सोल्टीमोडकी सुन्दरी

मोडलिङ क्षेत्रलाई उति राम्रो नजरले हेर्दैनन् मान्छेहरू । यसैलाई पेसा–व्यवसाय बनाएकाहरू वर्षौंदेखि यो ‘सोच’को प्रतिकार गरिहेछन् । मोडलिङका सकारात्मक पक्षहरूको वकालत गर्दै नयाँ पुस्तालाई निष्फिक्री यसमा लाग्न आह्वान गरिरहेछन् । काठमाडौं सोल्टीमोडकी सुनीता श्रेष्ठलाई पनि यसको आकर्षणले झ्याप्पै तानेको छ । उनी तयार भएकी छन्– विभिन्न आकर्षक अदाहरूका साथ र्‍याम्पहरूमा आफ्नो सौन्दर्यको नमुना प्रस्तुत गर्न ।
सानैदेखि हृदयमा सुसाउन सुरु गरेको मोडलिङको रस १९ वर्षे भरिलो जोवनमा आइपुग्दा अब व्यावसायिक बहावमा पस्ने तर्खरमा छ । अहिलेचाहिँ मोडलिङ अनुरागीहरूका बीच बिल्कुल नयाँ छिन्, रंगीन दुनियाँकी नवोदित यौवना । तर, उनको मोडलिङप्रतिको अनुराग निकै परिपक्व छ– जसरी पनि प्रोफेसनल मोडल भएरै छाड्छु, सबैका सामु चिनिएरै छाड्छु । त्यसो त ५ फिट ४ इन्च हाइटको मिलेको जिउडालले पनि उनलाई ‘तँ आँट म पुर्‍याउँछु’ भनिरहेझैँ लाग्छ । साथीहरू र परिवारले यसका लागि गतिलै ब्याकफोर्स गरिरहेको उनले सुनाइन् । भनिन्, ‘चाँडै काठमाडौंमा हुने र्‍याम्प सोमा उत्रिँदै छु, अहिले त्यसैको तयारीमा व्यस्त छु ।’
उनलाई पनि थाहा छ, मोडलिङप्रति सबैको सोच सकारात्मक छैन । यो सोच परिवर्तन गराउन आफ्नो तर्फबाट पनि हुनेसम्म प्रयास गर्ने उनको लक्ष्य छ । भनिन्, ‘तर, मोडलिङ गर्न भनेजति सजिलो पनि कहाँ छ र ?’ यो यात्रालाई सजिलो बनाउन र स्पर्धाहरूमा खरो उत्रिन आवश्यक प्रशिक्षणमा अहिले निकै घोटिइरहेकी रहिछन्, प्लस टुकी यी विद्यार्थी । ग्ल्यामर क्षेत्रमा सेक्स र आकर्षणका कुराहरू आफसेआफ जोडिएर आउँछन् । यिनै कुरालाई लिएर अनेक शोषणका सम्भावनाहरू पनि औँल्याइन्छन् र मोडलिङ हल्का बदनाम भइरहन्छ । सुनीता भन्छिन्, ‘शोषण भन्ने कुरा अरूले गर्ने होइन, आफैँमा भर पर्छ ।’ नेपाली सेलिब्रिटीमध्ये नायक आर्यन सिग्देलकी फ्यान उनी सेक्सबारे उति कठोर धारणा राख्दिनन् । भन्छिन्, ‘यो प्राकृतिक नियमै हो, जसले सम्बन्ध एकदमै ‘क्लोज’ रहेको जनाउ दिन्छ ।’

प्रतिक्रिया