कांग्रेसमा नेतृत्वप्रति असन्तुष्टि

काठमाडौं, ४ जेठ । नयाँ संविधानका विषयमा प्रमुख दलहरूबीच भएको सहमतिको विषयमा नेपाली कांग्रेसले आन्तरिक समीक्षा गरेको छ । केही सदस्यले सहमतिको समीक्षाका क्रममा पार्टीले संसदीय व्यवस्था छाडेको भन्दै नेतृत्वको आलोचनासमेत गरेका छन् ।

राज्य पुन:संरचना, शासकीय स्वरूप र सरकारका विषयमा कांग्रेसले महाराजगन्जस्थित पार्टी सभापति सुशील कोइरालाको निवासमा बुधबार छलफल चलाएको हो । छलफल संविधानका विवादित विषयमा दलहरूबीच मंगलबार भएको सहमति र पार्टी अडानलगायत विषयमा केन्द्रित भएको पार्टी उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । नेता पौडेलका अनुसार छलफलमा राजधानीमा उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यहरू सहभागी भएका थिए । केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिको अधिकार बाँडफाँडका विषयमा कुराकानी भएको भन्दै संसदीय पद्धतिलाई सहयोग पुग्नेगरी अधिकार वितरण गर्न नेतृत्वलाई सुझाव दिएको बताए ।
प्रमुख दलहरूबीच मंगलबार नामांकन र सीमांकन थाती राखेर ११ प्रदेशको राज्य पुन:संरचना गर्नेलगायत समझदारी भएको थियो । शासकीय स्वरूपअन्तर्गत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट चुनिने प्रधानमन्त्रीमा अधिकार बाँडफाँड गर्नेगरी समझदारी भइसकेको छ ।
पौडेलले सुदूरपश्चिममा भएको आन्दोलनबारे समेत छलफल भएको जानकारी दिए । विभिन्न माग राखेर आन्दोलनरत पक्षसँग परामर्श गरी निकास निकाल्नुपर्ने पक्षमा कांग्रेस रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया