सांसद हुँदा पनि सौन्दर्यकै चर्चा

मुम्बई : उमेरले ६ दशक छुन लागिसक्दा पनि आफूलाई जवान राख्न सफल बलिउड अभिनेत्री रेखाको चर्चा यसै पनि कम हुँदैन, त्यसमाथि राज्यसभा सांसदका रूपमा मनोनीत भएपछि उनी थप चर्चामा छिन् । यसअघि उनी फिल्म, हट फोटो अनि विभिन्न स्क्यान्डलका सहारामा दर्शकलाई आफूतिर तानिरहन्थिन् ।
५७ वर्षे रेखालाई बलिउडमा ‘इभरग्रिन ब्युटी’का रूपमा परिभाषित गरिन्छ । आफ्नो बोल्ड ब्युटीका कारण सदाबहार बलिउडमा छाइरहन सफल यी अभिनेत्री सांसद भएपछि उनका विगतका दिनको समीक्षा फेरि बलिउडमा सुरु भएको छ । उनले अघिल्लो वर्ष मात्र एउटा म्यागेजिनमा हट फोटो सुट दिएकी थिइन् ।
उनको तस्बिर हेरेपछि फिल्मी क्षेत्रका हस्तीहरूबीच बुढेसकालमा पनि उनको सौन्दर्यको रहस्यबारे चर्चा सुरु भएको थियो । उक्त फोटोसुटमा रेखा झन् स्लिम र राम्री देखिएकी थिइन् । उक्त फोटोसुटलाई हेरेर कतिले त त्यस फोटोको प्रामाणिकताबारे नै प्रश्न उठाएका थिए । जे होस्, सांसद बनेकी रेखाको पदीय चर्चाभन्दा पनि उनको इभरग्रिन ब्युटीको चर्चाले नै बलिउडमा स्थान पाइरहेको छ । (एजेन्सी)

प्रतिक्रिया