“त्यो मीठो लिप्स टच”

मायाको पर्पोज कसले पहिला गर्‍यो, हामी दुवैलाई थाहा छैन । भेटघाट र कुराकानीले आफसेआफ पर्पोज गरिदिइसकेछ । हामीलाई एकअर्काको माया लाग्न थालेछ । सोच्छु– मायामा कसले गाइड गर्ने भन्ने हुँदो रहेनछ, दुई मनले चाहेपछि आफसेआफ हुने रहेछ । एउटा भेट्ने र कुरा गर्ने ठाउँचाहिँ चाहियो, अनि त्यही नै डेटिङस्थल । एकचोटिको डेटिङमा हामी दुई–तीन घन्टा साथ बस्ने गथ्र्यौं । ती बसाइमा म गीत र मुक्तक सुनाउँथेँ । उनी आनन्द मानेर सुन्थिन् ।
काठमाडौंमै जन्मिएँ, यहीँ हुर्किएँ । मेरी माया पनि काठमाडौंकै रहिछन् । म मास्टर्स पढ्दै गर्दा उनी उनी ब्याचलरमा थिइन्, १४–१५ वर्षअगाडि । उनको नामको सुरुको अक्षर अंग्रेजीको ‘एम’ बाट उठेको थियो । त्रिवि केन्द्रीय कलेजमा हाम्रो भेट भएको हो । पहिलो भेटमै उनीसँग मेरो परिचय भयो । त्यही क्रममा हल्का ‘लिप्स टच’ पनि हुन पुगेछ । झुक्किएर भएको त्यो ‘टच’ मलाई निकै नै मीठो लागेको थियो, जुन यौन–अनुभूतिभन्दा धेरै पर छ ।
हाम्रा डेटिङस्थल प्राय:जसो सिनेमा हल, रेस्टुरेन्ट र काठमाडौंका पार्क हुन्थे । पहिलोचोटि विश्वज्योति हल गएका थियौँ । ४० रुपियाँको टिकटलाई ‘ब्ल्याक’ मा एक सय रुपियाँ तिर्नुपरेको थियो । सिनेमामा के भयो, कति बेला सकियो, दुवैलाई थाहा छैन किनकि त्यतातिर त हाम्रो ध्यानै थिएन । केही छिनको गफगाफपछि एकअर्कालाई चुम्बन गरेको मात्र सम्झना छ ।
हामी प्राय: भविष्यका कल्पनामा डुबेर बस्थ्यौँ, त्यस्तै कुरा गथ्र्यौं । विवाह कहिले गर्ने, कसरी स्थापित हुने, बिहेपछि यसो गर्ने, उसो गर्ने भन्दै योजना बुन्थ्यौँ । दुई–चार दिनको अन्तरालमा भेट गथ्र्यौं । रेस्टुरेन्टमा म प्राय: मम अर्डर गर्थें, उनीचाहिँ पिज्जा र चिकेन–चिल्ली मन पराउँथिन् । यस्ता कुरामा हाम्रो टेस्ट भने जहिल्यै फरक रह्यो, कहिल्यै मिलेन । जोक्स पनि गथ्र्यौं– कसै गरी हाम्रो सम्बन्ध पनि यो टेस्टजस्तै फरक पर्ने हो कि ? सुनेर झसङ्ग हुन्थेँ, त्यस्तो कल्पना मात्रैले पनि डर लाग्थ्यो ।
तर, नियतिले आखिर त्यस्तै खाडलमा लगेर जाकेरै छोड्यो । केवल उनकै लागि मात्र प्रीति सँगालिरहेको मेरो मुटु दुर्घटनामा पर्‍यो । उनीसँग मेरो बिहे हुन सकेन । उनी अध्ययनका लागि अमेरिका जाने भइन् । मैले नजाऊ भनेर निकै सम्झाएँ । तर, उनी मलाई पनि विदेश जान कर गर्थिन् । मचाहिँ नेपालमै बसेर सांगीतिक क्षेत्रमा केही गर्ने सोचिरहेको थिएँ । आखिरमा ‘म केही वर्ष अध्ययन गरेर आउँछु अनि बिहे गरौँला’ भन्दै उनी विदेशतिर हान्निइन् । अमेरिका पुगेपछि पनि उनी मलाई चिठी पठाइरहन्थिन् । म पनि पठाउँथेँ । अब भावना आदानप्रदान गर्ने माध्यम त्यत्ति मात्र न थियो । चिठीमा उनका शब्दहरू सकारात्मक नै थिए तर बिस्तारै ती चेन्ज हुँदै गए । परिवर्तित परिवेश अनि समयसँगै उनको लाइफस्टाइल र चिठी लेख्ने शैली एकाएक फेरियो । तैपनि लाग्थ्यो– मेरो मन चोर्नलाई त्यस्ता शब्दले घुक्र्याएको होला । मेरी मायालुले मेरो माया जाँच्न गरेको एउटा मीठो परीक्षा पो त † त्यसैले उनी जिस्किएजसरी जतिजति त्यस्ता कुरा गर्थिन्, म उतिउति उनीप्रतिको आत्मीयतालाई भावनाको न्यानोपनले नफुत्कने गरी च्याप्न थाल्थेँ । मेरी मायालुले लिएको प्रेमको परीक्षामा पास जो हुनु थियो । तर, सायद उनी अब मलाई जति राम्रो गरे पनि फेल गराउने मनस्थितिमै पुगिसकेकी रहिछन् । म फेल भएरै छाडेँ, मेरो माया फेल भयो । केही समयपछि सुनेको थिएँ– उनी उतै सेटल भएर बसिन् रे । त्यही पीडालाई मैले २०५८ सालमा गीतमा उतारेँ :
जन्मिँदा एक्लै मर्दा नि एक्लै बीचमा किन साथी चाहियो र ?
साथी–साथी भन्दाभन्दै भनेजस्तो साथी नै कहाँ पाइयो र ?
पीडामा डुबेको मुटुुबाट कागजका पानामा पोखिने यस्ता शब्दले जीवनलाई केही राहत दिँदा रहेछन् । नत्र त अरू केले पो मन भुलाउनु र ? जे भए पनि मेरो आत्माले देखेको मायालु एउटै थियो, छ र रहिरहला । अर्को जन्ममा पनि उसैलाई पर्खिरहनेछु । सम्झिरहेछु– त्यो फस्र्ट डेट, लिप्स टच, विश्वज्योति हल र चुम्बनमा डुबिरहँदाको त्यो अनुभूति ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया