‘सायदले उत्साह बढाएको छ’

केही दिनअगाडिदेखि प्रदर्शनमा आइरहेको चलचित्र सायद युवापुस्ताले रुचाइरहेका छन् । यसैमार्फत नायक तथा निर्माताका रूपमा देखापरेका छन् सुनील रावल । यतिखेर उनको चर्चा निर्माताका रूपमा भन्दा पनि चलचित्रमा गरेको अभिनयका कारण बढी भइरहेको छ । आइएमईको जागिर छाडेर ‘ट्रायकर’ को बिजनेसमा होमिन लागेका रावल अहिले त्यो बिजनेसलाई केही दिन पर सारेर चलचित्रमा लगानी गरेको सुनाउाछन् । यसैबारे सौर्यका कुबेर गिरीले उनीसाग गरेको कुराकानी :
तपाईंको चलचित्रको नाम ‘सायद’ कसरी रह्यो ?
सायद यस्तो शब्द हो, जसले हरेक कुरामा जोडिएर सम्भावना दर्साइरहेको हुन्छ ।  जस्तै– यसो नगरेको भए त्यो हुँदैनथ्यो होला सायद । सायद यो भएको भए यसो हुन्थ्यो । यही शब्दलाई हामीले चलचित्रको नाम बनायौँ । अरू त्यस्तो विशेष कारण केही छैन ।
चलचित्र बनाउने सोच कसरी आयो ?
हलिउड र बलिउडको चलचित्रमा लोभिने नेपाली युवालाई नेपाली चलचित्रतर्फ आकर्षित गर्ने खालको प्रस्तुति दिने हो भने स्वदेशको पैसा विदेशमा जाँदैन । अलिकति मिहिनेत गर्ने हो भने नेपाली दर्शकलाई स्वदेशी चलचित्रतिर आकर्षित गर्न सकिन्छ भन्ने मलाई लागेको थियो । त्यही सोचलाई पूर्णता दिन यो चलचित्र बनाएको हुँ ।
व्यवसायमा आएको गिरावटका कारण अभ्यस्तहरूले नै चलचित्र बनाउन छाडिसकेको अवस्थामा तपाईंले नयाँ भएर पनि ‘रिस्क’ मोल्नुभयो नि ?
मेरो पहिलेदेखिकै सोच हो, नेपाली चलचित्रलाई विश्वबजारसम्म पुर्‍याउने । पहिल्यैदेखि चलचित्र बनाउँछु भन्ने थियो, त्यही सोच पूरा गर्न यो चलचित्र बनाएँ । यो चलचित्र इजरायल, कोरियालगायत गरी दस राष्ट्रमा प्रदर्शन गरिसकेको छु । अन्त पनि लैजाने तयारी हुँदै छ ।
तपाईंको चलचित्रले कुन वर्गका दर्शकलाई प्रतिनिधित्व गर्छ ?
समाजमै भएका र हुने गरेका घटनालाई विषयवस्तुका रूपमा लिएको छु । यो चलचित्र युवामा केन्द्रित भए पनि सबै खालका दर्शकलाई तान्न सक्ने गरी निर्माण गरेका छौँ ।
युवा पुस्ताले नेपाली चलचित्र हेर्दैनन् भनिन्छ नि ?
अहिलेका युवा पुस्ताको चाहनाअनुसार नेपाली चलचित्र त्यति बनेका छैनन् ।  त्यो नभएपछि उनीहरूले हेर्ने कुरा पनि भएन । उनीहरूको त्यही चाहना समातेर तयार पारिएको हो सायद । त्यसैले बन्दका बाबजुद पनि युवापुस्ता हलसम्म पुगिरहेछन् । सायद हेर्न हलमा पुगेका उनीहरूलाई देख्दा नेपाली युवाले नेपाली चलचित्र हेर्दैनन् भन्न मिल्दैन ।
तपाईं आफू युवा भएकाले युवाकेन्द्रित चलचित्र बनाउनुभएको हो ?
त्यसो भनिहाल्न मिल्दैन । किनकि यो युवाका लागि मात्रै नभएर सबैखाले दर्शकका लागि हो । मैले दुई पुस्ताबीचको जेनेरेसन ग्यापको विषयलाई चलचित्रको कथा बनाएको छु । बच्चाहरूलाई आवश्यकताभन्दा बढी छुट दिने र उनीहरूका क्रियाकलापलाई बेवास्ता गर्दै जाने हो भने अभिभावकले कस्तो नियति भोग्नुपर्छ र त्यसले नयाँ पुस्तालाई कुन दिशातिर लैजान्छ भन्ने कुरा चलचित्रमा छ ।
सबै कलाकार नयाँ लिनुभएको रहेछ, पुरानालाई लिनुभएको भए योभन्दा बढी चर्चा पाउँथ्यो कि ?
मलाई त्यस्तो लागेको छैन किनभने कथाअनुसार आर्टिस्ट सेलेक्सन गरिएको हो । पुरानाले गर्नेभन्दा नयाँ कलाकारले राम्रो गरेका छन् । त्यसैले म कलाकारबाट एकदम खुसी छु ।
निर्देशक पनि नयाँ नै लिनुभएछ नि ?
मेरा निर्देशक पनि युवावस्थामा ड्रगमा फसेका व्यक्ति हुन्, स्क्रिप्ट पनि उनैले लेखेका हुन् । त्यो स्क्रिप्टमा उनीजति गहिराइमा डुबेर निर्देशन गराउन अरूले पक्कै सक्दैन । त्यसैले निर्देशक सुरज सुब्बा युवा पुस्ताको भोगाइलाई चलचित्रले मागेअनुसार प्रस्तुत गर्न सफल छन् ।
प्रदर्शनमा आउनुअघि सफल हुन्छु भन्ने विश्वास कत्तिको थियो ?
मैले जति सोचेको थिएँ, अहिले त्योभन्दा बढी पाएँ । बन्द–हड्तालको समयमा पनि चलचित्रले राम्रो गर्‍यो । यसले ममा ऊर्जा थपेको छ, अझ राम्रो चलचित्र गर्ने उत्साह मिलेको छ ।
चलचित्र चल्नुको आधार के जस्तो लाग्छ, सन्देश कि मनोरञ्जन ?
सन्देशमूलक हुँदाहुँदै पनि चलचित्र पूर्ण मनोरञ्जनात्मक बनेको छ । पहिलेको जेनेरेसनका तुलनामा
अहिलेको जेनेरेसनले पाएको सुविधा र दिमाग सही ठाउँमा उपयोग नहुँदा वा गर्न नपाउँदा कस्तो परिणति
आइपर्छ भन्ने कुरा सन्देशमूलक अनि मनोरञ्जकतासाथ प्रस्तुत गरिएको  छ ।
यो चलचित्रबाट तपाईंले के सिक्नुभयो ?
हामीसँग सीमित स्रोतसाधन छन् । यही स्रोतसाधनलाई पनि सही तरिकाले राम्रो विषयवस्तुका चलचित्रमा लगाउने हो भने नेपाली चलचित्र उद्योगलाई नै माथि उठाउन सकिने रहेछ जस्तो लागेको छ ।

प्रतिक्रिया