जेठ १४ अघि काम नगर्ने

काठमाडौं, ५  जेठ । लगातारको बन्दले मुलुकका अरू क्षेत्रजस्तै नेपाली कलाक्षेत्र पनि मारमा परेको छ । बन्दका कारण हलमा लागेका फिल्महरूले त दर्शक पाएनन् नै, सुटिङको सँघारमा रहेका चलचित्रकर्मी पनि उपकरण थन्क्याएर घरमै बस्न बाध्य भएका छन् । आगामी १४ जेठमा जारी गर्ने भनी समयसीमा तोकिएको संविधानमा आआफ्ना माग समेटिनुपर्ने भन्दै विभिन्न संगठनले लगातार बन्द आह्वान गरिरहेपछि कति चलचित्रकर्मीले त्यसअघि सुटिङै नगर्ने मनस्थिति बनाएका छन् ।
बिहीबारको बन्दमा सुटिङका लागि बनेपातर्फ गइरहेको चलचित्र सो सिम्पलको युनिट भक्तपुरको नलिञ्चोकमा प्रदर्शनकारीद्वारा रोकिएको थियो । निर्देशक शिव रेग्मीले आफूहरूलाई बन्दका बारेमा थाहा नभएको र नलिञ्चोकमा एक्कासि गाडी रोकिएपछि मात्रै थाहा पाएको सुनाए । गाडी नलिञ्चोकमै रोकिएपछि करिब दुई घन्टा हिँडेर घर आइपुगेको उनले बताए । रेग्मी भन्छन्, ‘बन्द गर्नु राम्रो होइन, एउटाका मागका कारणले सबैलाई असर पुर्‍याउनु हुँदैन ।’
बन्दका कारण बिहीबार दिनभरि घरमै थन्किएकी गायिका इन्दिरा जोशी आफ्ना एक–दुई ओटा कार्यक्रम छुटेको सुनाउँदै थिइन् । लाजिम्पाटस्थित घरबाट निस्कनुअघि बन्दको कुनै जानकारी नभएको र काममा बाहिर निस्केपछि मात्रै थाहा पाएको उनले बताइन् । लगातार बन्दले सताएपछि अब उनले जेठ १४ अगाडिका सबै कार्यक्रम क्यान्सिल गर्ने मनस्थिति बनाएकी छन् । ‘हाम्रो देश यसै पनि गरिबीको सूचीमा छ, त्यसमाथि बन्दले व्यापारव्यवसाय चौपट पारेको छ, सांगीतिक क्षेत्र पनि यसबाट पिटिएको छ,’ उनले भन्छिन्, ‘जसले बन्द गर्छन् उनीहरूसँग त पक्कै राम्रै बैंकब्यालेन्स होला तर दिनभरि काम गरेर छाक टार्नेहरूलाई भने यसले भयानक स्थिति निम्त्याउँछ ।’
नायक राजवल्लभ कोइरालाचाहिँ लगातारको बन्दले आफूलाई ‘बिरामी’ बनाएको सुनाउँछन् । यही कारण उनी पनि अब १४ जेठअघि सुटिङमा जाने मनस्थितिमा छैनन् । ‘बन्दका कारण हाम्रो आर्थिक स्थिति झनै कमजोर हुँदै गइरहेको छ, बन्दले निम्त्याउने आर्थिक संकट बन्दकारीले बुझेनन्,’ कोइराला भन्छन्, ‘बन्दले अवसरबाट वञ्चित गर्छ । जुनसुकै उद्देश्य भनिए पनि यसलाई कसरी सकारात्मक रूपमा लिने ?’
नायिका ऋचा शर्मा भने यतिखेर हातमा चलचित्र नभएकाले आफूलाई चलचित्रका काममा बन्दले असर गर्‍यो भन्न चाहन्नन् । तर, घरायसी कामका लागि भने उनी पनि अवरोध महसुस गरिरहेकी रहिछन् । भन्छिन्, ‘बन्द भनेको समाधान होइन, अराजकता हो ।’ चलचित्र छड्केको छायांकनका लागि चितवन पुगेकी नायिका नम्रता श्रेष्ठले बन्दका कारण हिजोका सटहरू क्यान्सिल गर्नुपरेको जानकारी गराइन् । भनिन्, ‘बन्दले मारमा पार्‍यो ।’

प्रतिक्रिया