ग्ल्यामर उद्योगमा भर्खरै उदाएका छन् शैलेश बखती । मोडलिङ हुँदै चलचित्र अभिनयसम्म तन्किइसकेको छ उनको यात्रा । चलचित्र हिफाजतको एउटा गीतमा गरेको अभिनयले उनलाई थप चिनायो । त्यही गीतको सफलताका कारण अहिले अर्को चलचित्र देशले रगत माग्योको मुख्य भूमिकामा अभिनय गर्ने मौका पाएका छन् शैलेशले । यसका लागि मिलेको जिउडालले पनि उनलाई राम्रै साथ दिएको छ । ५ फिट ६ इन्च अग्ला यी ठिटा भन्छन्, ‘मलाई गाउँकै दाइ राजु थापाले चलचित्रमा भित्र्याउनुभएको हो ।’
उनी आफूलाई प्राय: लभ स्टोरी चलचित्रमा अभिनय गर्न मन लाग्ने सुनाउँछन् । तर, चलचित्र क्षेत्रमा टिक्न ‘भर्सटाइल’ खुबी राख्न सक्नुपर्छ । यो उनले पनि बुझेका रहेछन् । भन्छन्, ‘पर्यो भने त जस्तोसुकै भूमिका पनि राम्रो गर्न सक्छु भन्ने आँट छ ।’ चलचित्रमा भविष्य खोजिरहेका यी युवकले अहिलेलाई आफ्नो अध्ययन भने थाती राखेका रहेछन् । यसबीच आफ्नो अभिनय र द्वन्द्वक्षमतालाई तिखार्नतिर एकोहोरिएका छन् । कोरियोग्राफीबाटै अभिनयतिर पाइला चालेकाले नृत्यक्षमता यसै पनि राम्रै छ । त्यसो त उनलाई एकपटक एडहरूमा पनि गज्जबले छाउने लालसा रहेछ । भने, ‘एडहरूमा अभिनय गर्दा पनि राम्रै चर्चा पाइन्छ ।’ नयाँ भए पनि अफर आउनासाथ कुनै पनि चलचित्रमा हाम फालिहाल्ने विचारमा उनी छैनन् । भन्छन्, ‘गुणस्तरको काम मात्र गर्नुपर्छ । त्यसैले पहिले स्क्रिप्ट हेरेर मात्र चलचित्रको छनोट गर्नेछु । नत्र त यात्रा कमजोर भइहाल्छ नि !’
प्रतिक्रिया