राजनीतिले उदास पद्मरत्न

गणेशमान सिंहको रोचक भाषण र पुष्पलाल श्रेष्ठको क्रान्तिकारी विचारले पद्मरत्न तुलाधरभित्र राजनीतिको ‘रस’ पगालिएछ । काठमाडौं असनको नेवार परिवारमा जन्मिएका तुलाधर त्यसताका त्रिचन्द्रका ‘अल्लारे’ विद्यार्थी थिए । स्वभावले ‘लजालु’ भए पनि उनी २०१५ सालमा मुलुकमा हुन गइरहेको पहिलो संसदीय निर्वाचनलाई नजिकबाट नियालिरहेका थिए ।
बुबा ल्हासाका व्यापारी । व्यापारिक घरानाका छोरा । विसं १९९७ माघ पूर्णिमाको दिन जन्मिएका तुलाधर पद्मोदय स्कुलमा एकैचोटि पाँच कक्षामा भर्ना भए । ‘बर्माबाट फर्किएका शंकर गुर्जु सर घरछेउमै बस्नुहुन्थ्यो,’ तुलाधरले भने, ‘उहाँले घरमै नि:शुल्क अक्षरारम्भ गराउनुभयो ।’ त्यही स्कुलबाट प्रवेशिका पास गरेपछि उनी २०१५ सालमा भरखरै आइएमा भर्ना भएका थिए । ‘हावाको चल्ने पालो, रूखको ढल्ने पालो’ भनेझैँ केही गर्ने/सिक्ने ‘जोसिलो’ ‘लक्का जवान’ हुँदा उनले क्याम्पसभित्र र बाहिर राजनीतिको लहर देखे । र, त्यतै तानिए । विचारले वाम भए पनि उनी आफूलाई ‘कुनै पार्टीसँग सम्बद्ध छैन’ भन्न रूचाउँछन् ।
तुलाधरलाई राजनीतितिर प्रेरित गर्नेहरू भने उनैको क्याम्पसमा पढ्ने कांग्रेसका निर्मल लामा, रूपचन्द्र विष्ट, रत्न शम्शेरहरू थिए रे । ‘उनीहरूकै गफ सुन्थेँ, भाषण भएको ठाउँमा पुग्थेँ,’ तुलाधरले भने, ‘चारतारे झन्डा फहराउँदै जुलुस निस्क्यो भने म पनि उनीहरूको पछिपछि असनदेखि टुँडिखेलसम्म पुग्थेँ ।’ जनआन्दोलनको सफलतापछि सर्वसाधारणलाई नारायणहिटी खुला गरेझैँ उनी सानो छँदा सिंहदरबार खुला गरेको उनलाई गहिरो सम्झना छ । तुलाधरले भने, ‘नारायणहिटी खुला गरिएको दिन मलाई त्यति बेलाको झझल्को आएको थियो ।’ राणाहरूको पतनपछि उनी पनि सिंहदरबार हेर्न गएछन् । सिंहदरबारमा राखिएका अनेक आकृति देखाउने ऐनाले उनलाई दंग पारेछ ।
पद्मोदयमा नौ कक्षामा पढ्दा ‘नेपालभाषा’ पढाउने प्रेम नेपाली सरले विद्यार्थीहरूलाई अन्तरहाइस्कुल साहित्य सम्मेलनमा भाग लिन भनेपछि तुलाधरले २०१३ सालमा पहिलोपटक कविता लेखेछन् । उनको त्यो कविता ‘ज्योति’ पत्रिकामा छापिएछ । पछि उनले त्यही अभियानको सदस्य बनेर काम गर्न थालेको सुनाए । हुँदाहुँदा नेपालभाषा आन्दोलनका अभियन्ता नै बने र अहिले पनि त्यो आन्दोलन जारी रहेको तुलाधरले बताए । भाषा आन्दोलनकै क्रममा लेखेको उनको निबन्ध प्रथम पनि भयो । पछि त आइएमा पढ्दापढ्दै २०१६ सालतिर ‘बुलुमी’ निबन्धसंग्रह नै प्रकाशित गरेछन् ।
अहिले अर्को निबन्धसंग्रह प्रकाशन हुने तयारीमा छ, तुलाधरको । लेखनको यो यात्रामा यति ठूलो दूरी किन ? तुलाधरले भने, ‘बीचमा धेरैतिर लागियो, राजनीति, नेपालभाषाको आन्दोलन, मानवअधिकारको वकालत आदिले फुर्सद नै भएन कि ?’ त्यसो त त्यो बीचमा तुलाधरले थुप्रै हास्यव्यंग्य पनि लेखेछन् । नेपालभाषाकै आन्दोलनका क्रममा उनी ‘नेपालभाषा’ पत्रिकामा २०३० देखि सहयोगी भएर ३६ तिर सम्पादक नै भएछन् । ‘त्यतिखेर अहिलेजस्तो सम्पादक गमक्क भएर बस्न सकिँदैनथ्यो, आफैँ रिपोर्टिङमा हिँड्नुपथ्र्यो,’ तुलाधरले त्यति बेलाको अवस्था बोध गराए । २०३७ मा गठन भएको ‘नेपालभाषा मंकाखल’को उनी अध्यक्ष नै भएछन् । २०३६ को जनमत संग्रहले राजनीतिक वातावरण अलि खुकुलो भएदेखि तुलाधरकै अग्रसरतामा नेपाल संवत् मनाउन थालेको उनले बताए । ‘जनमत संग्रहताका मलाई पहिलोपटक अखिल पाँचौँ (माले)को राष्ट्रिय सम्मेलनमा भाषण गर्न बोलाइयो’ तुलाधरले भने, ‘मलाई नेपाली पटक्कै नआउने, बाध्य भएर नेपालीमा पहिलोपटक भाषण गरेँ ।’ त्यसपछि त तुलाधर बहुदलको पक्षमा भाषण गर्न चौतारासम्म पुगेछन् । भाषण गर्दागर्दै राजनीतिको नशा चढेका तुलाधर २०३८ को राष्ट्रिय पञ्चायतको चुनावमा लड्न तयार भएछन् । ‘म असनबाट लाजिम्पाट जाँदै थिएँ, जमलको पार्टी कार्यालय जाँदै गरेका गणेशमान भेट हुनुभयो,’ तुलाधरले भने, ‘गणेशमानले ‘क्या हो भाइ † लड्नु हुन्न’ भनेपछि लडिनँ ।’
त्यही बेला बाटोमा भेट भएकी काकी लानीदेवीको ‘ए पदम, तिमी त पञ्च हुन जान लागेको ?’ भन्ने शब्दले तुलाधरलाई भित्रैसम्म घोचेछ । अनि त कुन आँटले लड्नु र ? तुलाधरले सिधै उम्मेदवारीको सूचीबाट नाम फिर्ता लिन पुगेछन् । ‘फेरि २०४३ को निर्वाचनमा भाग लिने सोच बनाएँ, साथीभाइसँग सरसल्लाह गरेँ,’ तुलाधरले भने, ‘गणेशमानजीले ऋषिकेशजस्तै हुने हो भने भाग लिए हुन्छ भन्नुभयो ।’ उनको पहिलो अन्तर्वार्ता विमर्श साप्ताहिकले लिएछ । त्यो निकै चर्चित भयो रे । स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिएका तुलाधरले विभिन्न सभामा भाग लिँदै हिँडे रे । ‘त्यही क्यासेट टोलटोलमा बजाउन थालियो,’ उनले भने, ‘देशविदेशमा बस्नेले पनि तपाईंको भाषण सुनेको छु भने ।’ त्यसताका उनको चुनावचिह्न सूर्य परेछ । त्यही बेला उनले बहुदल, मानवअधिकारको कुरा उठाएछन् भाषणमार्फत । त्यही भाषणले तुलाधरलाई राष्ट्रिय पञ्चायतका एक सय १२ जनामध्ये एक सदस्य बनाएछ ।
तुलाधर कांग्रेस र एमाले दुवैको कार्यक्रममा प्रमुख वक्ता भएर बराबर जाँदा रहेछन् । पञ्चायत फाल्न कांग्रेस–कम्युनिस्ट मिल्नुपर्ने थियो । त्यस बेला १२ वटा कम्युनिस्ट पार्टी थिए रे † ती सबै पार्टीलाई आफ्नै घरमा बोलाएर तुलाधरले बहुदलका पक्षमा संयुक्त वक्तव्य निकालेछन् । तिनैमध्ये सातवटा पार्टीको एउटा संयुक्त वाममोर्चा बनेछ । बाँकी पाँच पार्टीबाट डा. बाबुराम भट्टराईलगायत अर्को मोर्चामा उभिएछन् । कांग्रेस र वाममोर्चाको बैठकले सहाना प्रधानको अध्यक्षतामा तुलसीलाल अमात्यलाई मानार्थ अध्यक्ष बनाएर वाम मोर्चा गठन गरे । ‘तुलसीलालले गणेशमानलाई फोन गरेर तपाईंको नेतृत्वमा आन्दोलनमा जाउँm भन्नुभयो,’ तुलाधरले भने, ‘उहाँ त आधा घन्टामै आउनुभयो ।’ अहिलेका नेतामा इच्छाशक्ति नभएकाले मुलुकले ‘नपाउनु दु:ख पाएको’ विश्लेषण गर्ने तुलाधरले भने, ‘एकै बसाइले हामीले २०४६ को आन्दोलनमा सफलता पायौँ ।’
तुलाधरले दुर्गालालको चुनावी गीतको रिहर्सल नारायण गोपालसँग समेत गरेछन् । कुनै पार्टीको सदस्यता अहिलेसम्म पनि नलिएको बताउने तुलाधरले भने २०४६ पछि हरेक पार्टीको र्‍याली र सभामा भाग लिएँ । सबैको साझा बन्न खोज्दा उनको जीवनमा सधैँ एउटा आरोप आइरह्यो । उनी राष्ट्रिय पञ्चायतदेखि लोकतन्त्रसम्म आइपुग्दा पनि विवादित व्यक्तित्व बनिरहे । २०५२ सालमा माओवादी द्वन्द्व सुरु भएपछि भने उनले ठूलै जिम्मेवारीको अंशियार बन्ने काम गरे । ‘मैले प्रचण्डलाई चिनेको थिइनँ, बाबुराम सँगसँगै काम गरेको थिएँ । