न चाहन्थेँ, मुक्ति किन र केका लागि चाहियो ? जीवनका स्वाभाविकताहरूबाट विच्छेद भएर मुक्त हुन खोज्नु– त्यसको औचित्य के ? जीवनभन्दा पर कुनै पनि सत्य हुँदैन । सत्य, असत्य जे भने पनि त्यो जीवनभित्रै हुन्छ । देखिँदै नदेखिएको/अन्योलग्रस्त अनि औचित्यहीन मुक्तिको लालसामा जीवनका स्वाभाविक संवेदनाहरू नकार्न सकिन्छ/मिल्छ ? जीवन शून्यदेखि शून्यसम्मको यात्रा हुन सक्छ तर यात्राका क्रममा त्यो शून्यलाई सकेसम्म भर्ने प्रयास गर्छौं हामी । हरेक कुरालाई नकारेर शून्यबोध गर्नु अनि तथाकथित मुक्तिको खोजी गर्नु– त्यसो भए जीवनको औचित्य के ?
हो, मान्छे निराश हुन्छ तर निराशाका बीजहरू जीवनभित्रै हुन्छन् र तिनलाई निमिट्यान्न पार्ने आशाहरू पनि जीवनभित्रै हुन्छन् । धेरैपल्ट, आफ्नो हुनुको कुनै प्रायोजन नदेखेर मैले चाहेको थिएँ भाग्न यी सबथोकबाट । हुन सक्छ, भोलिको दिनमा पनि हरेक कुरा मेरा लागि बाधा भएर आऊन् अनि तिनमा मैले कुनै उत्साह र जिउनुको औचित्य नभेटूँ । तर, ती सबै परिस्थितिले निम्त्याउने कुरा हुन् । विनाकुनै परिस्थिति, विनाकुनै प्रयास अनि विनाकुनै स्विकारोक्ति हरेक कुरा नकार्नुलाई मैले कहिल्यै पनि मानिनँ र मान्दिनँ पनि । धेरैकुरा हुन सक्छन् तर यी सबथोकबाट अनाशक्त हुन म सकिनँ । सायद त्यसैले, तथागत या बुद्ध हुन पनि सकिनँ । सकिनँ के, चाहिनँ म आफैँले । किनभने जीवनका हरेक बाटामा आफ्ना सपना ओछ्याएर हिँडेको मान्छे कसरी अनाशक्त हुन सक्छ ? हो, सकेसम्म प्रयत्न गर्छ मान्छेले उदासीहरूलाई पन्छाउन । आशा भन्ने एउटा महत्त्वपूर्ण तत्त्वले जीवनलाई बाँधेको हुन्छ । सपनाहरू भत्किँदा दुख्छ नि दुख्न त । तर, यसको मतलब सपना देख्नै छाड्नु ? सबै सोच, कल्पना अनि सिर्जनशीलताले बनाएका संरचना भत्काउनु ?
एकपलमै मनले एउटा महायात्रा गर्छ । त्यहीक्रममा जीवनका यति धेरै विविधताहरू
देख्छ कि ती सबैलाई स्विकार्दै जान्छ । अनि आफूलाई अनुकूल र आवश्यक हुने कुराहरू लिन्छ । यसरी नै चल्छ जीवन/सभ्यता/मानवता/अस्तित्व/विकास । जीवनभित्रका विविधता नै हुन्, जसलाई
हामी सत्य या असत्य भनेर आफू अनुकूल स्विकार्छौं– बाँचिरहन्छौँ ।

प्रतिक्रिया