‘राज्य पुनर्संरचनामा ठट्यौलो बहस नगरौं’

 

काठमाडौं, २ जेठ । एमाले नेता केपी ओलीले राज्य पुनर्संरचनाको विषयमा ठट्यौलो बहस नगर्न चेतावनी दिएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा ओलीले राज्य पुनर्संरचना अन्यायमा परेको वर्गको हित हुनेगरी गरिए मात्रै सार्थक हुने वताए ।
गरिवीले पिल्सिएका जनताका हित हुनेगरी भन्दा टाठाबाठालाई राजनीति गर्न सजिलो हुनेगरेर राज्य पुनर्संरचनाको विषय अघि बढेको ओलीको आरोप थियो ।
‘एउटा संसद् भवन बनाउन नसकेर भाडामा लिएर चलाउनु परेको छ, राष्ट्रपति भवन नभएर परराष्ट्र मन्त्रालय खाली गर्नु परेको छ, धन्न प्रधानमन्त्रीका लागि वालुवाटार छ’ ओलीले भने, ‘मन्त्रीको संख्या बढेपछि घरभेटी बा मन्त्रीको लागि डेरा दिनुस् न भनेर हिंड्नु परेको छ भाडाका घरमा झ्यालमा झण्डा गाडेर मन्त्री बस्नु परेको छ ।’
उनले संघीयतामा गएर धेरै राज्य बनाएपछि सांसद् मन्त्री, गभर्नरहरुका लागि आवास बनाएरै मुलुकको आर्थिक स्रोत सकिने वताए ।
‘अव गभर्नरहरुका लागि निवास, कार्यालय बनाउनु पर्‍यो, सांसद् र मन्त्रीहका लागि कार्यालय र निवास बनाउनु पर्‍यो एउटा होइन ११ वटा राज्यका लागि’ ओलीले प्रश्न गरे, ‘गरिवहरु मर्नै लागेका वेला उपचार गर्ने अस्पताल र उनीहरुका छोराछोरीले पढ्ने स्कूल अनी खेतमा सिंचाइ गर्न कुलो नबनाउने ? माथि बस्ने बाठाहरुलाई राजनीति गर्ने र बस्ने ठाउँ मात्रै बनाएर नयाँ नेपाल कसरी बनाउँन सकौंला ?’
ओलीले जनताले विभेद र असमानताको अन्त्य गर्न नयाँ नेपाल बनाउनु पर्ने वेला नयाँ नेपाल मन्त्री, सांसद् र मन्त्रालयको नेपाल हुने अनुमान प्रस्तुत गरे ।
उनले लामो समय सबै प्रदेशहरु मन्त्रालय बनाउने काममै ब्यस्त हुने पनि वताए ।
‘अव नयाँ नेपाल मन्त्रालयको नेपाल हुनेछ सबै प्रदेशहरु मन्त्री क्वार्टर बनाउन ब्यस्त हुनेछन्’ ओलीले भने । जातीय र क्षेत्रीय विशेषाधिकारको कुरा विदेशमा छात्रबृत्ति पाएर बसेका अगुवाहरुले मात्र उठाएको उनले दाबी गरे ।
‘सबैभन्दा धेरै विदेश बसेका छात्रबृत्ति पाएका विचराहरु उत्पीडनमा परे उनीहरुलाई नै राज्य चाहिएको छ’ ओलीले भने, गाउँमा सिमलीका डाँठले कखरा सिकेकाहरुलाई उपयोग गरेर उनैले मन्त्री निवासको नयाँ नेपाल बनाउन खोज्दैछन् ।’
ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यका समर्थक र विरोधीहरु दुवैलाई उचालेर वितण्डा मच्चाउन खोजेको आरोप लगाए । ‘अखण्ड सुदुरपश्चिम थामिदिने महावली पनि उनै, जनजाती र थारुहरुलाई सडकमा ओर्लन आव्हान गर्ने पनि उनै केही समयका लागि सबै दङ्ग’ ओलीले भने, ‘जहाँ जहाँ छिद्र देख्यो त्यही फेसो ठोकेर झगडा गराउने काम झलनाथवाट हुन सक्दैन ।’ ओलीले मदन भण्डारीको अगुवाइमा एमालेले अगाडी सारेको जनताको बहुदलीय जनवादको वाटोमा उग्रवामपन्थ र दक्षिणपन्थ पराजित भएर आउन वाध्य भएको पनि वताए ।

प्रतिक्रिया