सोमबार सूर्य ग्रहण

काठमाडौं, ३ जेठ । वि.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जेठ ८  गते सोमबार विहान खण्डग्रास सूर्य ग्रहण लाग्ने जनाएको छ ।
८ गते सोमबार बिहान ५ बजेर ३ मिनेटदेखि ५ बजेर ७ मिनेटसम्म सूर्य ग्रहण अवलोकन गर्न सकिने समितिले जनाएको छ । खण्डग्रास सूर्य ग्रहणलाई नाङगो आँखाले हेर्न नहुने समितिले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सूर्य ग्रहणलाई पृथ्वीको केही निश्चित भागहरूबाट अवलोकन गर्न सकिने छ । नेपालको पूर्वी भागबाट मात्र केही क्षणका लागि अवलोकन गर्न सकिने समितिले जनाएको छ ।
नेपालभन्दा बाहिरबाट बलायकार सूर्यग्रहण देखिएता पनि नेपालबाट खण्डग्रास सूर्यग्रहणको रूपमा मात्र देख्न सकिने छ ।
पूर्वी नेपालको झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, मोरङ आदि ठाउँबाट बिहानको सूर्योदय लगत्तै ५ बजेर ३ मिनटदेखि बढीमा ४ मिनेटसम्म करीब ६० प्रतिशत ढाकिएको अवस्थामा सूर्य ग्रहण देख्न सकिने समितिको विज्ञप्तीमा उल्लेख छ ।
सूर्यग्रहणको स्पर्श एशियाको चाइनाबाट नेपाली समय अनुसार बिहान २ बजेर४१ मिनटबाट शुरू भएर जापान तथा प्रशान्त महासागरको माथि हुँदै यसको मोक्ष बिहान ८ बजेर ४४ बजे मध्ये अमेरिकामा हुनेछ ।

प्रतिक्रिया