मधेसी मोर्चाले सरकार छाड्ला त ?

काठमाडौं, ३ जेठ । सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राज्य पुनर्संरचना अन्तर्गत एघार प्रदेश बनाउने प्रमुख तीन दलको निर्णयप्रति बिरोध जनाउदै सरकार छाड्ने धम्कीसम्म दिएको छ ।
मधेसी मोर्चाको आज सिंहदरबारमा बसेको बैठकमा एघार प्रदेशप्रति आपत्ति जनाएको सद्भावना सहअध्यक्ष लक्ष्मण लाल कर्णले जानकारी दिए । उनले भने, ‘एघार प्रदेशमा हाम्रो सहमति छैन, निर्णय नसच्चाए सरकार छाड्न सक्ने निर्णय पनि हुन सक्छ ।’
सरकार सहमतीय संस्कार विपरित हिडेको भन्दै कर्णले एमाओवादी र मधेसी मोर्चावीच भएको चार बुँदे सहमतिको पनि स्मरण गराएका छन् ।
उनले एमाओवादी, कांग्रेस र एमाले सहमतिको संस्कार विपरित हिडेको आरोप लगाए ।
मधेसी मोर्चाको बैठकमा एघार प्रदेशको निर्णय नसच्चिए सरकार छाडेर सडक आन्दोलन गर्ने प्रस्ताव प्रवेश पाएपनि निर्णय भने हुन सकेको छैन । यस विषयमा निर्णय गर्न मधेसी मोर्चाको बैठक बेलुका पुनः बस्ने कार्यक्रम छ ।
उता, मधेसी जनअधिकार फोरम नेपालले एघार प्रदेशको निर्णय सच्चाउन दबाव दिएको छ । फोरम महासचिव रामसहाय यादवले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर एघार प्रदेश बनाउने तीन दलको निर्णय नमान्ने बताए ।

प्रतिक्रिया