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो,’ तुलाधरले भने, ‘शेरबहादुरजीले मलाई सधैँ माओवादीलाई वार्तामा बोलाइदिनुस् भन्नुभयो ।’ माओवादीले ४० बुँदे माग राखे पनि त्यो माग ‘बहाना मात्र’ भएको बुझाइ तुलाधरको छ । उनले यसको पुष्टि गर्दै भने, ‘देउवाजीले नै ‘पूरा गर्ने/नगर्ने समय नै दिएनन्’ भन्नुहुन्थ्यो ।’ एक दिन माओवादी भनेको के हो भनेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सोध्दा तुलाधरले ‘वी वन टु विन’ पुस्तक पुर्‍याइदिएको बताए । गर्दागर्दै उनी माओवादी र सरकारको मध्यस्थकर्ता नै बनेछन् । पछि बाबुरामले पनि ‘पद्मदाइ के हो कुरा ?’ भनेर उनैलाई सोध्न थालेछन् । माओवादी र सरकारका बीचमा विश्वासको संकट जो थियो त्यो चिर्न तुलाधरलाई निकै पसिना बगाउनुपरेछ । पछि सन् २००० मा उनले पहिलो वार्ताको वातावरण बनाइछाडे । ‘सरकारले औपचारिक पत्र दिन नमान्ने र माओवादीले दिनेश शर्मालागायतको अवस्था सार्वजनिक गर’ भन्न नछाड्नाले तुलाधरलाई मध्यस्थता गर्न निकै हम्मे परेछ ।
बिस्तारै माओवादीका रविन्द्र श्रेष्ठ र कांग्रेसका रामचन्द्र पौडेलबीच तुलाधरले कुनै साथीको घरमा गोप्य वार्ताको मेलोमेसो मिलाएछन् । ‘मलाई पत्रकारले निकै सताए’ तुलाधरले त्यो दिन सम्झँदै भने, ‘पछि दिनेश शर्मालाई अपमानजनक तरिकाले रिहा गरियो, त्यसैले वार्ता भाँड्यो ।’ तुलाधर, दमननाथ ढुंगानालगायतको सक्रियतामा फेरि २००१ मा अर्को वार्ता भयो । त्यो पनि भाँडियो । संविधानसभा नस्विकार्नाले त्यो वार्ता भाँडिएको तुलाधरले त्यति बेलाको स्मरण सुनाए । लोकेन्द्रबहादुर चन्दको पालामा फेरि २००३ मा अर्को वार्ता भयो । त्यति बेला तुलाधर, दमन, शैलेन्द्रकुमार उपाध्याय र कर्णध्वज अधिकारी सहजकर्ता थिए । सूर्यबहादुर थापाको पालामा हापुरे, नेपालगन्ज वार्ताहरू भए । राजाका बारेमा ‘ट्याकिट अन्डरस्ट्यान्डिङ’ हुन सक्छ भनेका थिए रे । ‘वार्ताकै क्रममा १९ जना माओवादीको हत्या भएपछि वार्ताको वातावरण बनिरहन सकेन’, तुलाधरले अवस्थाको बयान गरे । विसं २०४८, ०५१ को निर्वाचनमा चुनाव जिते पनि उनले ०५६ मा भने मालेको उम्मेदवारबाट हारे । २०५१ मा स्वास्थ्य तथा श्रममन्त्री भए । सन् २००० देखि २००८ सम्म शान्तिवार्ताको मध्यस्थतामै समय बित्यो ।
बुबा ज्ञानुरत्न तुलाधर र आमा दिव्यालानी तुलाधरको कोखबाट जन्मिएका पद्ममरत्नले जीवनका आठ वर्ष शान्तिवार्तामा बिताए । ८–१० वर्ष पत्रकारिता गरे । झन्डै १५ वर्ष राजनीतिको मुख्य जिम्मेवारीमा रहे । जीवनको कलकलाउँदो उमेरदेखि अहिलेसम्म ‘नेपालभाषा’को संरक्षणमा जुटेका उनी त्यत्तिकै सक्रियतासाथ मानवअधिकारको रक्षामा लागेको बताउँछन् । २०१५ सालमा असनकै नीलशोभा तुलाधरसँग विवाह गरेका तुलाधरले श्रीमती जवान भएपछि मात्रै सँगै बस्ने अनुमति पाएका थिए रे । अहिले उनका दुई छोरा दुई छोरी छन् ।
वर्तमान राजनीतिदेखि अत्यन्त उदास देखिने उनी भन्छन्, ‘नेताहरूमा इच्छाशक्ति नै देखिएन । इमानदारी भइदिएको भए पहिलो दुई वर्षमै शान्ति र संविधान किनारा लागिसक्ने थियो ।’

प्रतिक्रिया