संविधानसभाका सर्जकसँगको आशा

नेपालको संविधानसभाप्रति जनताको मोह धेरै रहेछ । देशप्रति सच्चा माया र प्रेम गर्नेहरू अनायासै मर्छन् देश र जनताप्रति घात प्रतिघात गर्नेहरू जुग–जुगसम्म जन्मिरहन्छन् † केही कपुतहरू मरेपछि पनि ब्युँझन्छन् † नेपाली जनतालाई एकछाक टार्न धौ–धौ छ । आफ्नो स्वतन्त्रता एवं व्यक्तिगत सम्पत्ति खोसिँदा मेटासिट समाउनुको पीडा र वेदना छुट्टै हुन्छ । गायकलाई गीत गाउँदा, भोकोले खान पाउँदा, प्रचण्ड गर्मीमा शीतल मार्न पाउँदा, प्रेमीलाई प्रेमिकाको खुसी पाउँदा मज्जा लाग्ला । नेपाली जनतालाई भने खुसी र मज्जा कहिले नआउने हो कि भन्ने आशंका रहेकै छ । दुई वर्षको समयावधिमा निर्माण सम्पन्न गर्नैपर्ने संविधान चार वर्ष बित्नै लागिसक्दा पनि पूरा हुने छाँटकाँट देखिएको छैन ।
राजनीतिक दलहरूको पछिल्लो सहमतिले केही विवादित विषय पछि सुल्झाउने गरी संविधानको मस्यौदासम्म आउने आस जागेको छ । पटक–पटक म्याद थप गरी थपिएको म्यादभित्रमा संविधानसभाको बैठक बसे पनि आजसम्म जनताको पक्षमा निर्णय हुन सकेको छैन । बैठक थोरै समय बसे पनि भत्ता सुविधा भने पूरै अवधि खर्च गरियो । तर, संविधान निर्माण र शान्तिप्रक्रिया र देशको धर्म संस्कृति अनुकूलको संविधान अझै जारी हुने विषयमा नेपाली जनताको मुटु काँपिरहेको छ, नबन्ने हो कि संविधान भनेर । नेपाली जनता सभासद्हरूले गरेका क्रियाकलाप दिउँसो प्रचण्ड घाम र रातमा चन्द्रमाको उज्यालो शीतलतामा पनि नियालिरहेका छन् । नेपाली जनतालाई चकमन्न सन्नाटा दिन खोज्नेहरू डान्स, डिस्को, रिसोर्ट, क्यासिनो र पाँचतारेमा गएर मज्जा लिएकै छन्, आफन्तलाई भर्ना गर्दाकै मज्जा लिइरहेका छन् सभासद्हरू † जनतालाई उनीहरूले गरेको कुकर्म थाहा छैन कि भनेर लाज पचाएकै छन् नेतृत्वहरू †
नियतिको खेल रुँदा पनि हाँस्दा पनि सिर्जना जन्मिन्छ । जन्मिएको सिर्जनालाई बचाउनु अर्को चुनौती हो । त्यसैको सामना गर्दै नेपाली जनता सदैव कोलाहल र बन्दको स्थिति व्यहोरिरहेका छन् । संरचना छिन्न भिन्न गर्नुभन्दा केही पाइएन भन्दै हामी जनताले निराशामा जल्नु र छटपटिनुभन्दा निरन्तरता दिनु पनि केही गर्नु हो नि भनेर यसैमा मन बुझाएका छौँ । अहिलेको बाँकी अवधिलाई सुझबुझपूर्ण तबरबाट सदुपयोग गर्न सके सभासद्रूपी सर्जकबाट जनताको आशा र विश्वास पूरा हुने थियो । संविधानसभा र संविधान क–कसका लागि र के–केका लागि लेख्ने भन्ने विषयको ज्ञान एवं भविष्य नदेख्ने हो भने देश र जनताका लागि दुर्भाग्य हुन सक्छ † सर्वोपरी जनताको हो भने, सार्वभौमसत्ता जनता हुन् । जनताको इच्छालाई मान–मर्दन हुनेगरी जातीयता, क्षेत्रीयताको खोक्रो विगुल नफुकौँँ † विवाद चुलाउने नभई सुल्झाउन पार्टीहरूबीच भएको विवादित विषयमा जनताबीच जाऔँ । अनिश्चिततामा जनतालाई अधुरो निर्णयको बन्दी नबनाऔँ । देशको भविष्य अनिश्चित छ भने त्यो संविधानसभाको सर्जकको सिर्जनाको कुनै तुक रहँदैन र समाजले त्यो सिर्जना स्विकार्दैन पनि । हावा प्रकृतिमा बगिरहनु प्राकृतिक नियम नै हो । संविधानसभा आफ्नो सिर्जनाको प्रसव पीडामा रहिरहनु सभासद् सर्जकको धर्म हो । निदाउनु र नाटक गर्नु प्रतिघात हो † धर्म र मर्म बुझेर पनि बुझ पचाउनेहरूसँग कुनै मार्ग हुँदैन । न त्यस्तो सर्जकको सिर्जना संविधानको स्थायित्व नै हुन्छ । संविधानसभाका सर्जक मुखले जेसुकै भनौँ तर सच्चा मनले सोच्नुहोस् जनताका हकमा अवश्य पनि भ्रष्टाचार भएको पाउनु हुनेछ ।
कसैले नगद, कसैले जिन्सी, कसैले वेदना, कसैले हाँसो, कसैले फेन्सी, कसैले भौतिक सामग्रीलगायत ‘समय’ सम्मको भ्रष्टाचार गरेकाले त्यसको मूल्यले भोलीका तापाईंका सन्ततीलाई समेत पिरोल्ने निश्चित छ, जसरी आज तपाईंहरू विभिन्न ‘ककस’का नामले ब्राह्मण, क्षत्रीय र अन्यलाई कुर्लेर गाली गर्दै त्यसका सन्ततिसमेतलाई दोषी ठानिरहनुभएको छ । ज–जसले जनताको वेदनामा हाँसेर खिल्ली उडाए तिनीहरूलाई जीवनको उत्तराद्र्धमा ब्रह्मनालमा लमतन्न हुँदासम्म पनि पोलिरहनेछ जनताको नासोले । जनतासँग अब पनि झुटो खेती गरियो भने नेतृत्वका लागि लज्जाले र हीनताबोधसहितको श्रद्धाञ्जलिबाहेक केही बाँकी हुन्न । तसर्थ आफूले श्रम गरेको जति मात्र ज्याला सभाबाट बुझौँ । स्वकीयको नाममा जनताले बोकेको ऋण र तिरेको कर ब्रम्हस्व: हो त्यो फिर्ता गरौँ † ब्रम्हस्वको चीरहरण गरेपछि त्यसलाई जनताको नासो सम्झेर जनताका लागि बहुलवादसहितको लोकतान्त्रिक समाजवादी संविधान तुरुन्त तयार गरौँ । सम्झौता गर्दै आशय परिवर्तनको नाटक जनताबीच नदेखाऔँ ।
एकपटक मात्र फुल्नु, फक्रिनु र सुगन्ध छर्नु फूलको विशेषता होइन । फूलहरूको फुल्ने र सुगन्ध छर्ने प्रक्रिया त सदावहार रहिरहन्छ, तर एकपटकको फूलको आयु सकिएपछि अर्को फूल फुलाउन, रोप्न र गोडमेल गर्ने मिहिनेत गर्नुपर्छ । संविधानसभा पटक–पटक फुलाउने फूलजस्तो वस्तु होइन । यसले त निश्चित समयमा फक्रेर सुगन्धको चिनारी र राज्यका लागि अत्यावश्यक विधि संविधान दिने हो । नलछारिने, नपछारिने एवं दरिला जराहरूको सर्जक संविधानसभाले राज्यलाई र जनतालाई विधिको स्थायित्व दिनुपर्छ । संविधानसभाको काम, कर्तव्य र गुण नै यही हो । नेपाली जनताको जीवनभरको आकांक्षी सिर्जना संविधान नेपालका