थ्रिडीमा फड्को मारे राजले

काठमाडौं : चपली हाइटबाट रातारात चर्चामा आएका नायक राज घिमिरेले अर्को बाजी मार्ने भएका छन् । नेपाली चलचित्रको दुनियाँमा पहिलोपटक भित्रिएको ‘थ्रिडी’ प्रविधिमा अभिनय गर्ने ‘पहिलो नायक’ बन्ने मौका राजले पाएका हुन् । चपली हाइटपछि एकैपटक तीनवटा चलचित्रमा अनुबन्धित हुने ‘अफर’ राजलाई आए पनि उनले भिजिलान्तेमा मात्रै हस्ताक्षर गरेका छन् ।
‘तीनखाले चलचित्रमा अफर आएको थियो,’ राजले भने, ‘म क्वान्टिटीभन्दा क्वालिटीको फिल्म खेल्नुपर्छ भन्ने मान्यता राख्छु ।’ आगामी जेठ १५ गतेबाट छायांकन हुन गइरहेको भिजिलान्तेका लागि आफूले मंगलबार बेलुकी साइन गरेको उनले बताए । निर्माता/निर्देशक दीपेन्द्र के खनाल रहेको उक्त फिल्म ‘सस्पेन्स’ खाले भएकाले ‘कथावस्तु पनि अहिले ‘सस्पेन्स’नै रहन दिनुस्’, राजले भने ।
अलि रोमान्टिक भूमिकामा देखिने राजको यो भूमिका दर्शकका लागि विगतको भन्दा भिन्दै स्वादको हुने उनले दाबी गरे । उनले भने, ‘नेपाली चलचित्र उद्योगमा थ्रिडी प्रविधि नयाँ हो,’ उनले भने, ‘त्यसैले पनि यो आजसम्मका फिल्मभन्दा फरक स्तरको हुनेछ ।’
मुख्य भूमिकामा राजसँगै नायक सुवास थापा र नायिका प्रियंका कार्की रहनेछन् । प्रविधिका हिसाबले मात्रै नभएर भिजिलान्ते लगानीका हिसाबले पनि अब्बल रहने राजको दाबी छ । फिल्म निर्माणका लागि पूरै युनिट युद्धस्तरको तयारीमा जुटेको उनले बताए । (सौस)

प्रतिक्रिया