नाम होइन, काम महत्वपूर्ण

यतिबेला मुलुकमा राज्य पुन:संरचनाको बहस व्यापक रूपमा उठेको छ । देशलाई संघीय राज्य बनाउने बारेमा विभिन्न बहसहरू चलिरहेका छन् । मुलुकलाई कसैले जातका आधारमा राज्य बनाउनुपर्ने माग गरेका छन् भने कसैले भूगोलका आधारमा राज्य बनाउनुपर्ने माग चर्को रूपमा उठेको छ । कसैले पहिचान कसैले सामथ्र्यको आधारमा राज्य बनाउनुपर्ने मागहरू सडकमा देखिएका छन् । यिनै विभिन्न मागका कारण देश पूरै आन्दोलनमय भएको छ । सबैले उठाएका माग आ–आफ्नो ठाउँमा सबै ठीकै होलान् तर समय परिस्थिति र मुलुकको वस्तुस्थितिअनुसार ठीक छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण हो भन्ने लाग्दछ । आफूलाई समाजको अगुवा, बुद्धिजीवी र विशेषज्ञ भन्नेहरूले पनि यतिबेला गरेका कुरा सुन्दा मलाई अचम्म लागेको छ । वस्तुस्थितिको मूल्यांकन गर्न सक्नेले पनि आफ्नो तर्क नै सही हो भनेर ठोकुवा गरेको पाइएको छ । समाजको आवश्यकताभन्दा पनि आफ्नो स्वार्थ देखिने गरेर मुढेबलको आधारमा आफ्ना कुराहरू स्थापित गराउने गरेको देखियो । वास्तममा यो गलत हो यसले कसैलाई पनि स्थापित गर्दैन, देशलाई नै घाटा हुने हो । देशको आवश्यकता एकातिर काम अर्कैतिर भयो भने देश कसरी अघि बढ्न सक्छ ? व्यक्तिका स्वार्थभन्दा पनि राष्ट्रको स्वार्थलाई महत्त्व दिने हो भने हामी सबैको जित हुनेछ । अन्यथा राष्ट्र हारेर व्यक्तिले जित्नुको केही अर्थ हुने छैन ।
प्रदेश बनाउने र त्यसको नाम के राख्ने भन्नेबारेमा देशभरि आन्दोल चलिरहेको छ । कसैले जातका आधारमा नाम राख्नुपर्ने माग गरेका छन् भने कसैले भूगोलका आधारमा नाम राख्नुपर्ने माग राखेका छन् । मलाई के लाग्छ भने हामी नामको पछि लाग्नुभन्दा पनि कामको पछि लाग्नु नै उपयुक्त हुनेछ । नामले हुने केही होइन, गर्नुपर्ने काम नै हो त्यसकारण अहिले राज्यको नाम के राख्ने भनेर समय बर्बाद गर्नुभन्दा पनि कसरी राज्य राम्रो बनाउने कसरी जनताको आर्थिक अवस्था मजबुत बनाउने भन्ने कुरामा समय खर्च गर्नु नै बुद्धिमानी हुनेछ । आखिर जुन जातको नाम वा समुदायको नाम राखे पनि काम भएन भने केही हुनेवाला छैन । त्यस कारण नामको विषयमा ठूलो विवाद नगरेर कामको बारेमा चिन्ता जाहेर गरौँ यसमा नै सबैको जित हुनेछ । नामका विषयमा विवाद गरेर लडाइँ झगडा गरेर काटमार गरेर सामाजिक सद्भाव बिगारेर कुनै राजनीतिक पार्टीको जित हुने अवस्था पनि होइन र कुनै जाति र समुदायको भलो हुने पनि होइन । जुनसुकै जातजाति वा समुदाय भए पनि हामीले काम नगरेसम्म खान पाउने होइन कि त जसको नाममा प्रदेश हुन्छ उनीहरूले काम नगरेर पनि खान पुग्ने भए नामका लागि लडाइँ गर्नु ठीक हो तर काम नगरेसम्म कसैले खान पाउने अवस्थै छैन । बरु पछाडि परेका जाति समुदायलाई सबै मिलेर कसरी अघि बढाउने भन्ने कुरामा चिन्ता गर्नुपर्छ । हाम्रो समाजमा रहेका केही व्यक्तिले खान बस्नको समस्या हुने कोही भने भोक विलास र सुखसुविधाको चरम आनन्द लिने जुन अहिलेको अवस्था छ त्यसको अन्त्य गरेर सबै सुखी हुने काम कसरी गर्न सकिन्छ त्यसैमा ध्यान दिनुपर्छ ।
राजनीतिक नेतृत्वले जति क्रान्तिकारी कुरा गरे पनि जनताले मिहिनेत नगरेसम्म परिवार पाल्न सक्दैन नेताका मीठा भाषणले हाम्रो पेट भरिने होइन । त्यसकारण मत भन्छु नामका पछि दौडेर सामाजिक सद्भाव बिगार्ने काम कसैले नगरौँ । हामी बगैँचामा फुलेका फूलहरू हौँ, जसरी बगैँचामा विभिन्न प्रकारका फूल फुल्छन् हामी समाजमा बसेका सबै जातजाति वर्ग समुदाय पनि विभिन्न प्रकारका फूल नै हौँ, जसरी विभिन्न फूलले बगैँचा सुन्दर देखिन्छ त्यसै गरेर हाम्रो समाजमा रहेका विभिन्न जातजाति समुदायले समाज सुन्दर देखिएको छ । बगैँचामा कुनै एउटा फूलले म मात्र बस्छु र म मात्र फुल्छु भन्न सक्दैन त्यसै गरेर हामी समाजमा बसिसकेपछि मेरो मात्र अस्तित्व हुनुपर्छ अरूको हुन सक्दैन भन्ने तर्क कुतर्क हुनेछ । हामी सबै मिलेर बस्नुको विकल्प छैन । पछिल्लो समयमा देशभरि आन्दोलन चर्किएको छ सुदूरपश्चिममा पनि आन्दोलन चर्किएको छ । थारू र पहाडी भन्ने शब्दको बढी प्रयोग भएको पाइएको छ । यसले थारू पहाडीबीचमा मनमुटाव बढाउन सक्छ त्यसकारण यो शब्दको प्रयोग पनि कम गर्नुपर्छ । कसैलाई अखण्ड सुदूरपश्चिम मन पर्ला कसैलाई थरुहट मन पर्ला र राज्यसँग माग्न पउने दुवैको अधिकार हो ।
माग गरेको कुरालाई निहुँ बनाएर दुवै निषेधको राजनीति गरेर अघि बढ्नु हुँदैन । कतिपय पहाडी थरुहटको पक्षमा छन् भने कतिपय थारूहरू अखण्ड सुदूरपश्चिमको पक्षमा देखिएका छन् । यसलाई नै आधार बनाएर निर्णय कसैले पनि गर्नु हुँदैन । राज्यसँग माग्ने सबैको अधिकार हो तर माग गरेको भन्दैमा काटमार कसैले पनि गर्नु हुँदैन । यसमा दुवै पक्षका अगुवाहरू गम्भीर हुन जरुरी छ । यही बहाना बनाएर सामाजिक सद्भावमा खलल पुग्ने काम कसैबाट हुन हुँदैन । आखिर जुन राज्य भए पनि सबै मिलेर बस्नुबाहेक अर्को विकल्प नै छैन । मर्दाको मलामी र जिउँदाको जन्ती भएर बस्नुपर्ने हाम्रो अवस्था हो । थारू पहाडीबीचमा अनावश्यक द्वेष फैलाएर द्वन्द्व बढाउने काममा नलागौँ । सामाजिक सद्भाव कायम राखी समाजको विकास क्रमलाई तीव्र रूपमा अघि बढाउने काममा हातमा हात मिलाएर अघि बढौँ । चाहे थारूवान होस्, चाहे अखण्ड सुदूरपश्चिम होस् विकास गर्न सकेमा त्यस क्षेत्रको आर्थिक अवस्था मजबुत हुनेछ र हामी सबैको आर्थिक अवस्था पनि बलियो हुनेछ । आर्थिक अवस्था कमजोर भएकाले हाम्रो समाजले शिक्षामा खर्च गर्न सकेको छैन । शिक्षामा खर्च गर्न नसक्दा दक्ष जनशक्ति उत्पादन गर्न सकेका छैनौँ । दक्ष जनशक्ति उत्पादन भएमा हाम्रो क्षेत्रको विकासमा महत्त्वपूर्ण फड्को मार्नेछ । त्यसैले पहिला हाम्रो समाजलाई कसरी बलियो बनाउने कसरी विकास गर्ने भन्ने सोच राखेर अघि बढ्न जरुरी छ । जातका आधारमा हामी पछाडि पर्‍यौँ भन्नुभन्दा पनि साँच्चै पछाडि परेका व्यक्ति वा समुदायलाई अघि ल्याऊँ ।
हाम्रो समाजमा दलित जनजाति तथा अन्य केही समुदाय पछाडि परेका छन् भनिन्छ तर वास्तविकता त्यस्तो छैन । जो सबैभन्दा अगाडि परेका भनिएका बाहुन–क्षेत्री समुदायका मानिसको अवस्था पनि दयनीय नै छ । कतिपय दलित जनजातिका व्यक्तिको ‘लिभिंग स्ट्यान्डर’ नै कस्तो छ भन्ने कुरा पनि हामीले देखेकै कुरा हो । त्यसैले फलानो जात पछि परेको र फलानो जात अघि बढेको भन्ने अवस्था नै छैन । जुन समुदायका मानिस पछि परेका छन् तीनलाई अघि ल्याउन के गर्न सकिन्छ त्यो काम गरौँ । त्यसले समुन्नत समाज निर्माणमा सहयोग पुग्नेछ । समुन्नत समाज निर्माण भएमा विकासले फड्को मार्नेछ । यो कुरालाई मनन गर्दै अघि बढाँै । अन्त्यमा भन्न चाहन्छु कि हमी सबै नामको पछि होइन, कामको पछि लागौँ त्यसैमा हामी सबैको जित छ ।

प्रतिक्रिया