प्रत्येक घरघर र प्रत्येक नेपालीको मनमनमा रहनु जरुरी छ । संविधानसभाको त्यो सिर्जनाले जनताको मन छुनुपर्छ, कोही हाँस्नुपर्छ, कोही खुसीले धरधरी रुनुपर्छ सहिदको सपना पूरा भएको खुसीमा । संविधानसभाले राज्यका लागि निर्देशक विचार दिने हो । त्यो विचारले क–कसलाई प्रतिनिधित्व गर्छ भनेर आधार दिनुपर्छ । जातीयता र क्षेत्रीयताको विखण्डन होइन । संविधानसभाका सर्जक सभासद्हरूले संविधानको सिर्जना गरिदिएबापत पाउनेभन्दा पनि जनताका लागि भन्नेहरूले आफ्नो व्यक्तिगत र दलीय स्वार्थ गुमाउन जान्नुपर्छ । जनताकै नेता भनेको होइन ? निर्वाचानका समयमा † बहुलवादसहितको लोकतान्त्रिक संविधानले मात्र नेपाली लोकको मन छुन सक्छ । संविधानसभाको सिर्जना नेपालको संविधान सम्पूर्णत: नेपालीको आँखाको नानी बन्न सक्नुपर्छ ।
बन्दुक, हतियार, आँसु, वेदना, पीडा र कलमसमेत झर्न र बिग्रन सक्छन् तर, संविधानसभाको सिर्जना संविधान कहिलै मर्दैन र झर्दैन पनि । त्यसैले प्रयास कालजयी सिर्जना संविधानको बीजारोपण गरौँ । संविधानसभाको सिर्जना निस्तो, खल्लो र कसैले डगमगाउने नभई उत्तम रसादीयुक्त अटल बलियो हुनुपर्छ, जसरी जीवनको यात्री सागर तर्छ त्यसरी नै संविधानसभा र सभासद् मृत्युञ्जयी अवश्य होइनन् । तर, संविधानसभाको सिर्जना संविधान सबै पुस्ताको मनभित्र नाचिरहन्छ, मन छोइरहन्छ, मृत्युञ्जयी पनि हुन्छ । संविधानसभाको सिर्जनाको प्रसव पीडाको मायाले नेपाली जनता यो सभालाई जीवनभर सम्झिरहनेछन् । सभासद्को चिच्याहट, भ्रष्टाचार र अहम्तालाई माया गरिरहेको कदापि होइन । नेपाली जनाताले सभासद्को कार्य विवरण र थप म्यादको क्रियाकलाप र झुट नियालिरहेका छन् । नेपाली जनाताका लागि शान्ति र संविधान दिऊँ । कतैबाट त्यसको डाह पनि हुन सक्छ । त्यो डाहलाई संविधानसभाको सिर्जनाले स्वाहा पार्न सक्नुपर्छ । त्यो शक्ति अब बन्ने संविधानमा रहन नचुकोस् । नेपाली जनताले संविधानसभाको सिर्जनासँग मात्र प्रेम गरेका हुन् † सभासद्लाई माया गरेका पक्कै होइनन् यो कुरा समयमै नबुझ्ने हो भने देश विखण्डनको मुखमा पुग्नेछ । जनताले कल्पनाको क्षितिजबाट कैयौँ सपना बुनेका थिए । नेपाल आमाले कत्रो इच्छा राख्नुभएको थियो । कैयौँपटक विषम यज्ञमा हाम फाल्नुभयो । कति सन्तानलाई बहुलवादसहितको लोकतान्त्रिक संविधानका लागि परित्यक्त गर्नुभयो । त्यसैले जनताको चाहनाबमोजिमको संविधान जनतालाई दिई संविधानसभाको अन्त्य गरौँ र देश विकासमा लागिपरौँ । आकांक्षी जनाताको एउटै मत संविधान जारी गरौँ ।
(लेखक नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया