“विश्वसँग स्पर्धा गर्ने ल्याकत युवासँग मात्रै छ”

समय र परिस्थितिलाई आज हरेक तह र तप्काले निराशापूर्ण तरिकाले विश्लेषण गरिरहेको छ । आम मानिसमा परेको यो निराशावादी प्रभाव एक हिसाबले बेठीक हो भन्ने अवस्था पनि छैन । मुलुकले लामो समयदेखि खुलापन, स्वतन्त्रता र लोकतन्त्रको अपेक्षा गर्दै आएको छ । विगतका इतिहासहरूलाई तथ्यतथ्यांकमा वर्णन गरेर देखाउन सकिने बौद्धिकताभन्दा वस्तुपरक अवस्थाको विश्लेषण आजको आवश्यकता हो जस्तो मलाई लाग्छ ।
हामीले मुलुकमा चलेको झन्डै १२ वर्ष लामो युद्धमा धेरै थोक गुमायौँ । ‘साम्यवाद’ र सर्वहाराका नाममा गरिएको त्यो युद्धले कम्तीमा १५ हजार नेपाली दाजुभाइ र दिदी बहिनीले ज्यान गुमाए । त्यसको आधाउधी संख्यामा मानिस बेपत्ता मात्र भएनन्, आफन्तको वियोगमा धेरै मानिस निराशा र दिक्दारीमा अहिले पनि बाँचिरहेको अवस्था छ । जुनयुद्धको घाउ मैले पनि आफू र आफन्तका नाममा भोगे–देखेको छु ।
यसो भनेर पुराना कुरालाई सम्झँदै अवस्थालाई अझ दु:खपूर्ण बनाउनु बुद्धिमानी हुँदैन । तर, सोच्नैपर्ने कुरा के हो भने हामीले जुन द्वन्द्व, काटमार र निरंकुशताबाट मुलुकलाई शान्ति र संविधानको बाटोमा लिएर आयौँ त्यो बाटो झन् ‘लामो’ भइदिनु, नेताहरूले घुमाईफिराई शान्ति र संविधानको बाटोलाई आफ्नो स्वार्थको नजिक पार्न खोज्नु सबैभन्दा दु:खपूर्ण बन्यो । यसको मारमा मजस्ता युवा बढी निराश बने, जसको परिणति आज मुलुकका लागि पौरख र आधुनिक बुद्धि प्रयोग गर्न सक्ने लाखौँ युवा मुलुकबाहिर जान बाध्य भए ।
मैले सुदूरपश्चिमाञ्चल क्षेत्रमा बसेर युवा राजनीति मात्र गरिनँ । त्यत्तिमै सीमित भएको भए आज मैले कुनै नेताको ‘चाकरी’ वा ‘कृपा’मा बाँच्नुपर्ने थियो । त्यसैले राजनीतिसँगै मैले पर्यटन व्यवसाय र सञ्चार–उद्यममा हात हालेँ, जसले पारिवारिक व्यवस्थापनमा केही मद्दत पुगेको छ । तर, विडम्बना † राजनीतिक अस्थिरता र हरेक दिनको बन्द, हडतालका कारण कुनै पनि क्षेत्र सुचारु हुन सकेको छैन । २०६२/६३ को जनआन्दोलनपछि हामीले मुलुकको अवस्था स्थिर होला र मुलुकले प्रगतिको बाटो समात्ला भनेको, त्यो हुन सकेन । मुलुकमा कुनै उद्यम, व्यवसाय, स्वरोजगार र रोजगारको अवस्था नदेखेपछि आज बर्सेनि पौने चार लाख युवा विदेशी माटोमा पसिना बगाउन बाध्य छन् ।
नेपालको राजनीतिले कहिल्यै पनि युवालाई स्थान दिने कुरा स्विकारेन । जहिले पनि पुरानो पुस्ताले मात्रै मुलुकको राजनीतिमा ‘हालीमुहाली’ गरिरह्यो, जो विडम्बनापूर्ण बन्यो । मैले यसोभन्दा ‘पुरानो पुस्ता’ पाखा लाग्नुपर्छ भन्न खोजिरहेको छैन । अहिलेको नयाँ पुस्तामा जुन खालको जोस, जाँगर र युगसुहाउँदो जुन प्राविधिक ज्ञान छ त्यो पुरानो पुस्तामा छैन । उनीहरूको सोच र शैलीको राजनीतिले नेपाली समाजलाई वर्तमान विश्वसँग प्रतिस्पर्धा बनाउने ल्याकत राख्दैन । त्यो ल्याकत र वर्कत नयाँ पुस्तामा मात्रै छ । उदाहरणका लागि पुरानो पुस्ताले कुनै सूचनाप्रवाहका लागि नयाँ पुस्ताको सहारा नलिईकन हुँदैन । कुनै विषयमा गरिएका निर्णयलाई इलोक्ट्रोनिक भर्सनमा बनाउने सामथ्र्यसम्म कतिपय वरिष्ठ नेतामा देखिँदैन ।
नयाँ पुस्ता राजनीतिमा छँदै छैनन् भन्ने होइन तर ती अल्पमतमा छन्  । निर्णायक तहमा छैनन् । भएकाहरू ‘स्टाम्प छाप’ अवस्थामा छन् । मुलुकलाई दिशा दिने क्षेत्र भनेकै राजनीति हो । त्यसैले अबको राजनीतिमा युवापुस्ताको सम्मानजनक र भूमिकापूर्ण उपस्थिति हुन जरुरी छ । पुरानो पुस्तासँग भएको अनुभव, ज्ञान र धैर्यलाई नयाँ पुस्ताको जोस, जाँगर र प्रविधिमा सम्मिश्रण गर्ने हो भने मुलुकको युवापुस्ता बाहिरिनुपर्ने अवस्था बन्द हुन सक्छ । उनीहरूले आफ्नै मुलुकमा नयाँ–नयाँ उद्यम, व्यवसाय र रोजगारको वातावरण बनाउन सक्छन् । त्यसो भएमा स्रोतसाधनले सम्पन्न हाम्रो मुलुक सम्भ्रान्त बन्न आइतबार लाग्ने छैन ।
प्रस्तुति : शिवराज योगी

प्रतिक्रिया