बन्दमा पिल्सिएका पुस्ता

माग तेस्र्याउँदै बन्द हडताल गर्नु नेपालको संस्कृति नै बनिसकेको छ । आफ्नो संस्था र पार्टीलाई सुपरहिट बनाउन बन्द गतिलो काइदा बन्दै गएको छ । जनता र देशका नाममा भन्दै गरिएका बन्दले जनतालाई नै दु:ख दिइरहेको देखिन्छ । बन्दको मारमा परेको र बन्दले छोएको पुस्ता नयाँ पुस्ता पनि हो । यही पुस्ता जसमा बन्दप्रभावित छन् र बन्द गराउने पनि ।
नयाँ संविधान घोषणाको मिति नजिकिँदै जाँदा विभिन्न पक्षले आफ्ना माग तेस्र्याउँदै दैनिकजसो बन्द गरिरहेका छन् । बिहान उठ्नेबित्तिकै सडकमा गाडी गुडेका छन् कि छैनन् भनेर सोध्नुपर्ने नियति बनेको छ । कक्षा ११ को परीक्षा दिन सेन्टरमा पुग्न आपत् पर्छ विद्यार्थीलाई अहिले । सेन्ट लाउरेन्स कलेज चाबहिलबाट कक्षा ११ को परीक्षा दिँदै गरेकी १७ वर्षीया निशा खतिवडालाई सेन्टरसम्म कसरी पुग्ने भन्ने चिन्ताले सताउँछ प्रत्येक बिहान । ‘नारायणटारसम्म परीक्षा दिन विद्यार्थी भक्तपुरदेखि आउँछन्, कम्ता समस्या हुँदैन हाम्लाई,’ कपनमा बस्ने निशाले सुनाइन्, ‘बन्दको तनावले पढेका कुरा पनि एक्जाम हलसम्म पुग्दा बिर्सिसकिएको हुन्छ, पढ्नै मन लाग्दैन ।’ केही दिनअघिको बन्दले गर्दा आफ्नो प्रयोगात्मक परीक्षा नै छुटाएछन् सिस्ट कलेजका २० वर्षीय सुनील श्रेष्ठले । ‘बन्दले गर्दा जोरपाटीदेखि बानेश्वरसम्म पुग्न नसकेर मेरो एक्जाम नै छुट्यो,’ बिफार्म पढ्दै गरेका श्रेष्ठले भने ।
वार्ताबाट हल गर्नुपर्ने कुरा बन्द हडतालसम्म आइपुग्नु ठीक लाग्दैन २२ वर्षीय कविता ढुंगानालाई । सहिद रामनाथ स्मृति बहुमुखी क्याम्पस, वनस्थलीकी छात्रा उनी पनि बन्दले हैरान छिन् । ‘बन्दले गर्दा टाढासम्म पैदलै जानुपर्छ, घरमै थन्किएर बस्दा दिक्क लाग्छ,’ कविताले भनिन् । सृजनात्मक उचाइ बनाउन लाग्नुपर्ने पुस्ता टायर बाल्दै सडकमा उत्रिएको देख्दा उनलाई चिन्ता लाग्दो रै’छ, देशको । ‘अब पनि बन्द हडताल नै गरिरहने हो भने कहिले देशले आर्थिक वृद्धिको काँचुली फेर्ने ?’ उनको आवाजबाट निस्किएको एउटा आमप्रश्न । सगरमाथा मल्टिपल कलेज, डिल्लीबजारका २२ वर्षीय गौरव गुरुङ पनि बन्दप्रति नकारात्मक छन् । ‘बन्द त बाउले नै गरे पनि विरोध गरिन्छ,’ उनका साथी दिवाकर प्याकुरेलले यसो भने । गुरुङले सहमति जनाए । ‘कतिपय हाम्रो उमेरका केटा टाइमपासका लागि नै बन्द गराउन निस्कन्छन् , उनीहरूलाई बन्दकर्ताको खास माग के हो भन्ने पनि थाहा हुन्न,’ गौरवले भने ।
बन्दको दैनिकी पनि ‘बोरिङ’ नै हुन्छ । सडकमा गाडी कमै गुड्छन्, बजार–पसल सबै बन्द, अनि टेन्सन नहुने त कुरै छैन । ‘घरमा बस्नेभन्दा काम नै हुन्न, बत्ती छ भने टिभी हेर्‍यो, इन्टरनेट चलायो त्यत्ति हो,’ गौरवले सुनाए । सुनील पनि बन्दको समय चिया, क्याफे र कोठा गर्दैमा समय बिताउँछन् रे । तर, निशा भने बन्दमा इन्ज्वाय नै गर्दी रैछिन् । ‘बन्दको बेला गाडी नचलेको सुनसान बाटो हिँड्न रमाइलै हुन्छ नि,’ निशाको अनुभव । ‘घाममा हिँड्न त टेन्सन हुन्छ नि फेरि †’ कविताले समस्या देखाइहालिन् । हरेक कुरा बन्द हुने भएकाले ‘बन्दले’ बिदाको दिनको जस्तो रमाइलो अनुभूति गराउँदैन उनीहरूलाई ।
बेरोजगारको संख्या बढिरहेका बेलामा बन्द हडताल सफल पार्न आजकाल कार्यकर्ताको जोहो नै गर्नुनपर्ने अवस्था छ संगठनहरूलाई । बन्दमा रमाइलो र होहल्ला गर्नकै लागि पनि स्कुले बालबालिकादेखि युवा पुस्ता सडकमा देखिन्छन् । उनीहरूमध्ये प्राय:लाई बन्दले देशलाई कति घाटा गर्छ भन्ने कुरा त परै जाओस् बन्द किन गरिँदै छ भन्नेसमेत थाहा हुन्न । संस्कारमा बदलिएको बन्द र हडतालले वर्तमान पुस्तालाई त नोक्सान गरेकै छ, भावी पुस्तामा समेत यसको असर पर्न सक्ने संकेत देखिँदै गएको छ । यसप्रति चिन्तित देखिए यी नयाँ पुस्ताका प्रतिनिधि पात्र ।

प्रतिक्रिया